बिदा स्वीकृत नगराई लामो समय विद्यालय नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिदा स्वीकृत नगराई लामो समय विद्यालयमा नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुन अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।
निर्देशन दिँदै बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजिनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षकलाई कारबाही गर्न भनिएको छ ।
शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नुपर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरीत कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानुनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
अख्तियार प्राप्त अधिकारीले समेत नियमविपरीत कार्य गर्ने शिक्षकलाई प्रचलित कानुन बमोजिम कारबाही नगर्नेलाई समेत कारबाही गरिने चेतावनी दिएको छ ।
त्यस्ता शिक्षकहरूलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि टुङ्गोमा नपुर्याई छाड्ने गरेका कारण विद्यालय र नेपाल सरकारलाई हुने हानी नोक्सानीका लागि सम्बन्धित अधिकारी जिम्मेवार हुने केन्द्रको भनाई छ ।
पछिल्लो समय शिक्षकहरू बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने प्रवृत्ति बढेको देखिन्छ । त्यस्ता शिक्षकहरू सम्पर्कमा नआउने र लामो अवधिपछि राजीनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने गरेको पाइएको हो । त्यस्तो अवस्थामा के गर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाईबाट केन्द्रसँग सुझाव माग्ने गरेका छन् । त्यस्ता शिक्षकहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने