बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

बागलुङमा मानव सेवा आश्रमको भवन निर्माण तीव्र, यसरी सुरु भएको थियो परोपकारी काम

सोमबार, ०४ भदौ २०८०, १६ : ४३
सोमबार, ०४ भदौ २०८०

बागलुङ । मानव सेवा आश्रम बागलुङको अत्याधुनिक भवन निर्माणको काम धमाधम चलिरहेको छ । सुरुवातमा अभियन्ता सोम सापकोटालगायतको पहलमा स्थापना भएको आश्रमले अहिले आफ्नै अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । 

आश्रमका सेवक शिव खड्काले आश्रम निर्माण र स्थापनामा लागि सापकोटासहित धेरै सहयोग मनहरूले समन्वयकारी भूमिका खेलेको बताए । विश्वका विभिन्न देशमा बसोबास गर्ने बागलुङबासीका साथै विभिन्न सहयोगी मनहरूसँग संयोजन गरेर सापकोटालगायतले आश्रमका लागि सहयोगी भूमिका खेलेको खड्काको भनाइ छ । 

हालसम्म बागलुङ मानव सेवा आश्रमबाट करिब ६०० को हाराहारीमा अपाङ्ग, अशक्त र सहयोगापेक्षी मानवहरूको उद्धार गरिसकिएको भन्दै खड्काले तीमध्ये कतिपयलाई आश्रममा ल्याएर ठिक बनाएर समाजमा फर्काउनेदेखि परिवारमा पुनर्मिलनको काम भएको बताए । हाल पनि आश्रममा ५५ जना  त्यस्ता मानवहरू रहेको उनको भनाइ छ । 

‘कतिपय बुढो भएका कारण यही बित्नुपनि भयो । कतिपयलाई ठिक गरेर पुनर्मिलन पनि गरियो’, उनले भने, ‘ठाउँ सानो भए पनि हामीले सकेसम्म व्यवस्था मिलाएर आश्रय दिने काम गरिरहेका छौँ ।’

खड्काका अनुसार अहिले आश्रम बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित लालीगुराँस चोकमा रहेको छ । यस्तै बन्दै गरेको अत्याधुनिक भवन भने सोही नगरपालिकाको वडा नम्बर ७ कालीगण्डकी नजिक रहेको छ । भवन निर्माण भएपछि बागलुङसहित पर्वत म्याग्दीलगायतका जिल्लाका सहयोगापेक्षीको सहजरुपमा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । भवन निर्माणका लागि नगरपालिकाले पाँच रोपनी जग्गा उपलब्ध गराएको छ भने स्थानीय र प्रदेश सरकारका साथसाथै देश विदेशका सहयोगी मनहरूले आर्थिक सहयोग गरेका छन् । 

367804526_325959343188844_3925214768721286845_n

उनका अनुसार २०७८ देखि सुरु भएको भवन निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । आर्थिक स्रोत जुटाउँदै भवन निर्माण गर्नुपर्ने भएकाले धेरै समय लाग्न पुगेको भन्दै उनले २०८३ सम्ममा सबै काम सक्ने अपेक्षा राखिएको बताए । उनका अनुसार भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

कसरी सम्भव भयो आश्रम स्थापना

गैरआवासीय नेपाली संघका प्रवक्ता समेत रहेका सापकोटाले सहयोगापेक्षी मानव जसले मागेर पनि खान सक्दैनन् र शारिरीक तथा मानसिक रूपमा पनि असक्त छन् उनीहरुमा सहयोग गरेर मानवता दर्साउने पवित्र उद्देश्यका साथ आफूहरू सुरुवातमा यसमा पहलकदमी लिएको बताए । ‘मानव सेवा आश्रमको आठौँ शाखाको रूपमा बागलुङ शाखाको स्थापना गर्नका लागि नेतृत्व गर्ने अवसर पाएको थिएँ’, उनले भने, ‘यो जिल्लाका लागि अत्यन्तै महत्त्वपूर्ण काम थियो । यसमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी प्रशासन, सामाजिक संस्थालगायतले महत्त्वपूर्ण सहयोग गर्नुभयो । त्यसैको परिणामस्वरूप आश्रम स्थापना गरियो ।’

336958919_171284879127806_2464351806702245873_n

आश्रमको केन्द्रीय कार्यालयले पनि आफूहरूलाई विश्वास गरेर त्यहाँ शाखा स्थापना गर्न सहयोग गरेको उनको भनाइ छ । सुरुवातमै आफूले बागलुङसहित देशभर र विदेशमा बसोबास गर्ने सहयोगी मनहरूसँग समन्वय गरेर आर्थिक सहयोग जुटाउन पहल गरेको उनको भनाइ छ । 

मनिष रायमाझी, सञ्जय श्रेष्ठ, शिव खड्का, हरि रुसाल, राजेश पौडेलसमेतलाई साथमा लिएर सन् २०२१ बाट यो पवित्र कार्य सुरु गरिएको भन्दै अहिले आश्रममा ५५ जना सहयोगापेक्षीहरु रहेको उनको भनाइ छ । उनले यो संस्थामार्फत बागलुङ, पर्वत र म्याग्दीसम्मका सडकमा रहेका मानवहरूलाई सहयोग सकिएको उनले बताए । उनले आफ्नो गृह जिल्ला समेत रहेको यो आश्रमलाई निरन्तर सहयोग गरिरहने पनि बताए । 

मानव सेवा आश्रम सुरुमा हेटौँडामा रहेको र त्यहाँबाट चितवनमा पनि विस्तार भएसँगै आश्रमको कार्यबाट प्रभावित भएर बागलुङ लैजान पहल भएको उनको भनाइ छ । सोही अनुसार त्यतिबेला एकजनाले एउटा शैय्या दान गर्ने भन्ने अभियान चलाएर आर्थिक संकलन गरिएको उनको भनाइ थियो । शैय्या दानका रुपमा सापकोटासहित रेशम थापा, रमेश भट्ट, याम बुढाथोकी, नरेन्द्र आचार्य, मिलन श्रेष्ठ, भीमलाल कँडेल, गिरी कँडेल, प्रेम आचार्य, शालिक राम शर्मा, श्याम सुवेदी, गोविन्द राम कँडेल, भीम काउचा पुन, बागलुङ समाज युके, युथ भिजन इन्भेस्टमेन्ट कम्पनीलगायतले सहयोग गरेका थिए । 

मानव सेवा आश्रमले देशका विभिन्न स्थानमा आश्रम स्थापना गरेर असक्त र सहाराविहीनहरूलाई सेवा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप