आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

यस्तो छ विश्वासको मत लिने प्रक्रिया, मन्सुरीले पनि मतदान गर्नसक्ने

सोमबार, ०४ भदौ २०८०, १५ : ०१
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले अन्ततः आजै विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन दलको बैठकले थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो । गठबन्धन दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको जानकारी दिए । 

संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था रहेको छ । उक्त धाराको उपधारा (१) मा मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपर्युक्त ठानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ । 

यस्तै उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा भने उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ । 

यता, प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर  ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौं लागेकी छिन् । उनले प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक संचालन गर्ने जिम्मा दिएकी छिन् । 

368291072_302899192317110_8722068292542838296_n

उपसभामुख दनुवार काठमाडौं लागेसँगै प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । दिउँसो संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने समय टरेको बताएका थिए । तर, पुनः गठबन्धनको बैठकले विश्वासको मत लिने जनाएको हो । 
 ९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन संविधानअनुसार ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काँग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा संचालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ । 

उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । काँग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो । २०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । 

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।

पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम रहन्छ । तर, उनले आजै विश्वासको मत लिन लागेका हुन् । बहुमत जुटाउनका लागि सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरीले पनि मतदान गर्नसक्ने चर्चा छ । यद्यपि काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेको तर, सभाध्यक्षले के गर्नुहुन्छ भन्ने जानकारी नभएको दाबी गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप