थारू समुदायको ‘गुरही’ पर्वमा प्रकृतिप्रेम
थारू समुदायमा विभिन्न चाडपर्व छन् । अहिले माघ (माघी) लाई नयाँ वर्षको रुपमा मान्न थालिएको छ । नभए पहिले पुर्खाहरुले गुरहीलाई वर्षको पहिलो चाड मान्थे । यसबारे एउटा भनाई छ, ‘जट् बर्कि जट् बोक्सिन, जट् छोटकि जट् छिनार ।’
बर्कि अर्थात् ठूली, यस मानेमा सबैभन्दा जेठो चाड गुरही । यसमा भूतप्रेत मन्साउने कार्य हुने भएकाले भूत, बोक्सीको प्रसंग आउँछ । अनि छोटकि अर्थात् कान्छी, सबैभन्दा पुछारको चाड ढुरहेरि अर्थात् होली । होलीमा रंग, अविर दल्दै हा हू गर्ने परम्परा भएकाले यसलाई उरन्ठेउलो, लाज नभएको चाडको रुपमा लिइन्छ ।
यसरी आआफ्नै किसिमको तर्क यस पर्वबारे भेटिन्छ । यहाँ थारू समुदायको प्रमुख चाडमध्ये एक ‘गुरही’को चर्चा गरिन्छ ।
गुरहीको मौलिकता
थारू समुदायको गुरही पर्वको दिन नै आम नेपालीको नागपञ्चमी पर्व पर्छ । त्यसैले ‘गुरही’ र ‘नागपञ्चमी’ एउटै हो कि भन्ने आम बुझाई छ । थारू समुदायकै कतिपयले गुरही अर्थात् नागपञ्चमी भनेर सामाजिक सञ्जालमा शुभकामनासमेत दिएको देखिन्छ । गुरही र नागपञ्चमी एक अर्काको पर्याय पर्व होइन ।
नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । यो अलग कुरा हो कि अरुको देखासिकीमा थारू समुदायमा पनि नागको तस्विर टाँसेर नागपञ्चमी पनि स्वीकारिन्छ । तर गुरहीमा सर्पको पूजा हुन्न, गाइने किराको पूजा हुन्छ । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै मौलिकता छ भने सर्प भगाउने मन्त्र पढिने नागपञ्चमीको आफ्नै । त्यसैले, गुरही र नागपञ्चमी एउटै हो भन्ने बुझाइ हटाउन, यी दुबै बीचको फरक मनन गर्न थारू समुदायले ढिलाइ गर्नुहुन्न ।
बरु अवधी समुदायको गुडिया पर्वसँग थारू समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारू समुदायले झैं कपडाको गुरही बनाएर पूजा गर्छन् ।
साहित्यकार छविलाल कोपिला ‘गुरही’लाई थारू समुदायको बाल पर्वको रुपमा चिनारी दिन उपर्युक्त ठान्दछन् । हुन पनि हो, थारू बालिकाहरु सोह्र श्रृंगार गरेर थालमा गुरही र चना लिएर गल्लीको गौह्रि (चौराहा) मा गुरही अस्राउन जान्छन् । उता थारू बालकहरु सोंटा लिएर गुरही ठटाउन तम्तयार हुन्छन् ।
तर, मनोवैज्ञानिक रुपमा बुझ्दा यसले बालिकाको थालमा गुरही र चना थमाएर महिलालाई गहना गुडियामै, भातभान्सामै सीमित रहन तथा बालकको हातमा सोंटा थमाएर तिनलाई बलशाली हुनुपर्ने देखाउँछ ।
गुरही किराबाट ‘गुरही’ पर्व नामकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ ।
लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको जनविश्वास थारू समुदायमा छ ।
यस्तो छ मिथक
छविलाल कोपिलाको संकलनमा गुरही पर्वबारे एक मिथक रहेको छ । जसअनुसार धेरै वर्ष पहिले नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र अनेक रोग फैलियो, जसका कारण मान्छेहरुको अकालमै ज्यान जान थाल्यो । यसबारे स्वर्गलोकका देउताहरु पनि आश्चार्यचकित भए ।
देउताहरुले यसबारे यथार्थ बुझ्न एक बालिकालाई दूतको रूपमा पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने उनलाई देखी सहन्नथिन्, निकै दुःख दिन्थिन् । त्यसो त अपवादबाहेक नन्द भाउजूको सम्बन्ध अहिले पनि राम्रो मानिन्न ।
ती बालिका ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् । अरुलाई निकै माया गर्थिन् । उनी कपडाको गुडिया अर्थात् ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनलाई देखि नसहने उनको भाउजूले सधैँजसो गुरही लुकाइदिने, कहिले त फाल्दिने समेत गर्थिन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दिनथिन् ।
भाउजूको डरले ती बालिकाले कहिले डेहरी (भकारी) मुनि गुरही लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा लुकाउँदै पनि भाउजूले पत्तो लगाएर फालिदिन थालेपछि आजित भएर एकदिन आफ्नो खेलौनारुपी गुरही जस्तै किरा भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरिन् । नभन्दै उनले सोचेको जस्तो किरा उत्पन्न भए ।
गुरहीजस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थालेपछि उनी निकै खुशी भइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरही किराहरुले लामखुट्टेलगायत सुक्ष्म किराहरुलाई आहार गर्ने र मार्ने गर्न थाले । यसरी मानिस तथा बालीनालीको लागि हानीकारक किरा मारिन थालेपछि प्रकोप पनि कम भयो र रोगव्याधी पनि कम भयो । निरोगी हुन पाउँदा, बालीनाली सप्रिदा जनता खुशी भए ।
यसरी अकाल मृत्यु रोकियो । र, ती बालिका पुनः स्वर्गलोक जानुपर्ने भयो । उनी जाने भएपछि उनका सहेलीहरु निकै दुःखी भए । जान नदिने जिद्दी गरे । तर, उनको यात्रा रोकिएन । अन्तमा, विदाइको बेला गाउँका सबै बालबालिकाले उपहारस्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे चनालगायतका गेडागेडी खानेकुरा दिएर बाजागाजासहित विदाई गरे ।
माइतीको सम्झना
घर छाडेर जाने महिलाहरुलाई माइतीको जे कुरा पनि प्यारो हुन्छ । उनीहरु घर छोडेर जाँदा बाल्यकालमा खेलेका गुडिया (गुरही) सम्झिन्छन् । आफूले डेहरीमुनि गुरही राखेको छु, त्यो राम्रोसंग स्याहारिदिन भनेर आमासंग आग्रह गर्छन्, जुन तलको गीतमा गुन्जिन्छ :
‘दाङ बोले टिम्की, महदेवा बोले ढोल
डेहरिक गोरटिर मोर गुरही ।
बालिकाहरु रुखमुनि खेल्नु सामान्य हो । इमलीको रुखमुनि बसेर गुरहीसँग खेलेको सम्झिन्छन् ।
दाङ बोले टिम्की, महदेवा बोले ढोल
अमलिक रुखवा टिर मोर गुरही ।
भनिन्छ, यो बालगीत, त्यही बालिकाले संझना गरेर गाएको हो, जसलाई स्वर्गलोकका देउताहरुले पृथ्वीलोकमा दूत बनाई मृत्युको कारण बुझ्न पठाएका थिए । तिनले नै गुरही किरा उत्पन्न गरिन् र गुरही मनाउने परम्परा बस्यो ।
‘दाङ बोले टिम्की, महदेवा बोले ढोल’ यस गीतको विश्लेषण पनि गर्न सकिन्छ । देउखुरी उपत्यकाको महदेवा नै यस्तो गाउँ हो, जहाँ थारू सुमदायको बर्का नाचको सुरुवात भयो । देउताहरुले नै महदेवाका एक थारू अगुवालाई वनमा नाच सिकाएका थिए । कालान्तरमा तिनले गाउँमा आएर नाच सिकाए । कतै गुरही किरा उत्पन्न गर्ने ती पौराणिक बालिका स्वर्गलोकबाट महदेवा गाउँमा आएकी त थिइनन् ? यो अर्को शोधखोजको विषय हो ।
गुरही मनाउने तरिका
गुरही मनाउने तरिका गाउँअनुसार फरक फरक हुन्छ । यहाँ वर्णन गरिएको गुरही मनाउने तरिका खास गरी देउखुरी उपत्यकाको हो ।
‘घुघरी भिजाउ रे, घुघरी । हे गाउँक् मनै, काल्ह गुरहिक लग गुरही भिजाऊ...’ । नागपञ्चमीको अघिल्लो बेलुकी गाउँको चौकीदारले यही भनेर ठूलो स्वरमा हाँक पार्छ । चौकीदारले हाँक पारे पनि, नपारे पनि गाउँलेले बेलुका कोंहरी (चना) भिजाउँछन् । चना खेती गर्नेले कुनै वर्ष राम्रो चना नफले ‘असौं टे गुरहि अस्राइ भरिक फेन चाना नैहुइल’ भनेर तिक्तता पोख्छन् ।
पञ्चमीको दिन बिहान घरको बाहिरी ढोकामाथि नाग टाँस्छन् । दिउँसो गाउँका सबैजसो घरका आमा दिदीहरुले बालिकाहरुका लागि गुरही बनाइदिन्छन् । उनीहरु गुरही बनाएको हेरेरै रमाउँछन् । बालिकाहरु आफै पनि गुरही बनाउने प्रयास गर्छन् ।
उता, बालकहरुका लागि बुवाहरुले रारा (काँस) को सोंटा (कोर्रा) बनाइदिन्छन् । सोंटा पनि रंगीन हुन्छ । सोंटा बनाउन फुर्सद नहुनेहरुले केराको पातको डाँठको सोंटा बनाउँछन् । यस्तो सोंटामा काजल भने लगाइ दिनुपर्छ ।
साँझ प्रत्येक घरमा सुख्खा चना पाक्छ । चना नहुनेले केराउ, बोडीलगायत गेडागुडी बनाउँछन् । यस्तो पकाइएको गेडागुडीलाई कोंहरी, घुघरी पनि भनिन्छ । साथसाथै, माछा, मासुलगायत अन्य परिकार पनि पाक्छ ।
यस अवसरमा बालबालिकाहरु नयाँ लुगा पाउँदा खुशी भएर रमाउँछन् । बालिकाहरु आफै गुरहीझैं सजिएका हुन्छन् । बेलुका दिन डुब्नेबेला गाउँको चौकीदारले पुनः हाँक पार्छ, ‘अरे, गाउँ भरिक मनै गुरही अस्राइ चोलो रे...।’
बालिकाहरु नुइयाँ (सानो ढकिया), टठिया (थाल)मा गुरही र कोंहरी लिएर तथा बालकहरु सोंटा लिएर गुरही अस्राउन (सेलाउन) निस्कन्छन् ।
उता, भान्सेहरु ‘खाँज खुजली लैजा, रोग बिरोख लैजा, मिठ मिठ डैजा’ भन्दै घर भित्रबाट निस्किएर थाल र नाङ्लो ठटाउँदै बाटोसम्म गुरहीसंगै रोगव्याधी धपाउन जान्छन् ।
यता, गाउँको चौराहा, गौह्री (गाउँ भरिका गोरु राखिने स्थान) मा गाउँलेहरु जुट्छन् । गाउँको अगुवाले रटनजोटलगायत कुनै वनस्पतिको निशाना गाड्छ । गुरही विसर्जन गर्ने बालबालिकाहरुलाई अग्रपंक्तिमा उभ्याइन्छ । अगुवाले ‘लेउ, आब गुरही अस्रैना सुरु’ भनेपछि बालिकाहरुले थालमा ल्याएको गुरही, दुबो गाडिएको निशानामाथि फाल्छन् । बालकहरुले विसर्जन गरिएको गुरही सोंटाले ठटाउँदै ‘डे घुघरी सोंटा, खाइ मोर टोंटा’ फलाक्छन् । गुरही विसर्जनपछि प्रायः गाउँमा जहाँ बिसर्जन गरिएको हो, त्यहाँ त्यत्तिकै छाडिन्छ । तर, कुनै गाउँमा नदीमा लगेर पुनः विसर्जन गरिन्छ ।
गुरही विसर्जनपछि बालिकाहरु आमा, दिदीहरुको सहयोगमा माग्ने जति सबैलाई थोरै थोरै कोंहरी बाँड्छन् । कोंहरी लगायतको सामग्री प्रसादस्वरुप अलिकति घर लिएर आउँछन् । अनि, आफ्नो घरको छानामाथि, डेहरी (भकारी) माथि प्रसाद चढाउँछन् । यसो गर्दा भूतप्रेत नआउने, घर सुरक्षित रहने, धनचोरले अन्न नलाने विश्वास गरिन्छ ।
उता, बालकहरुले ठटाउन लगिएको सोंटा त्यो दिन लुकाएर राख्छन् । अर्को दिन बिहानै सोंटा ल्याएर बारीको थाँक्रोमा बाँध्छन् । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने, तरकारी राम्रो फल्ने विश्वास गरिन्छ ।
कुनै कुनै गाउँमा गुरही सेलाएकै राती किशोरहरुको समूहले प्रत्येक घरमा छिरेर घण्टा बजाउँदै अर्को गाउँको सिमानासम्म पुग्छन् । सिमानामा कुनै चिजको डाँठको टुक्राले चुरोट पिएको अभिनय गर्छन् । अनि, हाम्रो गाउँको रोग, खाँज खुजली (लुतो) अरु गाउँ सरेर जा भन्ने कामना गर्छन् । घर फर्किदा घण्टा बजाउन पाइन्न । नभए रोग आफ्नै गाउँ फर्किने भनाइ छ ।
त्यसो गरेको थाहा पाए अरु गाउँका किशोरहरु हाम्रो गाउँमा रोग सार्न आए भनेर लखेट्ने गर्छन् । यसले कहिलेकाहिँ दुर्घटना पनि निम्त्याउँछ । त्यसैले, यो चलन भने हराउँदै गएको छ ।
अन्तमा, थारू सुमदायलाई प्रकृतिपूजक मानिन्छ । यसरी गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थको रुपमा लिन सकिन्छ । कृषि विज्ञहरुका अनुसार गाइने किराले एक दिनमा एक सय भन्दा बढी लामखुट्टे खान सक्छ । यसरी इकोसिस्टम बचाउने किसानको साथी गुरही किराको पूजा गर्नु प्रकृतिपूजाको ठूलो उदाहरणको रुपमा लिन सकिन्छ । अर्को कुरा बालबालिकालाई केन्द्रमा राखेर, सानैदेखि स्वास्थ्यमा सचेत रहन, संस्कृति जोगाउन सन्देश प्रवाह गर्ने गुरही पर्वको अहम् भूमिका छ भन्दा अत्यु्क्ति नहोला । त्यसैले त गुरही मनाउने परम्परा गाउँबाट सहरमा छिर्दैछ । धनगढी सहरमा चोकको नाम गुरही चोक नामकरण भएको छ । सबैलाई गुरही पर्वको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द