बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशी प्रदेशकी उपसभामुख ‘अचानक बिरामी’

इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी
सोमबार, ०४ भदौ २०८०, ०९ : ३६
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेश सभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन् । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी हुन् ।

बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् । कोशी प्रदेश सभा सचिवालयमा बैठकमा प्रस्तुत गरेको पत्रमा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको छु ।’ 

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

‘माननीय मालती कुमारी लिम्बुले मिति २०८० साल भाद्र १ गते नै आगामी केही बैठकमा अनुपस्थित हुने सूचना दिई सक्नु भएको छ भने वर्णानुक्रममा पहिलो क्रममा रहनु भएका माननीय अम्बर बहादुर विष्टले पनि २०८० साल भाद्र १ गते नै सोही ब्यहोराको सूचना दिनु भएकोले मनोनीत गर्दाको देहायको क्रमसङ्ख्या र वर्णानुक्रमको हिसाबले पनि तपाई दोस्रो क्रम सङ्ख्या र दोस्रो वर्णानुक्रममा रहनु भएको देखिएको ले म उपस्थित नहुन्जेल सम्म तपाईंले प्रदेश सभा नियमावली को नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी चालु प्रदेश सभाको अधिवेशनका बैठकमा उपस्थित भई बैठकको अध्यक्षता गर्न हुन कोशी प्रदेशसभा सचिवालय मार्फत यो सूचना दिएको छु,’ उनले पत्रमा भनेकी छन् ।

368315261_831744514916273_3495084769275108386_n

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने सोमबारका लागि समय तय गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।

यहीबीच थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामुखलाई अनुपस्थित गराउने आशङ्का गरिँदै आएको थियो । उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौँ लागेकी हुन् । 

यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका ज्येष्ठ सदस्यहरूलाई बिदामा बस्न लगाएको छ । उनीहरूले ‘घरायसी समस्या’ देखाउँदै संसद् सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेको हो । सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) सङ्ख्या पुर्‍याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ  । 

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप