काेशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, सरकार ढाल्ने रणनीतिमा एमाले
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ । बैठककाे कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएकी छिन् ।
यसैबीच प्रतिपक्षी दल एमाले र राप्रपाले थापालाई विश्वासको मत प्राप्त हुन नदिन उपसभामुख दनुवारलाई अनुपस्थित गराउने सत्तापक्षले आशङ्का गर्दै आएको छ ।
यसअघि नै एमालेले आफ्ना ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई विदामा राखेकाे छ । उपसभामुख अनुपस्थित भएको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकाेले एमाले र राप्रपाले उनीहरूलाई विदामा राखेकाे हाे ।
सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेकाे अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएकाे थियाे भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेकाे थियाे ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।