रातोपाटी ब्रिफिङ : केपी ओलीले गरे सर्वदलीय बैठक बहिष्कार, राष्ट्रपतिले बढाए सक्रियता
आज २०८० भदौ ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा संसद खुलाउन बोलाइएको बैठक ओलीले गरे ‘बहिष्कार’, कोशीमा एमाले र राप्रपाको नयाँ रणनीति, संसद खुलाउन राष्ट्रपतिले बढाए सक्रियता, ललिता निवास ः मुद्दा अदालतमा लैजाने समयसीमा सकिन ५ दिन बाँकी, सुन प्रकरणमा समातिएका चिनियाँसँग नेपाली नागरिकता र भारतीय रासन कार्ड, समाजवादी मोर्चाको बैठक स्थगित, भ्रष्टाचारविरुद्धको कारबाहीमा सरकारलाई साथ छ ः माधवकुमार नेपाल, प्रधानन्यायाधीशमा सिफारिस प्रक्रिया नै गैरकानुनी भन्दै उजुरी लगायत छन् ।
१. संसद खुलाउन बोलाइएको बैठक ओलीले गरे ‘बहिष्कार’
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार संसद बैठक खुलाउन सहमति खोज्ने उद्देश्यले बोलाइएको बैठक नेकपा एमालेका अध्यक्ष ओलीले ‘बहिष्कार’ गरेका छन् । ओली अनुपस्थित भएपछि विभिन्न दल सम्मिलित बैठक सोमबार बस्ने गरी स्थगित भएको छ ।
२. कोशीमा एमाले र राप्रपाको नयाँ रणनीति
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा एमाले र राप्रपाले सरकारलाई विश्वासको मत हासिल हुन नदिन नयाँ रणनीति बनाउन थालेका छन् । प्रदेशसभाको अध्यक्षता सत्ता पक्षकै सांसदलाई गराउन बाध्य पार्ने गरी उपसभामुख तथा विपक्षी दलका ज्येष्ठ सदस्यहरुलाई नाटकीय रुपमा प्रदेशसभामा अनुपस्थित गराउने पहलमा दुई दल जुटेका हुन् ।
३. संसद खुलाउन राष्ट्रपतिले बढाए सक्रियता
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोध अन्त्य गर्न पहल थालेका छन् । उनले मंगलबार बिहानका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले विभिन्न दलका नेतालाई बोलाएर पछिल्लो समय संसदको गतिरोध अन्त्यका बारे चासो राख्ने गरेका छन् ।
४. ललिता निवास : मुद्दा अदालतमा लैजाने समयसीमा सकिन ५ दिन बाँकी
ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालत लैजान अब ५ दिनको समयसीमा मात्र बाँकी छ । आइतबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल पेस गर्ने तयारी गरे पनि सम्भव हुन सकेन । संगठित किर्ते मुद्दामा प्रहरीलाई अनुसन्धानका लागि बढीमा ६० दिनको समय हुन्छ । उक्त समयावधि सकिन अब ५ दिनमात्र बाँकी छ ।
५. सुन प्रकरणमा समातिएका चिनियाँसँग नेपाली नागरिकता र भारतीय रासन कार्ड
६० किलो सुन तस्करी प्रकरणमा समातिएका चिनियाँ नागरिकसँग नेपाली नागरिकता र भारतीय रासन कार्डसमेत फेला परेको छ ।
६. समाजवादी मोर्चाको बैठक स्थगित
आइतबार साँझलाई बोलाइएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । आइतबारका लागि बोलाएको बैठक सोमबार बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको हो ।
७. भ्रष्टाचारविरुद्धको कारबाहीमा सरकारलाई साथ छ : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध सरकारले गरेको कारबाहीमा आफ्नो पार्टीको साथ रहेको बताएका छन् । उनले पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टी सबै प्रकारको भ्रष्टाचारको विपक्षमा रहेको बताएका हुन् ।
८. रेशम चौधरीले गुन बिर्सिएको लोसपाको आरोप
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका कारण आफ्नो पार्टीले धेरै थोक गुमाएको दाबी गरेका छन् । यद्यपि रेशम चौधरीले आफूहरुको गुन बिर्सिएको उनीहरुको आरोप छ ।
९. प्रधानन्यायाधीशमा सिफारिस प्रक्रिया नै गैरकानुनी भन्दै उजुरी
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय र सिफारिस गैरकानुनी रहेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । कानुनी रिक्तताको अवस्थामा प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै उक्त सिफारिस संवैधानिक परिषदमै फिर्ता पठाउन माग गरिएको छ ।
१०. बालेन लक्षित विरोध प्रदर्शन
काठमाडौँ महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन भएको छ । शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले राष्ट्रिय सभा गृह अगाडि ‘गरिबको चमेली’ गीत प्रदर्शन गरेका हुन् । महानगर प्रमुख बालेन शाहले चलाएको अभियानले उनीहरु मर्कामा परेको भन्दै ध्यानाकर्षणका लागि विरोध प्रदर्शन गरिएको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई