बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

बढ्यो फूलको कारोबार

आइतबार, ०३ भदौ २०८०, २० : ५२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७९–८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८–८९ भन्दा रु ७७ करोडले बढी हो ।  

कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८–८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९–८० मा रु तीन अर्ब सात करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । 

 गत आर्थिक वर्षका लागि एशोसिएसनले रु तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो ।  विशेषगरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल पाँच वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएको थियो । 

कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक रु तीन अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो । यसमा वार्षिक रु १८ करोडको रातो गुलाफ फूलको मात्रै कारोबार हुने गरेको थियो ।  

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन । 
 
कोरोना महामारीअघि गुलाफको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ ।  

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ । 
 
रातो गुलाफ विशेषगरी काठमाडौँ उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग पाँच सय पाँच नर्सरी विस्तार भएका छन् ।  

व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन । यस व्यवसायमा लगभग रु सात अर्ब बढीको लगानी रहेको बताइएको छ ।  

अहिले महामारीको त्रास छैन । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत्नै हुन थालेको छ । गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मङ्सिरमा भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङ बताउँछन् ।   

रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फल्न परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेशामा समेत पलायन भएको बताइएको छ । विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ । 
 
कामपाको निर्णयले कारोबार बढ्ने अनुमान

काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेदेखि प्लास्टिकबाट निर्मित फूल र सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएसँगै फूलको कारोबार बढ्ने अनुमान गरिएको छ । बोटमा फुल्ने फूल र प्लास्टिकबाट निर्मित सजावटका सामग्रीमध्ये ६० प्रतिशत काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।  

कामपाले एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाएकाले उत्पादित फूलको कारोबार थप बढ्ने अनुमान गरिएको हो ।  

कामपाले गत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । कामपा प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएका थिए ।

बढी मात्रामा प्लास्टिकको प्रयोगले वातावरणलाई बिगारेको र जसका कारण मानव स्वास्थ्यमा पनि ठूलो असर गरेको भन्दै कामपाले प्लास्टिक प्रयोगमा निषेध गरेको हो । 

प्लास्टिक र प्लास्टिकबाट निर्मित सजावटका सामग्री प्रयोगको अवस्था के छ भन्नेबारे जानकारी लिन र त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्नका लागि अहिले कामपाले नियमित अनुगमनको काम पनि गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप