आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमाले र राप्रपाका ८ सांसद बिदा बसेपछि गठबन्धनले भन्यो–संकेत राम्रो छैन

उपसभामुख दनुवार पनि बिरामी बहानामा बैठकमा अनुपस्थित हुने संकेत
आइतबार, ०३ भदौ २०८०, १९ : ३०
आइतबार, ०३ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अघिल्लो दिन एमालेका ६ तथा राप्रपाका २ सांसद ‘घरायसी समस्या’मा परेको भन्दै बिदा लिएपछि गठबन्धनले संकेत राम्रो नभएको प्रतिक्रिया दिएको छ । 

कोशी प्रदेशसभाका मुख्यमन्त्री थापाले भदौ ४ गते सोमवार १ बजे प्रदेशसभामा विश्वासको मत लिने तय भएको थियो । तर, त्यसको अघिल्लो दिन आइतबारै प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाका गरी ८ जना ज्येष्ठ सदस्यहरुले घरायसी समस्या देखाउँदै सोमवारको बैठकमा अनुपस्थित हुने जनाएका छन् । 

काँग्रेस संसदीय दलका प्रमुख समेतक भुपेन्द्र राईले यो घटनाले राप्रपा र एमाले देशको समाधान नभएर समस्या हो भन्ने कुरा प्रमाणित भएको दाबी गरेका छन् । 

‘यसबाट के प्रष्ट हुन्छ भने राप्रपा संघीयताको विरोधी र एमाले देशको समाधान होइन, समस्या हो भन्ने कुरा प्रमाणित भयो,’ उनले भने । 

यस्तै, माओवादी केन्द्रका सांसद गणेश उप्रेती भन्छन् । ‘दुवै तर्फबाट गलत काम भइरहेको छ । विश्वासको मत पुग्ने ग्यारेण्टी नभए जबर्जस्ती गर्नेहरु र संसदमा अनुपस्थित हुनेहरुले प्रदेशसभालाई हाँसोमा उडाइरहेका छन् ।’

ज्येष्ठ सदस्यमध्ये एमालेकै एकजना सांसद ईश्वरचन्द्र दुलाल यसअघि नै अमेरिका भ्रमणमा निस्किएका छन् । यस्तै, राप्रपाका सांसदहरु अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा ‘घरायसी समस्या’मा परेर सोमवारको प्रदेशसभा बैठकमा उपस्थित नहुने सूचना दिएका छन् । एमाले सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी पनि बिदामा बसेका हुन् । 

यसरी घरायसी समस्या देखाएर बिदामा बस्ने सबै सांसद ज्येष्ठ सदस्य हुन् । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भोलि सोमवार विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान भएको छ । बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने भएपछि एमाले र राप्रपाको रणनीति विश्वासको मत फेल गराउने रहेको प्रष्ट भएको छ । 

एमालेबाट निर्वाचित सांसद रहेकी हालकी उपसभामुख सिर्जना दनुवार प्रदेशसभा बैठकका अनुपस्थित हुने चर्चा चलिरहेको थियो । उनी अनुपस्थित भएको खण्डमा अध्यक्ष मण्डलले बैठक चलाउनु पर्नेछ । तर, अध्यक्ष मण्डलमा रहेका प्रतिपक्षी दलका विष्ट र लिम्बू पनि अनुपस्थित हुने भएपछि प्रदेशसभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । 

उपसभामुख बिरामी  !

यसैबीच, प्रदेशसभा बैठक बस्नुअघि भोलि सोमवार बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । उपसभामुख सिर्जना दनुवारले उक्त बैठक आह्वान गरेकी हुन् । तर, उपसभामुख दनुवार पनि बिहानसम्ममा ‘बिरामी’ हुन सक्ने एमाले सांसदहरु बताउँछन् । 

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने उपसभामुख दनुवारको हातमा छ । उनले बैठक सञ्चालन गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँछन् । अनुपस्थित भए वा राजीनामा दिए परिस्थिति फरक हुनेछ । 

सभामुख अनुपस्थित हुने सम्भावना रहेको एमाले सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले बताए । 

‘उपसभामुखले बैठक चलाउनैपर्ने बाध्यता छैन,’ उनले भने, ‘बिरामी वा अन्य कारणबाट उहाँ अनुपस्थित रहन सक्नुहुन्छ ।’ उनले यो सरकारको आयु भदौ १३ गतेसम्म मात्र रहेको जिकिरसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप