बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

पशुपक्षीसँग सम्बन्धित निकायमा बजेट शून्य भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

आइतबार, ०३ भदौ २०८०, १९ : २३
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । सरकारले पशुपक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शून्यमा पु¥याएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले बजेट वक्तव्यमार्फत पशु क्वारेन्टाइन कार्यालयहरू, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास वार्ड लगायतका कार्यालयको बजेट शून्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनको घोषणा गरेका हुन् । 

नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताए । उनले सरकारले यो विषम समयमा पशुपक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनुयोजित ढंगबाट निर्णय गरेको बताए । उनले किसानहरुको खर्बौको क्षति हुँदा पनि पशुपक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शून्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताए । 

अध्यक्ष खतिवडाले पशुपक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरिपनि नेपाललाई दूध माछा, मासु र अण्डाको डम्पिङ साईड बनाई नेपालका पशुपक्षी उद्योगहरु धरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । उनले (भोलि) सोमबार र (पर्सी) मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का केन्द्रीय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताए । उनले नेपालको पशुपक्षी क्षेत्रको विकासमा सरकार संवेदनशील नबनेको बताए । रावलले किसानहरु लम्पी स्किन रोगका कारण मारमा पर्दा समेत सरकार मूकदर्शक बनिरहेको बताए ।

सरकारले खारेजी तथा पुनःसंरचनाको नाममा शून्य बजेट भएका सम्पूर्ण पशुपक्षी निकायहरुमा विद्यमान संरचना अनुसार चालु आर्थिक वर्षको बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप