शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कविता संग्रह ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित

आइतबार, ०३ भदौ २०८०, १२ : २६
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । कवि देविका तिमिल्सिनाको ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ पहिलो कविताकृति लोकार्पण गरिएको छ । सामाजिक विकास समाजको हल अनामनगरमा कविको ७०औँ जन्मदिनको अवसर पारेर शनिबार सो कृतिको लोकार्पण गरिएको हो । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्राडा गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरे । 

कृतिमाथि चर्चा गर्दै प्राडा भट्टराईले देविकाका कविताहरूमा आफ्नो समयविरुद्ध, शासकविरुद्धको आक्रोश तीव्र देखिएको बताए । “उनका कवितामा अस्तित्ववादी चिन्तन प्रशस्त भेटिन्छन्,” डा. भट्टाराईले भने, “कृतिमा सङ्ग्रहित कविताहरूको रचनाकाल उल्लेख गरिएको भएको भए अझ राम्रो हुने थियो ।” 

कार्यक्रमा भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको सङ्गतको चर्चा गरे । 
कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, सल्लाहकार चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठक, चेतनाथ कणेल हरित, मधु पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा लोकार्पित कवितासङ्ग्रहका सर्जक कवि देविका तिमिल्सिनाले आफ्नो पाँच दशकको साहित्यिक यात्राको बारेमा चर्चा गरेका थिए । “यस धर्तीमा आजदेखि ७० औँ पाइला टेकियो, जीवनको हरेक पाइलामा केही न केही गर्न खोजियो तर सन्तोष गर्ने काम अझै गर्न सकेको छैन,” कवि तिमिल्सिनाले भने, “अनन्य माया गर्ने साथी भाइहरूको सद्भाव र सहयोग नपाएको भए यतिसम्म पनि गर्न सक्ने थिइनँ होला । मेरो पहिलो कवितासङ्ग्रह विमोचन कार्यक्रम गरेर नेपाल स्रष्टा समाजले आज ऋण लगाएको छ ।” जन्मोत्सव मनाएर शुभकामनासमेत पाउँदा आफू अत्यन्त हर्षित भएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप