बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

असोज १९ गतेदेखि बनेपा महोत्सव

शनिबार, ०२ भदौ २०८०, २१ : ३८
शनिबार, ०२ भदौ २०८०

काभ्रे । आगामी असोज १९ गतेबाट काभ्रेको बनेपामा व्यापार महोत्सव आयोजना हुने भएको छ । बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा असोज १९ गतेदेखि कार्त्तिक ४ गतेसम्म १६ दिनसम्म ‘बनेपा महोत्सव–२०८०’ हुने भएको हो ।

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा क्लबले महोत्सवको चौथो संस्करण आयोजना गर्ने भएको हो । महोत्सवमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल लगायतका प्रदर्शनी हुने क्लबले जनाएको छ ।

उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने महोत्सवमा बालबालिकाको लागि छुट्टै मनोरञ्जन बाल उद्यानको व्यवस्था गरिएको छ भने महोत्सवमा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट र चित्रकला प्रतियोगिता सञ्चालन गरिनेछ ।

महोत्सवमा १३० वटा स्टल रहने, जसमा ७५ वटा स्टल बुकिङ भइसकेको बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उद्योग व्यवसायसँगै कृषि तथा हस्तकलाको विशेष प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको उनको भनाई छ ।

साना तथा घरेलु उद्योग र व्यापारको प्रवर्द्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । महोत्सवमा कृषिजन्य स्टलका लागि एक व्यक्तिलाई तीन दिनसम्म निःशुल्क स्टल उपलब्ध गराइने उनले बताए । उनका अनुसार काभ्रे जिल्लाका व्यवसायीलाई प्रति स्टलमा १५ प्रतिशत छुट दिइने छ । 

अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ । महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको छ ।

महोत्सवको मुख्य संयोजकमा पारसमणि कायस्थ रहेका छन् भने सङ्घसंस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, खेलकूद प्रतियोगिता संयोजकमा किशोर वरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगिता संयोजकमा नरेशराज कायस्थ, फुटबल प्रतियोगिता संयोजकमा राजु लामा, गायन प्रतियोगिता संयोजकमा रबिनसन श्रेष्ठ र नृत्य प्रतियोगिता संयोजकमा प्रताप हुमागाईँ रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप