शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अहिले इतिहासको सबैभन्दा लोकप्रिय सरकार छ :  वर्षमान पुन

शनिबार, ०२ भदौ २०८०, १६ : ४९
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जनतामा लोकप्रिय भएको बताएका छन् ।  पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिवार बोल्दै उनले वर्तमान सरकार  इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन् । 

सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो । ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ ।’ 
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताएका छन् । 

सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको उनले बताए । प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो । ‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौँ, तर सरकारको नेतृत्व गरिरहेका छौँ’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो । कांग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।’ 

गत मङ्सिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो । ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ ।  तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन् ।’  पुनले वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए । ठुला भ्रष्टाचार र बेथितिहरूमाथि सरकार निर्मम ढङ्गले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो । 

पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका राजनीतिक शक्ति आफूहरूसँग चिढिएको बताए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा पुनले गरे । तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए । ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने । 

सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने उद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए । पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एक एक वडामा आफैँ गएर सङ्गठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको समेत पुनले उल्लेख गरे ।  उनले प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिँड्न सक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सितसहित तेस्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए । 

सरकारका कांग्रेससहितका दलसँगको सहकार्यमा रहेको भए पनि राष्ट्रिय मुद्दाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरू रहेको उल्लेख गरे । संसदका विषयगत समितिहरूमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो ।

१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणमा सहकार्य गरेर आएको कांग्रेसलाई छाडेर आजको राजनीति अगाडि नबढ्ने उनको स्पष्टोक्ति थियो । आजको राजनीतिमा कांग्रेससँग मुद्दा मिलेकाले सरकारमा सँगै रहेको भन्दै उनले रणनीतिक र सैद्धान्तिक रूपमा कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको जनाए । ‘अहिलेको परिवर्तन सही छ । यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्नेसँग सहकार्य गर्छौँ’, उनले भने, ‘देशभित्रका मुख्य पार्टीहरूलाई सन्तुलन गरेर जाने हाम्रो नीति छ ।’ 

पुनले पूर्वमाओवादीसहित विचार र पृष्ठभूमि मिल्ने दलहरूसँग एकता र ध्रुवीकरण गर्दै जाने नीति रहेको पनि उल्लेख गरे । ‘हाम्रो अध्यक्ष प्रचण्डलाई बायाँतिर साइड लाइट देखाएर बायाँ हिँड्ने र बायाँतिर साइड लाइट देखाएर दायाँ हिँड्ने चरित्रको भन्ने पनि गरिएको छ’, उनले भने, ‘कहिलेकाहीँ २४ घण्टामा पनि परिस्थितिमा फेरबदल आउन सक्छ । फेरिएको परिस्थितिअनुसार अघि बढ्न हामी सिपालु छौँ । यो हाम्रो अध्यक्षको तरिका हो । माओवादी तरिका हो । विगतदेखि नै हामी यसैगरी आइरहेका छौँ ।’ झट्ट हेर्दा छिटो कार्यनीति बदल्ने आफूहरूको तरिका विरोधाभासपूर्ण लागे पनि त्यो सही र मुलुकको हितमा भएको दाबी पुनले गरे । 

फरक प्रसङ्गमा पुनले रुस–युक्रेन युद्धपछि अमेरिका–चीनलगायत शक्ति राष्ट्र र उनीहरूलाई समर्थन गर्ने मुलुकहरुबीच तीव्र ध्रुवीकरण भइरहेको चर्चा गरे । यद्यपि नेपाल असंलग्नताको नीतिअनुसार कुनै पनि ध्रुवीकरणको पक्षमा नलाग्ने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप