गाई आतङ्क
दिनेश पन्त
“घरमा दुईजना हामी श्रीमान श्रीमती छौँ । म बिरामी छु । अरू काम गर्न नसके पनि दिउँसोभरि बरण्डामा बसेर छाडा चौपाया धपाउन र लगाएको बेर्ना (धानको बीउ) जोगाउँछु, दिउँसो त जसोतसो लठ्ठी देखाएर, तर्साएर छाडा गाई खेद्छु तर रातभरि जागा बस्न सक्दिनँ । तैपनि राति बेला–बेलामा उठ्छु, हेर्छु । म त हैरान भइसकँे यी छाडा गाइहरूदेखि “मेरा छिमेकी वीरबहादुर बिस्ट भन्छन् । मेरा आर्का छिमेकी तिपुरदास नेपाली भन्छन्– “सुरु सुरुमा छाडा गाईहरूलाई सेन्चुरी जङ्गलमा (शुक्लाफाँटा रास्ट्रिय निकुन्ज) छाडेर आउँथे । अब त सकिन्नँ १०, १२ बथान दिनकै आउँछन् । यी डिंगाहरूको दुःखसास्तीको कुरै छोडौँ । तपाईंलाई थाह नै छ अधियाँमा जग्गा बनाउँदैछु, आफ्ना लागि मात्रै होइन, दुई घरका लागि अन्न उब्जाउनुपर्छ । फेरि घर नजिक जगा छैन, जसोतसो रुखका हाँगा र बुट्यानले बेर्ना छेक्ने कोशिस गरेको छु, तर त्यति कामयाब छैन ।”
यी त हुन् मेरा घर भीमदत्त–५, कञ्चनपुर र यसका आसपासका क्षेत्रमा सुनिने दुखेसा र सास्तीका अनुभव । पोहोरदेखि छाडा चौपायाहरूको गुणात्मक वृद्धिले आम जनताको निद चैन उडाएको छ । रातभरि जागा बस्नुपर्ने र दिउँसो खेद्न टाढा–टाढा पुग्नुपर्ने एउटा अतिरिक्त काम बढेको छ । सक्नेले तारबार लाएर केही हदसम्म गाई आतङ्कबाट निजात पाएका छन् । नसक्नेहरू हतास भएर खेती किसानी नै छोड्नेसम्मको निर्णयमा पुग्न थालेका छन् । छाडा गाईगोरुले किसानलाई मात्रै होइन, अरू थुप्रै क्षेत्रमा पनि समस्या पनि थपिदिएका छन् । जस्तै; बजार र राजमार्ग क्षेत्रमा सवारी आवागमनमा अवरोध र दुर्घटना हुनु, छाडा चौपायाको गोबर र गहुँतले सडक र सहर बजार दूषित हुँदै जानु आदि ।
स्थानीय समुदायको कुरा बुझ्दा र अनौपचारिक तरिकाले अध्ययन गर्दा यस समस्याका दुई प्रमुख कारण पाएँ– एक अन्तर्राष्ट्रियकरण र अर्को राष्ट्रिय कारण । अन्तर्राष्ट्रियकारण हो भारतमा केही वर्षयता हिन्दू राष्ट्रवादी भाजपाको उदय हुनु र यसले ल्याएको हिन्दूवादी दक्षिणपन्थी लहर नेपालको सीमासम्म पुग्नुले गाई आतङ्कको समस्या उब्जाएको देखिन्छ । नेपाल छुने सिक्किमबाहेक अन्य चार राज्यहरूमा कुनै न कुनै किसिमको गौवध, गौव्यापार र गौमासको पावन्दीले प्रत्यक्षरूपमा नेपालको विशेषतः भीमदत्त जस्ता मधेसका विभिन्न ठाउँमा रहेका सहरहरूमा एउटा कहाली लाग्दो प्रकोप देखिएको छ । पहिला पहिला भारतमा यी यस्ता बन्देज नहँुदा दोहन गरिसकिएका वा दुग्ध प्रयोजनका लागि काम नलाग्ने चौपायाहरूको व्यापार सीमावर्ती भारतको राज्यहरूमा सहज रूपमा हुन्थ्यो । तर जब भारतमा गौवध प्रतिबन्ध भयो, तब निकासी हुने चौपायाले निकास पाएनन् र नेपालको सरहदभित्र आतङ्क मच्चिन पुगेको छ ।
रह्यो कुरो राष्ट्रियकारणको, यसलाई अझै तीन भागमा विभाजित गर्न सकिन्छ । पहिलो धार्मिक–सामाजिक परिवर्तन, स्थानीय निकायको व्यवस्थापकीय अक्षमता र राज्यको नीति । धार्मिक–सामाजिक परिवर्तन एउटा मुख्य कारण हुन सक्दछ हिन्दू धर्मको रुढता छँदा मान्छेहरूले चौपाया नमरुन्जेलसम्म पाल्थे । उत्पादन नहुने चौपयामा पनि आर्थिक भार खेप्दै लगानी गर्नुपथ्र्यो तर समाज केही उदार हुँदै जाँदा चौपाया प्रयोजनविहीन हुँदा मान्छेले पाल्न छोडे । त्यसलाई स्वाभाविक रूपमा लिन सकिन्छ । त्यस्तै कृषिमा गोरुको प्रयोग नहुनु, ट्याक्टर प्रयोग हुनु, पशुपालनमा रुचि घट्नु वा जनतासँग त्यसका लागि समय नहुनु यी पनि चौपाया आतङ्कको एउटा सम्भाव्य कारण हुनसक्छ ।
छाडेका चौपायाहरूको निकास पारि भारतमा गर्ने परिपाटी हुँदा स्थानीय निकायलाई हाइसन्चो थियो । तर स्थानीय निकायले वैकल्पिक उपाय (प्लान बी) बनाउन सकेन वा चाहेन र भारतमा चौपाया निकासी हुन नसक्दाको कहाली लाग्दो अवस्थासँग जुध्न सकेन । व्यास्थापकीय अक्षमता कारण बुझ्न मैले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालजीसँग सम्पर्क गर्ने प्रयास गरेको थिएँ । उहाँ सम्पर्कमा आउनुभएन वा आउन चाहनुभएन । स्थानीय चुनावको सरगर्मी चढेको बेला भीमदत्त नगरपालिकाका प्रमुखका ठूला तीन दलका प्रत्यासी नेकपा एमालेका सुरेन्द्र विष्टजी र माओवादी केन्द्रका गोपाल रसाइँलीजीसँग सम्पर्क गरे । काङ्ग्रेसका पदम बोगटीजीसँग सम्पर्क हुनसकेन । सुरेन्द्र विष्टजीले चौपाया व्यस्थापनका लागि अल्पकालीन र दीर्घकालीन दुई योजना सार्नुभयो । अल्पकालीन योजनामा छाडा चौपायाको लागत लिने र डाटाबेस बनाउने र छाडा चौपायाबाट पीडित कृषकलाई राहत हर्जना दिने र दीर्घकालीन योजनाअनुसार सामुदायिक वन वा पब्लिक–प्राइभेट पार्टनरसिपका आधारमा गौशाला निर्माण गर्ने र गौशाला सञ्चालनका लागि दोहन गरिसकेका वा काम नलाग्ने पशु बुझाउने कृषकबाट न्यूनतम शुल्क लिने र गौशाला सञ्चालनका लागि आसपासका नगरपालिकासँग सहकार्य गर्ने योजना सुनाउनुभयो । त्यसैगरी गोपालजीसँग यसबारेमा जिज्ञासा राख्दा उहाँले ‘व्यस्थापनको काम पूर्वकृषिमन्त्री हरिबोल गजुरेलका पालादेखि नै कञ्चनपुरको लालझाडीमा गौसाला सुरु गरिसकेको जानकारी दिए । त्यस गौशालामा १,००० गाई अट्ने दाबी पनि उहाँले गर्नुभयो । यस कार्यक्रमलाई आफू निर्वाचित भए आफ्नो कार्यकालमा निरन्तरता दिने र यस्ता गौशालाहरू अझै निर्माण गर्ने योजना सुनाए । ती गौशालाहरूबाट बाच्छा उत्पादन, मरेका चौपायाबाट छाला हाड उत्पादन गर्ने योजनाको पनि फेहरिस्त प्रस्तुत गरे । उनले सडकलाई गोबर, गहँुत मुक्त बनाउने योजना मुताविक जसरी पनि पशु व्यस्थापन गर्ने दाबी गरे ।
गाई आतङ्कको मुख्य कारण हो– राज्यको नीति । नीतिगत समस्या सीधै हाम्रो संविधानसँग ठोकिन आइपुग्छ । संविधानले नै देशलाई पूर्णरूपमा धर्म निरपेक्ष राज्य बनाउन नसक्नु अर्थात् सनातन धर्म (हिन्दु धर्म)को रक्षा गर्ने आशयले धर्म निरपेक्षताको परिभाषा लेखिनु । गाईलाई राष्ट्रिय जनावर बनाउनु, गौवध र गौमासलाई कानुनतः दण्डनीय अपराध कायम राखिराख्नुले नै गाई आतङ्कले विकराल रूप लिएको छ । नेपालका कथित उच्च जातका हिन्दूबाहेक गौमास सेवन नगर्न सांस्कृतिक– धार्मिक रूपमा कुनै समुदायलाई कुनै पावन्दी छैन । मेरै पुख्यौली जिल्ला बैतडीका दलित समुदायका ‘भूल’ जातिले गौमास खान्छन् अर्थात् कथित दलितहरू पनि गौमास सेवन गर्छन् । अल्पसङ्ख्यक मुसलमान र जनजातिहरू गाईको मासु खान्छन् । अझै अघि बढेर भन्ने हो भने आधुनिक समयमा कथित उच्च जातीय हिन्दू पनि धार्मिक रुढतामा बाँधिन बाध्य छैनन् । अर्थात् बाहुन समुदायका कोही गौमास सेवन गर्न इच्छा राख्दछ भने त्यो व्यक्तिलाई सेवन गर्ने छुट पाउनुपर्छ । आधुनिक राज्यमा नागरिकको भान्सामा राज्यको नियन्त्रण हुनु दुर्भाग्य हो । गौवधको प्रतिबन्ध फुकुवाले गाई आतङ्क निमिट्यान्न गर्न सक्छ । र्यासनली (तार्किक रूपमा) सोच्ने हो भने गौवध हटाउनु त्यति ठूलो समस्या होइन । भारतमा गोवध प्रयोजनका लागि नेपालबाट गाई बेच्न तयार नेपालीलाई आफ्नै देशका गाईको मासु खाने समुदायलाई गाई बेच्न अफ्ठ्यारो मान्लान् भन्ने मलाई लाग्दैन । बरु यसले बिस्तारै बिस्तारै एउटा विद्रोह निम्त्याउँछ । अहिले छापाहरूमा आइरहने फलानाले गाईहत्या गर्यो र समातियो भन्ने खालको समाचार विद्रोह एउटा पाटो हो । गत वर्ष अर्थात् २०७३ पुस ६ गते भीमदत्त नगरपालिकाका–३ वटा टिपर र वेदकोट नगरपालिकाले भाडामा लिएका २ वटा ट्रकमा कञ्चनपुरको सिसैयाबाट गाई कैलालीको गोदावरी जङ्गलमा लागि विष खुवाई सामूहिक हत्या गरिएको थियो । धर्मनिरपेक्ष राज्यको हिन्दुवादी र अव्याहारिक नीति नहाटाउँदासम्म यस्ता घटना दोहरिरहन्छन् ।
यति कुरा लेख्दै गर्दा मलाई धेरै कुराले दुखी बनायो । जस्तो कि यत्रो विकराल समस्यालाई मिडियाले समाचार नदेख्नु, राजनीतिक दलको चासोको विषय नबन्नु, कृषि–अर्थविज्ञहरूको आँखा नपर्नु र जनावर अधिकारवादीले छाडा छाडिएका जनावरको विषयमा एड्भोकेसी गर्न नसक्नु । आशा गरौँ यस विषयसँग सम्बन्ध राख्ने सबै क्षेत्रका व्यक्तित्वहरूले यो समस्यामा चासो राखून् । यो समस्याको समाधान भनेकै राष्ट्रिय कारणको समाधान हो । आशा गरौँ स्थानीय निकायमा निर्वाचित हुने जनप्रतिनिधिले आफ्ना योजनाअनुसार चौपाया व्यस्थापन गर्नेछन् र हार्ने प्रत्यासीले दबाब बनाइ राख्ने छन् र केन्द्रका नेतृत्वले नीति र संविधानमा हेरफेर ल्याउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक