शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
विचार

पुरुषसत्ताको जाँतोमा पिसिएका ग्रामीण नारीहरू

शनिबार, ०२ भदौ २०८०, १३ : ०७
शनिबार, ०२ भदौ २०८०

विभेदको सुरुवात भ्रूणबाटै तय भइसकेको हुन्छ, जहाँ एक अबोध बालिकाले स्वयं जन्म लिने अधिकार समेत पाउँदैनन्, कथित पितृसत्तात्मक समाजको अनुमतिबेगर । गर्भजाँच गरिन्छ, भ्रूण पत्ता लगाइन्छ र आवश्यक नठानेमा भ्रूण हत्या गर्न पनि पछि पर्दैनन्, खोक्रा आडम्बरधारी महापुरुषहरू । 

छोरा प्राप्तिकै निम्ति कैयौँ देवीदेवतालाई भाकल गरेका मठ–मन्दिरमा पशुलाई बलि दिँदा हात काम्ने ती महाशयका दर्जनौँपटक भ्रूणहत्या गराउँदा काम्दैनन् कहिल्यै रक्ताम्य हत्यारा हातहरू । अनि किन अफसोस मनाउँदैनन् कुनै समयको आफ्नै गल्तीको ? राज्यको उत्पत्तिदेखि नै नीति–नियमको निर्माण गर्ने र हरेक क्षेत्रमा निर्णायक भूमिका लिने हुँदा समाजमा पुरुषकै वर्चस्व र बाहुल्य रहँदै आयो । 

पितृसत्तात्मक समाजमा नारीलाई निरीह, कमजोर, निष्क्रिय, सामथ्र्यहीन, परनिर्भर र असक्षम बनाइएको पाइन्छ । हरेक क्षेत्रमा पुरुषको सत्ताबाट प्रताडीत हुँदै आएका नारीहरु सतीप्रथा, देउकी प्रथा, छाउ, दासप्रथा जस्ता अनेक अन्धविश्वासमा जकडिए । हाम्रो सामन्ती समाज अझै पनि जातभात, छुवाछुत, उचनीच आदि रुढीवादी परम्परा र अन्धविश्वासले गाँजिएको छ । सामन्ती वा उच्च वर्गको शोषण, दमन तथा पुरुषको हैकमवादी प्रवृत्तिले नारीहरू उत्पीडनको चक्रव्यूहमा परेकै छन् । ग्रामीण परिवेशमा बालविवाह, अनमेल विवाह र बहुविवाहका कारण नारीहरु विभेद र उत्पीडनमा परिरहेका छन् । 

शताब्दियौँदेखि चलिआएका विभेदकारी परम्परा, प्रथा, मूल्य–मान्यता वा रुढीवादी संस्कारहरू शिक्षित परिवार, समुदाय र खासगरी सहरी परिवेशमा बिस्तारै लोप हुँँदै गए पनि त्यसले सुदूरपश्चिमको अधिकांश ग्रामीण भेगमा जरा गाडेकै छ । 

यस्ता उदाहरण खोज्न त्यति पर पुग्नुपर्दैन । देउकीप्रथाका कारण विभेद भोगिरहेका महिला हाम्रो समाजमा अहिले पनि छन् । देउकी प्रथाले नारीहरूको जीवनमा परेको असर र त्यसले निम्त्याएको दुःखद अवस्थाको विश्लेषण अर्को आलेखमा विस्तृत रूपमा गर्नेछु ।

दुःख, पीडा र संघर्षकै पर्यायकै रूपमा चित्रण गर्दा पनि फरक पर्दैन, ग्रामीण परिवेशमा जन्मिएर हुर्किएका र विद्यालयको प्र्राङ्गणसम्म आफ्ना पदचाप पुर्‍याउन नसकेका अबोध नारीहरूलाई । निम्न तथा निम्न मध्यम वर्गीय परिवारका नारीलाई विद्यालयको प्राङ्गणसम्म पुग्नु नै जसरी सपना बनिदिन्छ, त्यसरी नै स्वतन्त्र भएर बाँच्न पनि कठिन छ उनीहरूका लागि । कतिपय विकट क्षेत्रका नारीहरु सामाजिक रूपमा, जातीय रूपमा, धार्मिक रूपमा, सांस्कृतिक रूपमा र खासगरी आर्थिक रूपमा यति निरीह छन्, यति पिल्सिएका र जोतिएका छन् कि स्वतन्त्रता भन्ने शब्दले नै उनीहरूलाई गिज्याइरहेको अनुभूति हुन्छ । पितृसत्ताको जाँतोमा पिल्सिएर वाचाल, निडर र निर्भीक स्वभावका नारीहरू पनि आफूलाई कमजोर सोच्न बाँध्य भएका हुन्छन् ।

गल्तीहरूमा नारी एक्लैको दोष देख्ने पुरातनवादी सोच भएको समाजका अघि नारीको दृश्य जीवन र भोग्य जीवनबीच कति अन्तर र कत्रो खाडल हुन्छ भन्ने प्रश्न खडा हुन्छ ।

पितृसत्तात्मक वर्चस्व कायम रहेको परिवार र समाजमा शिक्षा, कानुन, लिङ्ग र धर्मका नाममा नारीमाथि हुने अन्याय, अत्याचार, हिंसा र विभेदले जरो गाडेको छ । समाजमा उच्च वर्गका पुरुषले नारीमाथि गर्ने हार्दिकता, आत्मीयता भन्दा पनि शोषण र उत्पीडन प्रमुख देखिन्छ र नारीलाई पितृसत्ताले सामाजिक र आर्थिक दृष्टिकोणले पछाडि पार्न खोजिरहेको देखिन्छ । परिवार वा समाजमा नारी र पुरुषको उत्तिकै महत्त्व हुने भए पनि नारीलाई उत्पीडनमा पारिएको छ । नारीले पनि अवसर पाएमा परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने महसुस गर्न नसकेको पुरुषसत्ताले शक्ति र सत्ताको आडमा नारीलाई मान्छे नै नगन्ने प्रवृत्ति पनि सर्वत्र देखिन्छ । पुरुषप्रधान समाजमा कहीँकतै नारीको कठिन सङ्घर्ष, उदय र आगमनले केही उज्यालोको संकेत गरे पनि समाज र पुरुषसत्ताको हितका निम्ति जहिल्यै पनि पुरुषसत्ताले नारीलाई बली चढाउने प्रयास गरिरहेकै हुन्छ । 

जिन्दगीको ऊर्जाशील समयमा आफ्ना अथाह रहरहरू श्रीमान्, सासु–ससुरा र खासगरी वर्षैपिच्छे जन्मिने सन्तानका लागि खर्चेका आमनारीको जीवन कहिल्यै सप्तरङ्गले रङ्गीन पाउँदैन । अझै पनि कतिपय नारीहरु सासु–ससुराको बुहार्तन, श्रीमान्को ज्यादती, अबोध सन्तानको भविष्यको चिन्तामा थिचिएका छन् । थाहा छैन, यस्तो थिचाइबाट माथि उठ्न कति पुस्ताका बज्यै, आमा, दिदी–बहिनीले कति सङ्घर्ष गरे । 

घर–परिवारको बुहार्तन, विवाहपछि माइतीको पूर्ण साथ र सहयोग नहुनु एकातिर छ, यसमाथि कुनै कारणवश वैवाहिक जीवन बिग्रिएमा ती महिला समाजमा आँखाको कसिङ्गर समेत बन्नुपर्ने अवस्था सिर्जना हुन्छ । गल्तीहरूमा नारी एक्लैको दोष देख्ने पुरातनवादी सोच भएको समाजका अघि नारीको दृश्य जीवन र भोग्य जीवनबीच कति अन्तर र कत्रो खाडल हुन्छ भन्ने प्रश्न खडा हुन्छ । नारीलाई कमजोर बनाउन समाजले उसको चरित्रमाथि औँला उठाइदिए पुग्छ, तर पितृसत्तात्मक सामाजिक संरचनाका कारण कसैको चरित्रमाथि औँला उठाउनुभन्दा पहिले प्रश्न खडा गर्नु र पूर्वपरिस्थितिको वस्तुगत विश्लेषण गर्नु अनिवार्य ठहर्दैन । विडम्बना बालविवाह, बहुविवाह र अनमेल विवाहलाई स्विकार्ने समाजले नारीको हरेक गतिविधिलाई सकारात्मक दृष्टिकोणले स्वीकार गर्नै सक्दैन । 

यहाँ अर्को प्रसङ्ग जोडौँ, चेतनाको कमी भएको समाजमा धार्मिक कुसंस्कारले पनि बढी ठाउँ ओगटेको हुन्छ । यसको टड्कारो उदाहरण हो, महिलाहरूको मासिक धर्म । ग्रामीण परिवेशका हरेक महिलाले प्रत्येक महिना फरक किसिमको मानसिक तनाव लिएर बाँच्नुपर्छ — देवीदेवताका नाममा, धर्मका नाममा, संस्कारका नाममा डर देखाएर । महिनावारी भएको कैयौँ दिनसम्म (कुनै परिवारमा ६, ८, १० दिन त कुनै समुदायमा १६ दिनसम्म) बार्ने चलन अद्यापि छँदै छ । पानीपधेँरो, भातभान्छा, चुलोचौकोसम्म पुग्न कठिन नियम लाँदिएका हुन्छन् । घन्टौँ हिँडेर पानीको मुहानसम्म पुग्नुपर्ने अवस्थाहरू वा बाध्यताहरू एकातिर छन् भने सुदूरपश्चिमको केही जिल्ला र स्थानमा महिनावारीका बेला नारीहरू छाउगोठमा रात काट्न बाध्य छन् । कैँयौ छाउगोठ सुरक्षाका दृष्टिले एकदमै कमजोर स्थितिका हुन्छन् । त्यस्ता छाउगोठमा नारीहरूमाथि भएका हिंसा र असमयमै, अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्यामा अझै पनि कमी आउन सकेको छैन ।

ग्रामीण परिवेशमा देखिने अर्को टड्कारो समस्या भनेको निर्णायक तहमा नारीको सहभागिता शून्य हुनु नै हो । कुरा र कागजमै सीमित छन्, ३३ प्रतिशत महिला सहभागिताको विषय । घरभित्र र घरबाहिर गरिने कुनै पनि काम र व्यवहारमा नारीको मत र निर्णय आवश्यक ठानिँदैन या जरुरी मानिदैन, सहभागी समेत गराउँदैनन् । घरबाहिर जाँदा अनिवार्य अनुमति माग्नुपर्ने र सिङ्गो जीवन बिताउनुपर्ने बिहेजस्तो निर्णय गर्दा समेत नारीले बोल्न पाइँदैनन् । अग्रजले गरिदिएको निर्णय चुपचाप सहनु र मौन स्वीकृति दिनुभन्दा अर्को विकल्प नै भेटिँदैन । 

कतिपय नारीले भाग्य र नियतिलाई सर्वेसर्वा ठान्दै सिङ्गो जिन्दगी बिताइदिनुपर्छ । अनि इच्छा, आकांक्षा र रहरहरूको पोको एकातिर थन्क्याउनुपर्छ, स्वतन्त्र भई बाँच्नका लागि युगौँ पर्खिनुपर्छ । नेपाली समाजमा सत्तारूपी जाँतोको हातो शोषक सामन्ती पुरुषहरूले समाएका छन् भने सीमान्तीकृत, किनारीकृत पारिएका नारीहरू घान बनाइएका छन् । अन्याय र अत्याचारको त्यही जाँतोमा पिसिएर टुक्राटुक्रा पारिएका छन् नारीहरू । 

चुलोचौको, गाईगोठ, वनपाखा र खेतबारीबाट बेफुर्सदिला ती नारीको कहालीलाग्दो जीवन हरेक दिन झिसमिसे बिहानीको चिसो सिरेटोसँगै सुरुवात भएर बल्ल मध्यरातमा अन्त्य हुन्छ । कैयौँ सपनालाई तिलाञ्जली दिनुपर्छ, कैयौँ बोझ मनमा लिएर बस्नुपर्छ, तर निष्फिक्री भएर निदाउने अधिकार समेत हँुदैन । केवल बाँच्नुपर्छ त आफ्नाहरूका लागि, आफन्त भनाउँदाका लागि, जहाँ कहिल्यै पनि आफ्ना लागि आफ्नै जीवनसँग समय सापटी मागिँदैन । यन्त्रवत मेसिनजस्तै मिर्मिरेदेखि मध्यरातसम्म घोटिन्छन्, जोतिन्छन् र पिल्सिन्छन् सिङ्गो परिवारका लागि । त्यहाँ न कर्मको कदर हुन्छ, न इज्जत, सम्मान नै गरिन्छ स्वयंं नारी व्यक्तित्व र विचारको । बेलगामका अथाह सपना फुरुङ्ग उड्न खोज्छन् माथि–माथि आकाशमा । बालकले धागोमा चङ्गा उडाए जसरी फेरि मिर्मिरे बिहानदेखि फर्कन्छन् उही दैनिकीमा पारिश्रमिकविहीन जिन्दगीको उही परिचित लयमा, न गन्तव्य भेट्ने हतारो गर्छन्, न शिखर चढ्ने उत्सुकता नै । छन् त केवल ती खस्रा हातका लागि पर्खिएका कैयौँ कामका चाप, बोझिला भारीहरू, चिराचिरा परेका पैताला नाप्ने घुम्ती र मोडहरू । वेदनामिश्रित आवाजहरू घन्काउँछन्, उही चिरपरिचित वनपाखामा र सुसेल्छन् सल्लाघारीको शीतल प्रतिछायामा । त्यहाँ रित्तो आकाशबाहेक कसैले सुन्दैन् ती रित्ता भोगाइहरू, अश्रुमिश्रित ती व्यथाहरू । मानिस हुनुको प्रतिविम्ब अग्ला पहाडले नियाल्छन् र साथ दिन्छन् त केवल न्याउली र झ्याउकिरीले ।

यसरी ग्रामीण परिवेशमा जबसम्म नारीमाथि विभिन्नखाले अन्याय, अत्याचार, ज्यादती, शोषण र अनेक तरहका हिंसाको अन्त्य हँुदैन र स्वयं नारीले आफ्नो हक–अधिकारका लागि बुलन्द आवाज उठाउन सक्दैनन् । काँडेतारले बेरिएको पर्खाल नाघ्न सक्दैनन् । विद्रोहका पाइलाहरू चाल्न सक्दैनन् र नियति र भाग्यको खेल सम्झेर पुर्पुरो समाएर बस्छन् । ग्रामीण परिवेशका नारीको मुखमा पट्टी बाँधिन्छ, हातमा हतकडी लगाइन्छ, खुट्टामा लगाम लगाइन्छ या भनौँ सम्भावना र स्वतन्त्रताका ढोकाहरू हर तवरले बन्द गरिन्छन् ।

(कैलालीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता जोशी
सरिता जोशी
लेखकबाट थप