एसियाली खेलकुद : फरक छाप छोड्न एकोहोरिएका ब्ह्लोन दिदी–भाइ
काठमाडौँ । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङ्झाउमा एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १९ औं संस्करण आयोजना हुँदैछ । होङ्झाउ एसियाडमा नेपालबाट स्क्वासका ६ जना खेलाडीले भाग लिँदैछन् । भन्दा अतिशयोक्ति नहोला, नेपाली स्क्वासको प्रतिष्ठा लामो समयदेखि पारिवारिक विरासतले धान्दै आएको छ ।
एसियाडमा तीन महिला तीनजना पुरुष खेलाडीले स्क्वासमा नेपालको प्रतिनिधित्व गर्नेछन् । एसियाडका लागि घोषित स्क्वास टोलीमा सहभागी खेलाडीमध्ये दुई जोडी दिदी–भाइ छन् ।
कुनै समय थियो, नेपाली स्क्वासमा हिराबहादुर थापामगरले एकक्षत्र राज गरेका थिए । उनी लगातार १७ वर्षसम्म स्वाक्सको राष्ट्रिय च्याम्पियन बने । कालान्तरमा पिताकै पदचिन्हलाई पछ्याउँदै छोरा अमृत थापामगर र छोरी कृष्णा थापामगर पनि स्क्वासको स्थापित खेलाडी बन्न पुगे ।
आगामी एसियाडमा अमृत र कृष्णा दुबै छनोट भएका छन् । रमाइलो पक्ष के हो भने अर्को दिदी–भाइको जोडी पनि होङ्झाउ एसियाडका लागि छनोट भएको छ । १९औं एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित कडा परिश्रम गरिरहेका विपना ब्ह्लोन र अमिर ब्ह्लोन दिदी–भाइ हुन् ।
देशको संघीय राजधानी काठमाडौंसँग सिमान जोडिएको जिल्ला काभ्रेको रोशी शिखरबोटबाट नेपाली खेलकुदमा उदाएका विपना र अमिरले एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने सपना साकार पार्न गरेको संघर्षको कथा भने कम्ता रोचक छैन ।
विपना र अमिर बुवाको औंला समाउँदै सानैमा काठमाडौं आएका थिए, अध्ययनका लागि । तर, उनीहरु सानै छँदा पिता अमरबहादुर ब्ह्लोनको निधन भयो । कान्छी बहिनी सपना त त्यतिबेला झनै सानी थिइन् । त्यसपछि छोराछोरीको पालनपोषणको जिम्मा आमा लहरीमायाँ ब्ह्लोनको काँधमा आयो ।
बुवा अमर कुशल डान्सरका अतिरिक्त जिमन्याष्टिक र कुङ्फुमा निपूर्ण थिए । उनी आफ्ना छोराछोरीले पनि अध्ययनसँगै खेलकुदमा समेत अगाडि बढुन् भन्ने चाहन्थे । देशलाई चिनाउने र आफू पनि चिनिने सशक्त माध्यम हो खेलकुद भन्ने कुरा राम्ररी बुझेका अमर आफ्ना छोराछोरीलाई पनि खेलकुदमा सक्रिय बनाउन चाहन्थे ।
सायद त्यसैले उनले विपना र अमिरलाई पनि मार्सल आर्टस सिक्न डोजोमा भर्ना गरिदिएका थिए । अध्ययन सकिएपछि उनीहरु कराँते सिक्न जान्थे । विपना त मार्सल आर्टबाट चाँडै नै विरक्तिइन् । तर, अमिरले भने लामै समय बुदोकैदो कराँते सिके । सानो छँदा उनी फुटबल पनि खेल्थे । तर, कुनै पनि खेलले उनीहरुलाई लामो समय बाँधेर राख्न सकिरहेको थिएन ।
स्क्वाससँग संयोगले जोडिएको साइनो
यसैबीच, एक दिन उनीहरुको शिरबाट पिताको छत्रछायाँ खोसियो । बुवाको निधनपछि एकाएक उनीहरुको जीवन बिथोलिन पुग्यो । त्यसपछि आमाले निकै दुःख गरेर उनीहरुलाई हुर्काइन् । एकातिर बुवा उनीहरुलाई खेलाडी बनाउन चाहन्थे । अर्कोतिर, बुवाको निधनपछि पनि उनीहरुको मन भने कुनै पनि खेलले तान्न सकिरहेको थिएन ।
यस्तैमा एकदिन उनीहरुको जीवनमा ‘गड फादर’ बनेर आए, दीपकमान शेरचन । ‘वास्तवमै उहाँ हाम्रो गड फादर नै हो । उहाँले नै हो हामीलाई स्क्वास खेलसँग परिचय गराएको । उहाँसँग हाम्रो भेट पनि संयोगले भएको थियो । उहाँसँग भेट हुनुअघि हामीले स्क्वास खेलको नामसम्म सुनेका थिएनौं,’ विपना र अमिर भन्छन् ।
पेशाले इन्जिनियर शेरचन नियमित रुपमा सातदोबाटोस्थित एकेडेमीमा स्क्वास खेल्न आउँथे । उता, डेरा नजिकै भएकोले आफूजस्तै ससाना केटाकेटीहरुसँग खेलेर रमाइलो गर्न विपना र अमिर पनि सातदोबाटोस्थित स्क्वास एकेडेमीतिर आउँथे । त्यतिबेला उनीहरुको उमेर यस्तै ११–१२ वर्ष हुँदो हो । यी दिदी–भाइको उमेरमा एक वर्षभन्दा थोरै बढीको मात्र अन्तर छ ।
शेरचनले सधैँ एक हुल ससाना केटाकेटीलाई एकेडेमी वरपर माटोमा खेलिरहेको देख्थे । उनी आउँथे, धुलो–माटोमा खेलिरहेका केटाकेटीलाई हेर्थे । त्यसपछि स्क्वास खेल्थे र फर्कन्थे । केही समय यो क्रम निरन्तर चलिरह्यो । यस्तैमा एक दिन अचानक शेरचन ती केटीकेटीहरु खेलिरहेको ठाउँमा पुगेर उनीहरुसँग भलाकुसारी गर्न थालेछन् ।
‘एकदिन अचानक उहाँ (शेरचन) हामी खेलिरहेको ठाउँमा आउनु भयो । उहाँले खेलाडी बन्ने हो ? भनेर हामीलाई सोध्नु भयो । हामी पनि हो भन्दै हौसियौं । उहाँले हामीलाई स्क्वास खेल्ने ठाउँमा लग्नु भयो,’ विपना र अमिरले विगत सम्झिए, ‘त्यसपछि हामी स्क्वास खेल्न थाल्यौं । हामीलाई खेल्न चाहिने सामग्री पनि उहाँले नै किनिदिनु भयो । उहाँकै पहलमा हामी स्क्वास संघसँग पनि जोडिन पुग्यौं ।’
त्यसअघि विपना र अमिरले न शेरचनलाई चिनेका थिए, न त स्क्वास खेलेको बारेमै सुनेका थिए । त्यसैले यी दिदी–भाइ शेरचनलाई अहिले पनि आफ्नो ‘गड फादर’ मान्छन् ।
‘उहाँले हामी सबै केटाकेटीलाई छोराछोरीजस्तै माया गर्नु हुन्थ्यो । विस्तारै अरु केटाकेटीले खेल छाडे । तर, हामी दिदी–भाइ आजसम्म निरन्तर यही खेलमा आफ्नो भविष्य खोजिरहेका छौं,’ ब्ह्लोन दिदी–भाइ एकै स्वरमा भन्छन्, ‘आजसम्म पनि उहाँले हामीलाई सहयोग गरिरहनु भएको छ, आफ्नै पिताले जस्तै ।’
त्यसपछि सुरु भयो ब्ह्लोन दिदी–भाइको खेलयात्रा । ५–६ कक्षामा पढ्दादेखि उनीहरुले पहिलो पटक स्क्वासको र्याकेट समाएका थिए । आज उमेरले २३–२४ वर्ष पुगिसक्दा पनि उनीहरु स्क्वास खेलमै एकहोरिएका छन्, छुट्टै परिचय स्थापित गराउने लक्ष्यसहित ।
यो अभियानमा उनीहरुले आफ्नी आमाबाट पनि गतिलो साथ र समर्थन पाएका छन् । ‘परिवारको साथ नपाएको भए अहिलेसम्म यो खेलमा लागिरहन सम्भव थिएन । हामीलाई अहिलेको स्थितिसम्म पुर्याउन धेरैले सहयोग गुर्नभएको छ,’ नेपालकी नम्बर एक वरियताकी खेलाडी विपना भन्छिन् । उनी वर्तमान नेपाल च्याम्पियन पनि हुन् ।
स्क्वास एकेडेमीमा तिखारिएको प्रतिभा
ब्ह्लोन दिदी–भाइले सातदोबाटोस्थित एकेडेमीमै स्क्वासको कखरा सिकेका हुन् । उनीहरुलाई स्क्वासको र्याकेट समाउनदेखि दक्ष खेलाडी बनाउनसम्म प्रशिक्षक हिराबहादुर थापाले ठूलो योगदान गरे । आफ्ना छोरा–छोरी अमृत र कृष्णासँगै हिराबहादुर ब्ह्लोन दिदी–भाइजस्ता थुप्रै खेलाडीलाई स्क्वासको कला सिकाउँथे ।
लामो समय नेपाली स्क्वासमा एकछत्र राज गरेका हिराबहादुर पछिल्लो समय प्रशिक्षकको भूमिकामा प्रतिभाशाली खेलाडी उत्पादन गर्न तल्लिन छन् ।
हिराबहादुरकै प्रशिक्षणमा तिखारिएका ब्ह्लोन दिदी–भाइले पहिले स्थानीय स्तरका प्रतियोगिता खेले । त्यसपछि जुनियर लेभलका प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आफूलाई कुशल राष्ट्रिय खेलाडीका रुपमा स्थापित गराए ।
‘सुरुमा उमेर समूहका प्रतियोगिता खेलियो । त्यसपछि लुम्बिनी च्याम्पियनसिप र राखेप च्याम्पियनसिप खेलेँ । पछि त वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएँ,’ विपना भन्छिन् । पीआरसी प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पाएको क्षण पनि उनले अझै भुलेकी छैनन् ।
आफूले वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौंदेखि नवौं संस्करणसम्म खेलेको उनी बताउँछिन् । जसमा उनले एकलतर्फ कांस्य पदक जितेकी थिइन् । वृहत् राष्ट्रिय खेलकुदमा ब्ह्लोन दिदी–भाइले टिम स्पर्धातर्फ पनि पदक जितेका छन् ।
यसै गरी, विपनाले हालसम्म दक्षिण एसियाली खेलकुदको दुईवटा संस्करणमा पनि सहभागिता जनाएकी छन् । सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा नेपालले कांस्य पदक जित्दा विपना टोलीको सदस्य थिइन् । त्यतिबेला उनी केवल १७ वर्षकी थिइन् ।
१२औं दक्षिण एसियाली खेलकुदमा उनको जीवनसँग जोडिएको अर्को रमाइलो पक्ष पनि छ । विपना र अमिरकी कान्छी बहिनी हुन्, सपना ब्ह्लोन । उनी पनि स्क्वास खेलाडी नै हुन् । त्यतिबेला दक्षिण एसियाली खेलकुदका लागि सपना पनि क्लोज क्याम्पमा परेकी थिइन् । उनले प्रतियोगिताका लागि राम्रो तयारी पनि गरेकी थिइन् । तर, उमेर कम भएकाले अन्तिम समयमा आएर उनले प्रतियोगिता खेल्ने अवसर भने पाइनन् ।
त्यसअघि विपना र अमिरकी वहिनी सपना जनियरतर्फ यू–१५ स्पर्धामा च्याम्पियन पनि बनेकी थिइन् । तर, दक्षिण एसियाली खेलकुद खेल्न नपाएपछि उनले विस्तारै आफूलाई खेलबाट अध्ययनतर्फ केन्द्रित गर्दै लगिन् । ‘सपनाले खेलभन्दा अध्ययनलाई नै प्राथमिकता दिइन् । अहिले उनी नर्सिङ पढ्दैछिन् ।’
यसै गरी, सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली महिला टोलीले कांस्य पदक जित्दा उनी टोलकी सदस्य थिइन् । त्यो प्रतियोगितामा कांस्य पदक जित्ने महिला टोलीमा विपनाका अतिरिक्त कृष्णा थापा, भावना सुनुवार र स्वस्थानी श्रेष्ठ पनि थिए ।
अमिरले पनि १३औं दक्षिण एसियाली खेलकुदको पुरुष टिम स्पर्धामा कांस्य पदक जितेका थिए । पदक विजेता नेपाली टोलीमा अमेरिका अतिरिक्त अरहन्त, अमृत र दीपक थापा पनि रहेका थिए । अमिर हाल नेपालको तेस्रो वरियताप्राप्त खेलाडी हुन् ।
‘सपना त महत्वाकांक्षी नै देख्नुपर्छ’
विपना र अमिर एसियाली खेलकुदका लागि पहिलो पटक छनोट भएका हुन् । नेपालले एसियाली खेलकुदको महिला स्क्वासमै पहिलो पटक सहभागिता जनाउन लागेको हो । विपना र अमिर छनोट प्रतियोगितामा देशभरका दिग्गज खेलाडीलाई पाखा लगाउँदै एसियाडमा छानिएका हुन् ।
‘एसियाली खेलकुदको छनोटअघि र्याङ्किङ प्रतियोगिता आयोजना गरिएको थियो, त्यसमा म तेस्रो भएको थिएँ । त्यसपछि एसियाली खेलकुदको छनोटमा पनि म तेस्रो भएँ । पहिलो पटक एसियाडजस्तो ठूलो प्रतियोगिता खेल्न पाउँदा निकै उत्साही छु,’ अमिर भन्छन् ।
विगतको तुलनामा यसपटक एसियाली खेलकुदका लागि स्क्वासले राम्रो तयारी गरेको ब्ह्लोन दिदी–भाइ बताउँछन् । ‘नवौं राष्ट्रिय खेलकुद सुरु हुनुअघि नै हामीले तयारी थालेका थियौं । नवौं सकिएपछि पनि हामीले तयारीलाई निरन्तरता दियौं । समग्रमा एक वर्षभन्दा बढी समयदेखि हामी निरन्तर अभ्यास गरिरहेका छौं,’ विपना भन्छिन् ।
एसियाली खेलकुदमा यस पटक नेपाली खेलाडीले विगतको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अमिर बताउँछन् । उनी भन्छन्, ‘एसियाडमा विश्व स्तरका खेलाडीहरुको सहभागिता रहन्छ । उनीहरुले प्रतियोगिताका लागि निकै स्तरीय तयारी गरेका हुन्छन् । तर, यस पटक आफूभन्दा जतिसुकै बलिया खेलाडी भए पनि नेपाली खेलाडीले उनीहरुलाई गतिलो चुनौती दिनेमा म विश्वस्त छु ।’
ब्ह्लोन परिवारमा विपना, अमिर र सपनाका अतिरिक्त अर्का एक स्क्वास खेलाडी पनि छन् । उनी हुन्, पासाङ ब्ह्लोन । ब्ह्लोन दिदी–भाइको काकाको छोरा हुन्, पासाङ । उनी अहिले यू–१९ उमेर समूहका च्याम्पियन हुन् । पासाङ सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्छन् । बुवाको निधन भएको र आमा पनि साथमा नरहेकाले पासाङलाई सानैदेखि विपना र अमिरकै आमाले हुर्काएकी हुन् । त्यसैले, अहिले ब्ह्लोन परिवारमा चारजना प्रतिभाशाली स्क्वास खेलाडी छन् ।
पछिल्लो समय एसियाली खेलकुदको तयारीमा एकहोरिएका ब्ह्लोन दिदी–भाइले भविष्यका लागि देखेको सपना पनि एकै प्रकारको छ । ‘दक्षिण एसियाली प्रतियोगितामा पनि नेपालले हालसम्म स्क्वासको एकल स्पर्धामा स्वर्ण पदक जित्न सकेको छैन । त्यसैले, पदकको यो खडेरी टार्ने लक्ष्य लिएकी छु,’ विपनाले आफ्नो सपना सुनाइन् ।
विपनाभन्दा थोरै कान्छा अमिर भने भविष्यमा दक्षिण एसियाली आकाश छिचोलेर अझ अगाडि बढ्न चाहन्छन् । भन्छन्, ‘कुनै पनि क्षेत्रमा सफल हुन लक्ष्य चाहिन्छ । लक्ष्य बिना कोही पनि अगाडि बढ्न सक्दैन । एउटा खेलाडीले पनि महत्वाकांक्षी सपना देख्नुपर्छ । मैले पनि दक्षिण एसियालीभन्दा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक चुम्ने सपना देखेको छु ।’
आर्थिक समस्याले लक्ष्य बिथोल्ने त्रास !
यतिबेलासम्म आर्थिक समस्याले खासै गाँजेको थिएन, विपना र अमिरलाई । तर, उमेर बढ्दै गयो । जिम्मेवारी पनि थपिँदै गयो । विस्तारै आर्थिक समस्या उनीहरुका अगाडि पनि चुनौतीको पहाड बनेर उभिन आइपुगेको छ ।
ठूलो प्रतियोगितामा सहभागिता जनाउँदा पाउने दैनिक भत्तावाहेक खेलकुद क्षेत्रमा लागेर आर्थिक आर्जन गर्ने अर्को कुनै बाटो छैन । ठूला प्रतियोगिता सकिएपछि त्यो भत्ता पनि प्राप्त हुँदैन । ठूला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा पुरस्कार दिने घोषणा गरिन्छ । तर, कतिपय निकायले दिने भनेर घोषणा गरेको पुरस्कार रकम पनि समयमा प्राप्त हुँदैन ।
‘विस्तारै आर्थिक समस्याले पिरोल्न थालेको छ । वागमती प्रदेशले वृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने आफ्नो प्रदेशका खेलाडीलाई ६ हजार रुपैयाँ मासिक पुरस्कार दिने घोषणा गरेको समाचार आएको थियो । त्यो पुरस्कारको विषयमा पनि अन्यौल छ,’ विपना भन्छिन् ।
पछिल्लो समय आर्थिक समस्याकै कारण नेपाली खेलाडीहरु विदेश पलायन हुने समस्या पनि बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरु नै सुखद भविष्यको सपना देख्दै धमाधम विदेश पलायन भइरहेका छन् ।
आखिर आर्थिक समस्यातर्फ कहिलेसम्म आँखा चिम्लने त ? स्पष्ट जवाफ छैन, अमिरसँग पनि । ‘खै के भन्ने ! पहिले त यो विषयमा हामीले चिन्ता लिनु पर्थेन । तर, अब आर्थिक समस्याकै कारण आफ्नो लक्ष्य बिथोलिने हो कि भन्ने लाग्न थालेको छ,’ अमिर भन्छन् ।
महँगो खेलमा पर्छ स्क्वास
एकातिर खेलाडीसँग नियमित आयस्रोतको कुनै माध्यम हुँदैन । अधिकांश खेलाडीको आर्थिक अवस्था कमजोर हुन्छ । क्रिकेट र फुटबल खेललाई अपवाद मान्ने हो भने विभिन्न ठूला प्रतियोगिता आयोजना हुँदा पाउने दैनिक भत्ता नै खेलाडीको हातमा पर्ने रकम हो ।
त्यसैले, अधिकांश खेलाडीसँग नियमित अभ्यासका लागि ब्यक्तिगत रुपमा खेलकुद सामग्री किन्नसमेत पैसा हुँदैन ।
त्यसमाथि विश्वकै महँगो खेलमध्ये पर्छ, स्क्वास पनि । विपनाका अनुसार, स्क्वासको एउटा सामान्य र्याकेट किन्न नै २० देखि २५ हजार रुपैयाँसम्म पर्छ । यसै गरी, स्क्वास खेल्न विशेष प्रकारको जुत्ता आवश्यक पर्छ । एउटा जुत्ताको मूल्य १० हजार रुपैयाँसम्म पर्छ ।
आम्दानीको कुनै नियमित स्रोत नभएका हामी अधिकांश खेलाडीका लागि यी सबै जुटाउन हम्मे हम्मे रहेको अमिर सुनाउँछन् ।
‘खेलाडीलाई आफैसँग राखेर तयारी गराउँदै छु’
एसियाली खेलकुदमा सहभागी हुने स्क्वास टोलीका प्रशिक्षक हुन्, हिराबहादुर थापा । उनी खेलाडी हुँदै प्रशिक्षकको जिम्मेवारीमा छन् । २०४६ सालबाट खेलजीवन सुरु गरेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दूर्लभ कीर्तिमान बनाएका थिए ।
आफ्नो २७ वर्ष लामो खेलाडी जीवनमा पूर्णविराम लगाउनुअघि उनले दक्षिण एसियाली खेलकुदमा समेत पदक जित्न भ्याएका थिए । आफू खेलाडी हुँदा उनले आफ्नो छेउछाउसम्म कसैलाई ढिम्किन दिएनन् । खेलाडी जीवनबाट सन्न्यास लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भए । एसियाली खेलकुदमा सहभागी हुने स्क्वास खेलाडीलाई उनले नै प्रशिक्षण दिँदै आएका छन् ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा अगाडिदेखि नै हाम्रा खेलाडीहरु निरन्तर प्रशिक्षणमा छन् । एक वर्ष लामो तयारीका कारण खेलाडीको क्षमतामा पनि निखार आएको छ,’ उनी भन्छन् ।
उनका अनुसार एसियाडमा छनोट भएका तीन महिला र दुई पुरुष गरी पाँच खेलाडी अहिले नेपालमै तयारी गरिरहेका छन् । अमृत भने विगत केही समयदेखि इटालीमा प्रशिक्षण गरिरहेका छन् । उनी आफ्नै पहलमा प्रशिक्षण लिन इटाली गएका हुन् ।
‘अहिले दिनको दुई पटक खेलाडीलाई प्रशिक्षण गराइन्छ । यस क्रममा खेलाडीहरुबीच नै प्रतिस्पर्धा पनि गराइन्छ । एसियाडका लागि छनोट भएका खेलाडीहरु मेरो प्रत्यक्ष रेखदेखमा सातदोबाटोस्थित एकेडेमीमै बस्छन् । उनीहरुको खानपिन र स्वास्थ्यलाई पनि विशेष ध्यान दिइएको छ,’ प्रशिक्षक थापाले रातोपाटीसँग भने ।
खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा छलफल भए पनि आर्थिक समस्याका कारण सम्भव हुन नसकेको जानकारी उनले दिए । ‘आर्थिक समस्याका कारण खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउन सकिएन । तर, अगस्तको अन्त्यतिर विदेशबाट लेभल टु प्रशिक्षक आउँदै हुनुहुन्छ । उहाँले सेप्टेम्बर १५ सम्म एसियाडमा छनोट भएका खेलाडीलाई प्रशिक्षण दिनु हुनेछ । त्यो प्रशिक्षणले पनि हाम्रा खेलाडीको प्रदर्शनमा निखार ल्याउने विश्वास लिएका छौं,’ उनी भन्छन् ।
प्रशिक्षणका क्रममा हालसम्म खेलाडीमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि प्रशिक्षक थापाले बताए । एसियामा स्क्वासका हस्ती राष्ट्रहरुको उपस्थिति रहे पनि आफ्ना खेलाडीले उनीहरुलाई गतिलो चुनौती दिनेमा थापा ढुक्क छन् ।
एसियाडका लागि छानिएका स्क्वास खेलाडी
चीनको होङ्झाउमा आयोजना हुने एसियाडका लागि छनोट भएका अन्य खेलाडीमा पुरुषतर्फ अरहन्तकेशर सिंह र महिलातर्फ स्वस्थानी श्रेष्ठ रहेका छन् । एसियाली खेलकुदमा सहभागी हुने स्क्वास टोलीको प्रशिक्षकमा हिराबहादुर थापा र ब्यवस्थापकमा किशोरकुमार महर्जन रहेका छन् ।
प्रतियोगितामा नेपालले एकल, टिम र मिक्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । एकल स्पर्धामा महिलातर्फ विपना र कृष्णा तथा पुरुषतर्फ अमृत र अरहन्तले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनीहरुले टिम स्पर्धामा पनि भीडन्त गर्नेछन् । मिक्स डबल्स स्पर्धामा भने अमिर र स्वस्थानीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध