प्रहरीको लत्ताकपडा ठेक्कामा सक्रिय अग्रवालद्वारा नागरिकता कीर्तेको आशंका
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गरिरहेका ठेकेदार श्रवणकुमार अग्रवालले नक्कली नागरिकता नम्बर प्रयोग गरिरहेको पाइएको छ । प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालले अन्य कुनै व्यक्तिको नागरिकता प्रयोग गरिरहेको पाइएको हो ।
रातोपाटीलाई प्राप्त एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन् । नेपाल प्रहरीको लत्ताकपडा लगायतको ठेक्का प्राप्त गरेपछि कर कार्यालयमा पेस गरिएको कागजातमा अग्रवालले पहिले भारतीय आइडी कार्ड नम्बर उल्लेख गरेका थिए । तर उक्त आइडी कार्ड प्रयोग गर्न नमिल्ने भएपछि उनले आफ्नो नाम लेखेर हस्ताक्षर पनि गरे, तर नागरिकता नम्बर भने अर्कै व्यक्तिको प्रयोग गरेका छन् ।
कर कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को कर चुक्ता प्रमाणपत्र लिने क्रममा क्यामो फ्ल्याग नेपाल प्रालिका सञ्चालक ठेकेदार अग्रवालले आफ्नो नागरिकता नम्बरमा 373022F13-19 भनी उल्लेख गरेका छन् । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय पर्साबाट लिइएको दाबी गरिएको छ र नागरिकता जारी भएको मिति २०६३ चैत २२ गते उल्लेख गरिएको छ ।
हेर्नुहोस्, ठेकेदार श्रवण कुमार अग्रवालले कर कार्यालयमा बुझाउन पठाएका कागजातको फोटो ।
नागरिकता नम्बर नै शङ्कास्पद देखिएपछि रातोपाटीले जिल्ला प्रशासन कार्यालय पर्सामा यस सम्बन्धमा जानकारी माग गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय, पर्साको रेकर्डमा उक्त नागरिकता नम्बर फेला परेको छैन । अग्रवालले आफ्नो नाम र हस्ताक्षर प्रयोग गरे पनि नक्कली नागरिकता बनाएको वा अरू कसैको नागरिकता प्रयोग गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो ।
यस विषयमा कुराकानी गर्न खोज्दा ठेकेदार श्रवण कुमार अग्रवालले प्रयोग गर्ने ९८४१३३xx५१ नम्बरको मोबाइलको स्वीच अफ रहेको पाइएको छ ।
अग्रवालको कम्पनी क्यामो फ्ल्याग नेपाल प्रालिले गत आर्थिक वर्षमा नेपाल प्रहरीका लागि हिमाली पञ्चु, हिमाली ज्याकेट, पार्का ज्याकेट र रुक्सा ब्यागको ठेक्का पाएको थियो ।
त्यसैगरी श्रवण अग्रवाल नै परोक्षरुपमा जोडिएको र धेरैजसो जेभीमा काम गर्ने प्लस पोइण्ट ट्रेडिङले सशस्त्र प्रहरीको रेगुलर चुस्ताको ठेक्का प्राप्त गरेको थियो ।
श्रवण अग्रवाल नै जोडिएको तेजसम ट्रेड इन्टरप्राइजेजले सशस्त्र प्रहरीका लागि जर्सीको टेण्डर पाएको थियो । श्रवण अग्रवालकै एकल स्वामित्व रहेको क्यामो फ्ल्याग नेपाल प्रालिले सशस्त्र प्रहरीका लागि हिमाली चुस्ताको ठेक्का पाएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको चुस्ता, ज्याकेट, स्लिपिङ ब्याग, जर्सी लगायतका सामाग्रीमा आफू अनुकूलको स्पेशीफिकेसन तयार पारी आफू मात्रै सहभागी हुन पाउने गरी ठेक्का मिलाएको आरोप अग्रवालमाथि लाग्ने गरेको छ ।
अग्रवालसँगै सेटिङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको लत्ताकपडा, चुस्ता, ज्याकेट, जर्सी, पार्का लगायतका सामानको ठेक्कामा सक्रिय प्लस पोइण्ट नेपाल राजश्व अनुसन्धान विभागको छानबिनमा कैफियत देखिएपछि कारबाहीको चरणमा रहेको छ । आन्तरिक राजश्व कार्यालय श्रोतका अनुसार प्यान न्म्बर ३०१५४८६९८ रहेको प्लस पोइण्ट ट्रेडिङले नक्कली भ्याट बिल तयार पारेको भनी छानबिनको क्रममा रहेको छ । नक्कली भ्याट बिल बनाएर राज्यबाट करोडौँ रकम भुक्तानी लिएको कसुरमा उक्त कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको भए पनि प्रहरीको ठेक्कापट्टामा भने उनले सक्रिय सहभागिता जनाइरहेका छन् । यही कम्पनीसँग मिलेर ठेकेदार श्रवण अग्रवालले समेत काम गरिरहेका छन् ।
नक्कली नागरिकता नम्बर प्रयोग गरी प्रहरीको ठेक्कापट्टामा संलग्न श्रवण कुमार अग्रवालले अर्का ठेकेदार टोपेन्द्र बिसीसँग मिलेर समेत प्रहरीको ठेक्कापट्टा हत्याइरहेका छन् । काँग्रेस नेता पूर्ण बहादुर खड्काको ज्वाइँ भन्दै टोपेन्द्र बिसी संलग्न रहेको तेजसम ट्रेड इन्टरप्राइजेजले प्रहरीको लत्ताकपडा, स्लिपिङ ब्याग, रुक्सा ब्याग आदिको ठेक्का विगत लामो समयदेखि लिइरहेको छ ।
नेपाल टेलिकममा छैटौँ तहमा कार्यरत टोपेन्द्र बिसी कार्यालयमा हाजिर गर्ने र ठेक्कापट्टामा निस्कने गरेका छन् । रातोपाटीलाई प्राप्त बिसीको गत वैशाखदेखिको हाजिरीमा उनी सामान्यतः बिहान ७ बजे कार्यालयमा आएर हाजिर गर्ने गरेको देखिएको छ । यद्यपि उनलाई कुनै खास जिम्मेवारी दिइएको भने पाइएको छैन ।
टोपेन्द्र बिसी नेपाल टेलिकमको कर्मचारी भए पनि ठेक्कापट्टामा आफैँ उपस्थित भएर सहभागी हुन पाउँदैनन् । टोपेन्द्र बिसी ठेक्कामा सहभागी हुने तेजसम ट्रेड इन्टरप्राइजेज सुजाता खड्काको नाममा दर्ता छ । आर्थिक वर्ष २०६६ माघ ७ गते वाणिज्य विभागमा दर्ता भएको कम्पनीको सुरुको पुँजी ३० लाख रुपैयाँको थियो । तर २०७९ सालमा संशोधन गरी हाल उक्त कम्पनीको चुक्ता पुँजी एक करोड रुपैयाँ पुराइएको छ ।
कम्पनी सुजाताको नाममा दर्ता भए पनि उनी पेसाले स्वास्थ्यकर्मी हुन् । ठेक्कापट्टाको काम भने टोपेन्द्र बिसीले नै गर्दै आएका छन् । ठेक्कापट्टामा हस्ताक्षर गर्ने र सम्पर्क नम्बर राख्दा पनि टोपेन्द्रले नै राख्ने गरेका छन् ।
श्रवण कुमार अग्रवालकै सक्रियता र योजनामा यी तीन कम्पनीले पालैपालो नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्का हत्याउँदै आएका छन् । तर ठेक्का हात पार्न उनले प्रयोग गरेको नागरिकता नम्बर भने उनको नभएर अरू कसैको प्रयोग गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय