मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : एमाले र माओवादी नेताहरुको जिम्मेवारी हेरफेर, कांग्रेसमा भद्रगोल

सीआईबीले थाल्यो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी
शुक्रबार, ०१ भदौ २०८०, २३ : ०८
शुक्रबार, ०१ भदौ २०८०

आज मिति २०८० साल भदौ महिनाको १ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

एमालेको अपानि
नेकपा एमालेले पार्टीका केही केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६ सदस्य बनाएको छ । 

त्यस्तै एमालेले विभागीय सचिवको जिम्मेवारीबाट डा दीपकप्रकाश भट्ट,सोभियत ढकाललाई बिदा गरेको छ भने केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ । 

नेता गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ । विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएको छ भने नेता झपटबहादुर बोहरा सामाजिक सेवा विभागको प्रमुख बनेका छन् ।

त्यस्तै कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई प्रदेश कमिटीको सिफारिसमा जिम्मेवारीबाट हटाएको एमालेले शाहीको ठाउँमा टेकराज पछाईलाई मनोनयन गरेको छ ।

कांग्रेसमा भद्रगोल
नेपाली कांग्रेसमा संसदीय दलको उपनेता र कार्यसमिति ९ महिनादेखि चयन हुन सकेको छैन । गत पुस ६ मा संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवाले उपनेता र कार्यसमिति चयनको विषयलाई प्राथमिकता दिन नसकेका हुन् ।

कोशी प्रदेशसभा समाचार
कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात् उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे ।
नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५–७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो छैन । ५–७ महिना होला,’ उनले भने ।

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन र प्रदेशसभा अन्तर्गतका संसदीय समितिका सभापति चयन गर्न सकस परेको छ । सरकारलाई पूर्णता दिन र प्रदेशसभाको विषयगत समितिका सभापति चयनमा ढिलाइ हुँदा कार्यपालिका र व्यवस्थिका दुवैको भूमिका कमजोर बनेको छ ।

ललिता निवास प्रकरणमा सीआईबी 
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । तर, मुद्दा बुझाउनुअघि प्रहरीले पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र बाबुराम भट्टराईको ‘बयान कागज’ नगर्ने भएको छ ।

माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ ।  पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी)  लाई थप गरिएको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । यससहित कार्यविभाजन हेरफेरबारे माओवादीले मातहतका कमिटीमा सर्कुलर पठाएको छ । 

राष्ट्र बैंकको रिपोर्ट
नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ ।  शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।

व्यवसायीहरुले सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सभामुखको भनाइ 
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को गतिरोध अन्त्य गर्न नसकिने बताएका छन् । काभ्रेको धुलीखेलमा शुक्रबार संघीय संसद् सचिवालयले गरेको ‘संसद् सञ्चार सम्बन्ध’ विषयक कार्यक्रम बोल्दै सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको बताए ।

रास्वपा बैठकको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ १५ भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छ । भदौ १५ भित्र सकारका कामको समीक्षा र पार्टीका सांगठनिक एजेन्डाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए ।

जनता समाजवादी पार्टी नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान कायम राखेको छ ।

यो पनि...
चितवनबाट एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई  बिहीबार राति पक्राउ गरेको हो ।

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।

बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । सो कार्यक्रमअन्तर्र्गत शुक्रबार पहिलो समूह नेपाल आएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चालु आवको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप