संसद्को आयु छिटै सकिने ‘भय’
विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात् उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे ।
नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला,’ उनले भने ।
सांसद राना मगरले थपे, ‘यो प्रदेशको स्थायित्वतर्फ गम्भीर ध्यान दिन सकिएन भने हाम्रो आयुमात्रै होइन, प्रदेश संरचनाकै आयु लामो छैन ।’
उनले मात्रै होइन, प्रदेशसभामा अध्यादेशबाट बजेट अस्वीकृत गरियोस् भन्ने प्रस्ताव फिर्ता लिन पुगेका कांग्रेसका सांसद भूपेन्द्र राईले पनि त्यही संकेत गरे । ‘म सबैलाई अनुरोध गर्न चाहन्छु । अब हामीले प्रदेशको जिम्मेवारी निर्वाह गर्दै गर्दा जति जबरजस्ती ग¥यौँ–ग¥यौँ । अब नगरौँ । अब यहाँभित्र ख्याल ठट्टा गर्ने विषयहरु बाँकी रहेन । त्यो न सत्तापक्षलाई, न प्रतिपक्षलाई मौका छ,’ उनले भने, ‘अब ख्याल ठट्टा गर्नु भनेको र जबरजस्ती गर्नु भनेको प्रदेशसभाको काल निम्त्याउनुमात्रै हो । प्रदेशसभाको अन्त्य गर्न खोज्नु मात्रै हो ।’
उनले सबै जिम्मेवार भएको खण्डमा मात्रै प्रदेशसभाले ५ वर्षको पूरा अवधि बिताउन पाउने पनि बताए । ‘अब सत्तापक्ष पनि र प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । त्यसो भयो भने मात्रै प्रदेशसभालाई ५ वर्ष पूरा आयु लम्ब्याउन सक्छौँ । र, नागरिकले चाहेको समृद्धि दिन कोसिस गर्न सक्छौँ,’ उनले भने ।
दुवै सांसदको कुरालाई संकेत गर्दै मुख्यमन्त्री उद्धव थापाले पनि यस्तै भयको संकेत गरे । ‘उहाँहरुबाट पनि स्पष्ट कुरा आएको छ । प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने उहाँहरुको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा हो,’ उनले प्रतिपक्षी दल एमालेतिर संकेत गर्दै भने, ‘यदि त्यो गर्न सकेनौँ भने प्रदेशका माननीयहरुको आयु घट्ने देखिन्छ ।’
दल, सांसद र मुख्यमन्त्रीसम्मले प्रदेशसभाको आयुको विषयमा कुरा गरिरहँदा उनीहरुमा गम्भीरता भन्दा ‘देखावटी भय’ सिर्जना गरेर सत्ता टिकाउने दाउ देखिन्छ । यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि विश्वासको मत लिने सन्दर्भमा यस्तै ‘भय’को कुरा गरेका थिए ।
कार्कीले आफूलाई विश्वासको मत दिए त्यो संकट टर्न सक्ने बताएका थिए । तर, उनले विश्वासको मत पाएनन् । अहिले गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका थापालाई पनि विश्वासको मत लिनुपर्ने आवश्यकता छ । त्यसैले पनि विपक्षीले सहयोग गरे वा विश्वासको मत दिए प्रदेशसभाको कार्यकाल पूरा हुने तर्क सत्ता पक्षबाट आउनु अस्वाभाविक होइन ।
साँच्चै प्रदेशसभा विघटनको डिलमा नभएको भने होइन । किनकि प्रदेशसभामा सत्ता गठबन्धन र विपक्षी गठबन्धनको अंकगणित नै तरल छ । कोशी प्रदेशमा सत्ता गठबन्धन र विपक्षीले एक अर्काको सम्भावित कदमलाई लिएर काउन्टर जवाफ दिने तयारीमा छन् ।
विपक्षी एमाले उपसभामुखलाई राजीनामा गराएर प्रदेशसभाको अध्यक्षता सत्तापक्षलाई नै जिम्मा दिने दाउमा छ । सत्तापक्ष भने उक्त जिम्मेवारी पन्छाउने उपायको खोजीमा छ । सोही उपाय अनुसार गठबन्धनले कांग्रेस सांसद तथा प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिसकेको छ । त्यसो हुँदा पनि एमालेले आफ्ना ज्येष्ठ सदस्यजति सबै सांसदलाई अनुपस्थित गराउने रणनीति बनाएको स्रोतको दाबी छ ।
कोशी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनले उद्धव थापाको नेतृत्वमा सरकार बनाएको छ । उक्त सरकारले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष सत्ता गठबन्धनले गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत सांसद (४७) पु¥याउन १ सांसद अभाव देखिन्छ । यही रस्साकस्सीले प्रदेशसभाको आयु छोटिनसक्नेतर्फ दल तथा सांसदहरु जानकार भए पनि गम्भीरताका साथ त्यसलाई छल्न छलफलमा भने जुटेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो