कोशी प्रदेशसभा बैठक : भ्रष्टाचारको विषयमा छानबिन गर्न माग
विराटनगर । कोशी प्रदेशसभाका सदस्य गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेका छन् । प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताविरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने बताए ।
‘प्रदेशमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा पनि भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गर्न माग गर्दछु,’ उनले भने । उनले पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेको र सरकार परिवर्तनसँगै त्यो समिति पनि निष्क्रिय भएको अवस्थामा अहिलेको सरकारले वार्ता समिति बनाउन किन ढिला गरेको भन्ने प्रश्नसमेत गरे ।
‘कांग्रेसका १४ वटै जिल्ला सभापतिले नामकरणको सवालमा पुनर्विचार गर्न माग गरेको र माओवादी केन्द्रले पनि प्रदेश समिति, केन्द्रको बैठकले पनि बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने निर्णय गरिसकेको हुँदा सोही अनुसार वार्तासमिति बनाएर छलफल अगाडि बढाउनु पर्दछ,’ शेर्पाले भने ।
सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ भवन बन्न नपाइ भत्किएको, बालरोग विशेषज्ञ नरहेको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे । उनले कर्मचारीको अभाव पनि रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद खगेनसिंह हाङ्गामले भूमिहीन र सुकुमवासीहरु वनको जग्गामा बसिरहेको हुँदा ऐन संशोधन गरेर उनीहरुलाई जग्गाको व्यवस्था गर्न माग गरे ।
सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने, विस्थापितको व्यवस्थापन गर्नुपर्ने, सम्भावित खाद्यान्न अभावको अवस्थालाई टार्न उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।
सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र उपचारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । उनले बराहक्षेत्रमा रहेको बाघखोलामा पुल नभएको भन्दै जनताले सास्ती भोग्नु परेको बताइन् ।
सांसद रमेशकुमार बस्नेतले पनि धरानमा डेंगु नियन्त्रण बाहिर गइसकेको भन्दै १२ हजार बढीमा डेंगु देखिएको र धरानका विद्यालय बन्द भएको, कार्यालय बन्द भएको अवस्था रहेको जानकारी दिए । उनले धरानलाई जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरियोस् भनेर संघीय सरकारलाई पत्र पठाउँदा पनि तीनै तहको सरकारले बेवास्ता गरिरहेको बताए । धरानमा एकीकृत र समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी बेपत्ता भएका १८ जनालाई मृतक घोषणा गर्न माग गरे । उनले बाढी पहिरोले सडकका पुल, विद्युत गृहमा ठूलो क्षति भएको, मानिसहरु विस्थापित भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न माग गरे ।
यस्तै संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानबिन गरी कारबाहीको मागसमेत उनले गरे । सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले ४३ घर परिवार बिचल्ली बनाएको बताए । उनले उनीहरुको पुनःस्थापनाका लागि भारतसँग वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।
आफ्नो क्षेत्रमा पनि ८० प्रतिशतभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएको भन्दै उनले नियन्त्रणको पहल गर्न माग गरे । यस्तै सांसदहरु सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्य समयमा विभिन्न विषय उठान गरेका थिए ।