मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिन संसद सचिवालयमा दिए निवेदन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । शुक्रबार थापाले संसद सचिवालयमा निवेदन दिएका हुन् ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०–०५–०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,’ थापाले दिएको निवेदनमा उल्लेख छ ।
थापाले आज अपरान्ह सचिवालयमा निवेदन दिएका हुन् । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
सभाको बैठक आज बस्दै
कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईएको बैठकको तीनवटा कार्यसूची निर्धारण गरिएको छ ।
जसमा निर्वतमान सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन हुने र प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत’ गर्ने सम्बन्धमा परेको सूचनामा छलफल भई अध्यादेश सम्बन्धमा निर्णय हुने रहेका छन् ।
प्रदेशसभाको बैठक गत असार १५ गते स्थगित भएको थियो ।