अस्पतालको शय्यामा रहेका बुवालाई मन्त्री किराती भन्छन्, ‘बुवा, म गएँ है ?’
‘बुवा, म गएँ है ?’
बुवा केही बोलेनन् ।
‘कि म बस्नुपर्छ ?’
फेरि पनि बुवाले बालसुलभ प्रकट गर्नुबाहेक केहीबेर छोराको अनुहार नियालिरहे । सायद बुवाले ‘बस्’ भन्न चाहन्थे । चाहना राखेर पो के गर्नु ? उनलाई थाहा छ कि छोरो अस्पतालको शय्यामा आफूलाई कुरेर बस्न भ्याउँदैन ।
आँखाभरि आँसु बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छिनमै सम्हालिए । मनमा आगो दन्किए पनि उनले हामी सहयोगीका सामु आफू ठिकठाक रहेको देखाउनु नै थियो । यो दृश्य नर्भिक अस्पतालको बेडको हो । राजनीतिक अभियानमा हिँडेका एक अभियन्ताले यस्ता धेरै पारिवारिक र व्यक्तिगत उल्झन भत्काएरै यहाँसम्म आएका हुन्छन् ।
मन्त्री सुदन किराती तिनै हुन्, जो युद्धमा लामो समय जेलजीवन बिताएर घर पुगे, तर तुरुन्तै पार्टी अभियानमा लाग्नुपर्ने भयो । झोला बोकेर हिँड्ने बेला ज्यान फालेरै बलेसीमा तगारो बनेर लडेकी आमालाई पन्साए, आफू अभियानमा हिँड्ने साहस गरे । उतिबेला उनले आमालाई भनेका हुन्, ‘आमा ! हामीले अझै युद्ध जितिसकेका छैनौँ । तपाईँजस्तै आमाका हजारौँ छोराछोरीले यो आन्दोलनमा ज्यान गुमाइसकेका छन् । कैयौँ बेपत्ता छन् । तपाईँजस्तै आमाहरूले युद्धका बेला मलाई आफ्नो घरमा बास दिएका छन् । उनीहरूले आफ्नो भाग काटेर गाँस दिएका छन् । त्यो यो आन्दोलनका लागि र मेरो जीवनका लागि पनि रिन हो । मैले त्यो रिन चुक्ता गर्नैपर्छ ।’
‘तैँले युद्ध जितेर के गर्छस् ?’ ऊ बेला आमाले सोधेकी थिइन् ।
किरातीसँग केही जवाफ थिएन । केवल आमालाई जसरी हुन्छ मनाएर हिँड्नु थियो । उनले आमालाई फकाएका थिए, ‘पारि हेर्नुस् त, त्यो देखिएको टेम्केको डाँडा ! हो, त्यही टेम्केको काख पाँचधारेमा झिलिमिली सहर बनाउँछु ।’
आमालाई यसरी फकाएर हिँडेका उनै सुदन किराती पहिलो संविधानसभा सदस्यमा निर्वाचित भए । आमा भने त्यसको केही समयपछि नै बित्नुभयो । आमा बित्नुको कारण यही थियो, जनयुद्धमा लागेको छोराको पीरमा उनले प्रशस्त मदिरा सेवन गरिन् ।
कैयौँपटक परिवारलाई यस्तै ढाडस दिएर पारिवारिक ममता, अभिभावकका सपनाहरूको दाहसंस्कार गरेर योद्धाहरू सामाजिक रूपान्तरणमा हिँडेका हुन्छन् । राजनीतिमा मात्रै होइन, हरेक सिर्जनशील व्यक्तित्वले यो दशा भोगेर आएका हुन्छन् । मन्त्री किराती पनि भोगाइका यिनै आरोह–अवरोहका द्योतक हुन् ।
अवकाशप्राप्त बेलायती सैनिक हुन्, मन्त्री किरातीका बुवा । विगत १४ वर्षदेखि ‘प्यारालाइसिस’का कारण चल्न–चलबलाउन सक्दैनन् । यो १४ वर्षको दौरानमा नदीहरूमा धेरै पानी बगेसरि मन्त्री किरातीको जीवनमा पनि थुप्रै उतारचढाव आइसकेका छन् — आमालाई गुमाउनु, योबीचमा तीनपटक निर्वाचन लडिसकेका उनले एक निर्वाचनमा हार बेहोर्नु । पहिलो संविधानसभा विघटनपश्चात् ०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन नजिकिँदै थियो । माओवादी पार्टी औपचारिक रूपमा विभाजन हुनु मात्र बाँकी थियो । वैशाख २७ गते हालका सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायिका रेजिना रिमाल लगायतको उपस्थितिमा घोरेटारमा साङ्गीतिक कार्यक्रम आयोजना गरिँदै थियो । त्यसको तयारीका लागि कमरेड वसन्त र म भोजपुरबाट ओख्रे हुँदै घोरेटार जाँदै थियौँ । धोद्लेखानी पुगेपछि मन्त्री किरातीका बुवाले वसन्तजीलाई फोन गरे । त्यतिबेला उनी बेलायतमै थिए । ‘बेडरेस्ट’मा भए पनि उनी प्रस्ट बोल्न सक्थे । उनले फोनमा भने, ‘वसन्त ! सुदनलाई सहयोग गर्नू ! फेरि चुनाव आउन लागेछ ।’
कहिल्यै हिँडडुल गर्न नसक्ने गरी ओछ्यान परेका दीर्घ रोगी बुवाले छोराको राजनीतिक भविष्यका लागि बेलायतबाट चिन्ता गर्थे । भलै, दोस्रो संविधानसभा निर्वाचनमा किरातीले पराजय बेहोर्नुप¥यो । पछि ०७४ सालमा वाम–गठबन्धनबाट निर्वाचन जितेपछि संसद् भवनको दोस्रो यात्रा तय गरेका किरातीले बुवालाई बेलायतबाट नेपाल ल्याएर काठमाडौँमा आफूसँगै राखेका छन् । काठमाडौँ हुँदाका समय आफैँले नुहाइधुवाइ गरिदिनेदेखि अस्पतालसम्म लगेर उपचार गराउँछन् । जिल्ला जाने अघिल्लो दिन बुवासँग बिदा माग्थे । त्यतिबेला बुवाले छोरालाई भन्थे, ‘प्रधानमन्त्री बन्छु भन्थिस्, खै त मन्त्री पनि हुँदैनस् कि क्या हो ?’
युद्धका बेला सिराहा जेलमा रहँदा भेट्न पुगेका बुवाले जेलमा छोराको अवस्था देखेर ‘लाहुर पनि गइनस्, यो के गरिस् तैँले ? आइडी थियो, युके पनि गइनस् ?’ भनेर सोधेका थिए ।
‘बुवा ! चिन्ता नगर्नुस् । तपाईं त साहसी मान्छे, युद्ध लडेको मान्छे हो । म त्यो साहसी बाउको छोरा हँु ।’
‘क्रान्ति गरेर के के न गर्छस्, के के न बन्छस् भनेको, यो गतिको भइस्,’ बुवासँगको संवाद किरातीको संस्मरणमा ताजै छन् ।
बुवासँग मन्त्री किरातीका अनेकौँ अविस्मरणीय क्षण छन् । बुवा सिकिस्त बिरामी रहेकाले अहिले बुवासँगका ती क्षण समय सान्दर्भिक मिलाएर आफ्नो मन्तव्यमा राख्ने गरेका छन् । मन्त्री किरातीका अनुसार, बुवाले छोराछोरीका निम्ति साह्रै धेरै दुःख गर्न सक्ने हुन् ।
बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म काममै व्यस्त हुन्छौँ । फर्कने बेला बुवालाई वीर अस्पतालको आइसीयू कक्षामा भेटेर फर्कन्छौँ । दिनभरिको थकित शरीरलाई गाडीको सिटमा बल्ड्याङ्ङ छाडेर मन्त्रीले यति भन्नुहुन्छ, ‘बुढाले छोराछोरीका लागि भनेपछि हदैसम्म गर्थे ।’
भर्खरै पनि बुवा अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्ट २४ गते झापा, मोरङ, सुनसरी, धनकुटा हुँदै भोजपुरसम्मको यात्रा तय भयो । मन्त्रीज्यूको टोलीमा म लगायत आर्मीका जमदार जीवन पोखरेल, प्रहरीका असई हरिनारायण श्रेष्ठ थियौँ । गृह जिल्लासहित पाँच जिल्लाको तीनदिने भ्रमणमा ३० भन्दा बढी कार्यक्रमका सेडुअल थिए । त्यही सेडुअलको तेस्रो दिनको अन्तिम दोस्रो कार्यक्रम थियो — भोजपुर विमानस्थलको टर्मिनल भवनको शिलान्यास । आफूमन्त्री भएपछि गृहजिल्लाका लागि पहिलो कोसेली थियो यो, तर शिलान्यास कार्यक्रमका लागि सदरमुकामस्थित भाडाको कोठाबाट विमानस्थलतर्फ लाग्दै गर्दा काठमाडौँबाट फोन आयो, ‘बुवा एकदमै सिरियस भएर वीर अस्पतालमा भर्ना गरिएको छ । केही बोल्नु हुन्न । लगभग बुवाको यो अन्तिम पनि हुन सक्छ ।’
मैले मन्त्रीज्यूलाई यही कुरा सुनाएँ । कार्यक्रमका लागि प्रदेशसभा सदस्य विनोद बान्तवा, नगरप्रमुख कैलाशकुमार आले, जिल्लास्थित सरकारी अधिकारीहरू एयरपोर्ट पुगिसकेका थिए । शिलान्यासकै लागि नागरिक उड्डयनका महानिर्देशक प्रदीप अधिकारी लगायतको टोली पनि काठमाडौँबाट अघिल्लो दिन नै भोजपुर पुगिसकेका थिए । कार्यक्रम स्थगित गर्न सकिने अवस्था थिएन । हामी गह्रुँगो मन लिएर एयरपोर्ट पुग्यौँ । शिलान्यास कार्यक्रम सकेर अरु कार्यक्रम स्थगन गरी त्यही दिन काठमाडौँ फर्किने निधो भयो । शिलान्यास कार्यक्रममा मन्त्रीज्यूले भोजपुर एयरपोर्ट र नेपाल वायुसेवा निगमसँग आफ्नो र बाउको सम्बन्धबारे समेत बोल्नुभयो । जुन मन्तव्यले सबैलाई भावुक बनायो । मन्तव्य यस्तो थियोः
‘बुवाआमासँगै एकचोटि हामी काठमाडौँबाट भोजपुर आएका थियौँ । पछि बुवा बैंकक जानुभएको थियो । काठमाडौँबाट भोजपुर आउने हुनु भएपछि हामीले बिहानैदेखि प्लेन उडेको हेर्न आकाश हेरिरह्यौँ । चार घन्टा हिँडेर बुवा बेलुका घर आइपुग्नुभयो । गोजीबाट नेपाल एयरलाइन्सको लोगोसहितको चक्लेट सबैलाई बाँडिदिँदै भन्नुभयो — टिप्नुपर्ने त एउटा थियो, मैले तिमीहरूलाई सम्झिएर एक मुठी टिपेँ । आज म यही एयरपोर्टको टर्मिनल भवनको शिलान्यास गर्दै छु । उता बुवालाई भने भेन्टिलेटरमा चढाउन तयारी हुँदै छ ।’
हामी शिलान्यास सकेर रातसाँझ भेडेटार आइपुग्यौँ । २७ गते बिहानको प्लेन चढेर विराटनगर हुँदै हामी काठमाडौँ आइसकेका छौँ । अहिलेसम्म पनि बुवाको स्थिति स्थिर छ । मन्त्रालयको काम र नियमित भेटघाटजस्ता काम नियमित नै छन् । बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म काममै व्यस्त हुन्छौँ । फर्कने बेला बुवालाई वीर अस्पतालको आइसीयू कक्षामा भेटेर फर्कन्छौँ । दिनभरिको थकित शरीरलाई गाडीको सिटमा बल्ड्याङ्ङ छाडेर मन्त्रीले यति भन्नुहुन्छ, ‘बुढाले छोराछोरीका लागि भनेपछि हदैसम्म गर्थे ।’
यो पनि यहाँ उल्लेख गरिहालौँ कि सरकारी निवासमा हामीले भेटघाट गर्ने गरेका छैनौँ । कारण, माफियाको बिगबिगी रहेको यो देशमा सबै राम्रो सोच लिएर भेट्न आएका हुँदैनन् । परिवारमार्फत मन्त्रीलाई प्रभावमा पार्न कोसेलीसहित पनि आउन सक्छन् । त्यही भएर मन्त्रीज्यूको हरेक भेटघाट मन्त्रालयमै हुने गरेको छ । बिहान ७ बजे निवासबाट निस्केर हामी बेलुका १० बजे मात्र निवास फर्कने गरेका छौँ । तसर्थ, निवासमा भेट नदिइएकाप्रति सबैले बुझिदिनु हुन व्यहोरा अनुरोध पनि छ ।
राजन समीप मन्त्री किरातीका प्रेस संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत