मेचीनगरमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।
बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
प्रहरीले किसानको हत्या भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि आज तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो ।
स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको प्रष्ट सङ्केत देखिएको बताए । “शवको घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ”, वडाध्यक्ष धमलाले भने, “हिजो फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । कसैले हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।”
हत्याको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान सुरु गरेको छ । स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन् । त्यसपछि कसले र कसरी हत्या ग¥यो भन्ने केही खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार हिजोदेखि हराइरहेका किसानलाई खोज्ने क्रममा आज बिहान सडकमा चप्पल र रगतको टाटा फेला परेको थियो । त्यसैलाई आधार मानेर पछ्याउँदै जाँदा खेतको पैनीमा झाडीले छोपछाप पारेको अवस्थामा शव फेला परेको थियो ।
वडाध्यक्ष धमलाले गाउँमा मजदुरी गरेर जीवनयापन गर्दै आएका किसान अत्यन्तै सरल, सोझो र इमान्दार रहेको बताए । उनले भने, “उहाँ जस्तो सिधा मान्छेलाई कसले कुन उद्देश्यले मार्यो, अचम्म लागिरहेको छ । प्रहरीले हत्यारा चाँडै पत्ता लगाओस् भन्ने सबैको माग छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते