मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार

बिहीबार, ३२ साउन २०८०, २१ : ५८
बिहीबार, ३२ साउन २०८०

आज मिति २०८० साल साउन महिनाको अन्तिम दिन अर्थात ३२ गते । आज बिहीबार दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ–

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि
सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । 
यही साउन १ गतेदेखि नै लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो ।

कांग्रेससँग नरम एमाले 
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पछिल्लो समय माओवादी केन्द्रसँग आक्रामक र कांग्रेससँग नरम देखिएको छ । एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा दिएको पछिल्ला केही अभिव्यक्तिलाई केलाउँदा पनि एमालेको निसानामा माओवादी बढी र कांग्रेस कम रहेको देखिन्छ ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीचको दुरी बढ्दै गएको छ । 

सन्दीप लामिछाने प्रकरण
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरी र उनको परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइउको भन्दै जन्ममिति यकिन गर्न पुनः कागजात माग गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जन्ममिति यकिन हुनका लागि थप कागजात माग गरेका हुन् ।

सरुवा मापदण्ड
प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड संशोधन गरेको छ । ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी माापदण्ड –२०७९’ लाई संशोधन गरेर नयाँ तयार गरिएको हो । नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरुलाई ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ ।

दोरम्बामा प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।
बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृतिसभा रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विक्रितिको अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए ।

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताइन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिगारेको आरोप लगाएका छन् । 
बिहीबार एमाले मुख्यालयमा ललितपुरका माओवादी कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउँदै पोखरेलले माओवादी वा एकीकृत समाजवादीबाट एमाले आउनेहरुलाई अपमान नगर्ने पनि बताए ।

एमालेद्वारा लेखा समिति बैठक बहिस्कार
नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न सकेन ।

रेशम चौधरीको मुद्दाको पूर्णपाठ
सर्वोच्च अदालतले टीकापुर नरसंहारको पूर्णपाठ सार्वजनिक गर्दै निर्दोष र निहत्था नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ ।
 बुधबार रेशमलाल चौधरी लगायतका व्यक्तिहरु प्रतिवादी रहेको टीकापुर घटनाको २३० पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गर्दै अदालतले आपराधिक घटनालाई राजनीतिक आवरण दिएर अपराध गर्नेलाई राज्यले नै संरक्षण गर्न नहुने स्पष्ट पारेको हो ।

सर्वदलीय बैठकको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए ।

सेयर बजार 
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।


नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको छ।  

नेपाल बैंकर्स संघले अघिल्लो महिना आफूखुसी ब्याजदर तोक्न छुट दिएपछि बैंकहरुबीच प्रतिस्पर्धा देखिएको छ । वाणिज्य बैंकहरुबीच भदौ महिनाका लागि निक्षेपको ब्याजदर तोक्न तीव्र प्रतिस्पर्धा देखिएको हो ।

यो पनि... 
ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् ।

सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

इन्सेकले सङ्खुवासभा जिल्ला कारागारमा यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।  स्थलगत अध्ययनबाट फर्किएपछि इन्सेकले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मृत्यु भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।
 प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए ।

नेवास् समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना बिहीबारदेखि सुरु भएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप