नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग आफ्नो पार्टीले नछाड्ने बताएका छन् । माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि उनले प्रस्ट पारे ।
पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई ‘आपराधिक योजनाका साथ बनेको अपवित्र गठबन्धन’ संज्ञा दिए । उनले एमालेको नेतृत्वकालमा भएका भनिएका अनियमितताका फाइल खोलेर अनुसन्धान गर्न पनि चुनौती दिए ।
समसामयिक राजनीति, एमालेमा पूर्व राष्ट्रपति विद्या भण्डारी फर्कने संकेत लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले एमाले उपाध्यक्ष पोखरेलसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
म पार्टीले दिएको परिभाषित जिम्मेवारी पूरा गर्ने काममा लागिरहेको छु ।
त्यो भनेको के हो ?
पार्टीको दशौँ महाधिवेशनले बनाएको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको अध्यक्ष छु । मेरो अहिले पार्टीले दिएको परिभाषित जिम्मेवारी त्यही हो । त्यो जिम्मेवारी पूरा गर्ने काममा लागेको छु ।
जनमतको हिसाबले नेकपा एमाले मुलुककै ठूलो पार्टी, त्यसको दोस्रो वरीयताको नेता तपाईं, तर पार्टीका सार्वजनिक कार्यक्रममा पनि एकदम कम देखिनुहुन्छ, दलहरुबीच हुने छलफलमा पनि अध्यक्ष केपी ओली प्रायः एक्लै, कोही लगिहाले पनि यसो मनपर्ने व्यक्ति लिएर जानुहुन्छ, अनि तपाईं कता हराउनुभयो भनेर शुभचिन्तकले खोज्न मिल्दैन त ?
मानिसहरुले के बुझेर भन्नुभयो, म जान्दिनँ ।
सद्भाव राखेर माया गरेरै भनेका होलान् नि शुभचिन्तकले ?
होला, माया गरेरै भन्नुभयो होला अथवा एमालेभित्र खोतलखातल गर्दा केही भेटिन्छ कि भनेर पनि भन्नुभयो होला । अर्थात् हिजोदेखि बानी परेका मानिसहरुको जुलुसमा हिँड्यो कि हिँडेन, वार्तामा बस्यो कि बसेन भन्ने पनि होला । तर म आवश्यक परेको ठाउँमा गइरहेको छु र अध्यक्ष बाहिर जाँदा कार्यवाहक अध्यक्ष पनि चलाएकै छु ।
पार्टीमा गुट नबनाउने र सार्वजनिक कार्यक्रममा हामी एमालेहरु भनेर पार्टीको मात्र धारणा राख्ने नेताको रुपमा चिनिहुन्छ, जुन सकारात्मक पनि होला तर अहिलेचाहिँ अध्यक्षको कारिन्दा जस्तोमात्र हुनुभयो, अर्थात् ईश्वर पोखरेलको छुट्टै पहिचान नै केही भएन भन्ने पनि छ नि ?
तपाईंको जिज्ञासा अलि मिलेन । अध्यक्षले दिएको होइन, पार्टीले दिएको परिभाषित जिम्मेवारी पूरा गर्ने हो, म त्यही गरिरहेको छु ।
नेकपा कालमा निर्वाचित महासचिव खोसिँदा होस् वा २०७४ मा सरकार बनेपछि अर्थ मन्त्रालय माग्दा पाउनु भएन । परराष्ट्र माग्नुभयो, दिइएन । अन्तिममा रक्षा मन्त्रालयमा लगेर थन्क्याइयो । अझ पछि त एउटा जर्नेलको मातहत राख्दा पनि चुपचाप, यसलाई कसरी लिने ?
यो प्रश्न मप्रति सहानुभूति देखाएर हो कि मसित गाँसिएका कुराहरु उछालेर यसो खेलोमेलो गर्न सकिन्छ कि भनेर पनि कतिपयले गरेका होलान् । तर मचाहिँ यसमा प्रस्ट छु । जस्तो, एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक र महान् एकताको समीक्षाको पाटो छँदैछ ।
त्यो एकताको त तपाईं विरोधी नै हुनुहुन्थ्यो नि ?
म एकताको विरोधी होइन । कम्युनिस्टहरु एकताबद्व हुनुपर्छ, मिल्नुपर्छ भन्ने नै मेरो मान्यता हो । विचार, संगठन र नेतृत्वको मामलामा सुस्पष्ट बनेरमात्रै एकता गर्नुपर्छ भन्ने मेरो मान्यता हो । एकता भनेको पवित्र चाहना राखेरमात्र पनि हुँदैन भन्ने मलाई लाग्छ ।
शक्ति कहाँ केन्द्रित छ भनेर खोज्दै कहिल्यै पनि आफूलाई त्यो ठाउँमा राख्न चाहिनँ । मेरो ब्रह्मले जे देख्छ, जे सही कुरा भन्छ, त्यसकै पक्षमा उभिएँ ।
परिणाम हेर्दा त आखिर त्यही भयो, होइन र ?
त्यसमा समीक्षाको पाटो छँदैछ । एकता प्रक्रियामा कतिपय कुरा संगति मिलेका रहेनछन् भन्ने खालको कुरा त तीन वर्ष बित्दा नबित्दै जे भयो, त्यसैले पुष्टि गरिसक्या छ ।
गुट नबनाइ पार्टीमा बलियो नेता बन्न नसक्ने देखिन्छ । तपाईंले मन नपरेर कि पछि लाग्ने मानिस नभएर गुट नबनाउनुभएको ?
पारिभाषित जिम्मेवारीमा केन्द्रित नहुने अनि दशतिर चाहर्दै हिँड्ने, दशतिर मुख फर्काउने गरियो भने त्यो वास्तवमा पार्टीको हितमा पनि हुँदैन र व्यक्ति विशेषको पनि हित हुँदैन ।
तपाई गुटचाहिँ बनाउनुहुन्न तर नेताहरु चाहिँ छान्नुहुन्छ । जो शक्तिमा पुग्यो, उसकै पछि लाग्ने अर्थात् तपाई ‘जता शक्ति, उतै भक्ति’ हो ?
शक्ति कहाँ केन्द्रित छ भनेर खोज्दै कहिल्यै पनि आफूलाई त्यो ठाउँमा राख्न चाहिनँ । मेरो ब्रह्मले जे देख्छ, जे सही कुरा भन्छ, त्यसकै पक्षमा उभिएँ, पहिलो कुरा ।
दोस्रो म संस्थागत निर्णयहरु जे हुन्छन्, त्यसको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने पक्षमा हो । संस्थागत कुरामा कमजोरी छन् भने प्रक्रियाबाट सच्याउनुपर्छ तर संस्थागत कुराको खिलापमा गएर कम्युनिस्ट पार्टीभित्र कोही ठुलो हुन चाहन्छ भने त्यो दुर्भाग्य हो । म यस्तो कुरालाई विश्वास गर्दिनँ र गलत हो भन्ने पक्षमा हुन्छु ।
यसरी बुझ्दा हुन्छ त पार्टी प्रमुख जो बन्न चाहन्छ, उसलाई ईश्वर पोखरेलको साथ अनिवार्य हुन्छ भन्यो भने मिल्छ त ?
त्यसरी पनि नबुझौँ । तर योचाहिँ हो कि म जहाँ उभिएँ, त्योचाहिँ संस्थापन हुन पुग्यो ।
एमालेले संसद अवरोध गरेर इतिहास त रचिसकेको छ । साथै संसदीय व्यवस्थामाथि नै प्रश्न चिह्न उठायो भनेर व्यापक विरोध हुन थालेको छ । तर पनि निरन्तर अवरोध किन ?
नेकपा एमालेले मुद्दामा आधारित भएर कुरा उठाउँछ । यति ठूलो घटना घट्यो, यो अहिलेमात्र प्रकट भएको होइन, शृङ्खला नै छ, अघोषित कुरा पनि छन् । वास्तवमा यो लज्जाको विषय पनि हो । अन्तर्राष्ट्रिय बेइज्जतीको कुरा पनि हो ।
एमालेले केका लागि बार्गेनिङ गर्ने ? के एमालेले संसदीय समिति बनाउँ, त्यसमा एमालेको पनि हिस्सेदारी हुन्छ र चलखेल गर्न पाइएला भनेको छ र ?
एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरण ?
यो त देखिएको कुरामात्र हो । विगत कति महिनाभित्र कति सुन आयो भन्ने कुरा त बाहिरै आइसक्यो । विमानस्थलजस्तो संवेदनशील ठाउँबाट क्विन्टल सुन आउने विषय धेरै गम्भीर हो र एमालेलाई लागेको कुरा के हो भने यसमा यो सरकार र यसका पक्षमा रहेका मानिसहरुको संलग्नता बिना काम हुनै सक्दैन भन्ने हो ।
ठिक छ, विमानस्थलमा कमजोरी भयो, तर राज्यकै अर्को निकायले त सुन समात्यो । त्यसलाई चाहिँ धन्यवाद भन्न सकिँदैन त ? उल्टै सुन किन समातेको भनेर विरोध गरेजस्तो पो देखियो त ?
समातिएको कुरामा धन्यवाद नै छ तर सुन निस्केको थियो, कताकता चाँजोपाँजो नमिलेर खुस्केर गयो । समातियो होला । सवालचाहिँ त्यो सुन आयो कसरी ? छि¥यो कसरी ? म त अझ भन्छु, यो कुनै सरकारको विषयमात्र पनि होइन, यो सबै नेपालीको विषय हो । अझ राजनीतिक नेतृत्वमा छौँ भन्नेहरु जो कोहीले यो विषयलाई गम्भीरताका साथ लिनुपर्छ ।
भ्रष्टाचारका थुप्रै फाइल खुल्दैछन्, जसमा एमालेका नेताहरु पनि जोडिन्छन् भन्ने छ । त्यस कारण संसद अवरोध एमालेको बार्गेनिङ टुल्स हो भनिँदैछ नि ?
एमालेले केका लागि बार्गेनिङ गर्ने ? के एमालेले संसदीय समिति बनाउँ, त्यसमा एमालेको पनि हिस्सेदारी हुन्छ र चलखेल गर्न पाइएला भनेको छ र ? पूर्व वा बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय समिति बनाउँभन्दा कसरी बार्गेनिङ भयो ?
ठिक छ, घटना हुनुहुँदैन थियो, कहिलेकाहीँ हुन्छ तर एउटा घटना घट्छ, अनि प्रधानमन्त्रीको राजीनामा मागिन्छ । अर्को कता के घट्छ, गृहमन्त्रीको राजीनामा, कुन मन्त्रीको राजीनामा मागिन्छ । एमालेलाई संसद अवरोध कति हल्का ?
जब नालायक ढंगले काम गरिन्छ, यस्ता कुरा बारम्बार उठ्छन् । जस्तो भनौँ, प्रधानमन्त्रीको राजीनामा माग्दा प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर बोल्दा म दिवंगत छोरीको बुबा भएर बोलेछु, प्रधानमन्त्री भएकै बिर्सेछु भन्या होइन ? नैतिक कुरा गर्ने हो भने त्यही बेला प्रचण्डले प्रधानमन्त्री भएर बस्न मिल्दैन थियो । त्यस्तै सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीलाई केही न केही सुइँको छ भन्ने हाम्रो दाबी हो ।
गृहमन्त्रीले संसदको रोष्ट्रमबाट हात जोडेर कृपया ३५ दिनसम्म पर्खनुस् भन्दा त्यो बेलासम्म पर्खन नसक्ने हतारो किन नि ?
सीआईबीले छानबिन गर्छ भन्ने नाममा प्रमाणहरु लोप गराउने काम हुन्छ भन्ने हाम्रो आशंका छ । हामी समस्या समाधान गर्न चाहन्छौँ, एमालेले यसलाई जित वा हारको विषय बनाएको होइन ।
सुनिल शर्माले सुन तस्करीको विषयमा जुन गम्भीरताका साथ कुरा उठाएका थिए, त्यसको प्रतिशोध सरकारले लियो ।
यो माग गर्न संसद नै अवरोध गर्नुपर्छ त ?
सुनुवाइ नभएपछि गर्ने के त ? त्यतिमात्र होइन, प्रमुख प्रतिपक्षीले कुरा उठाउँदा सत्तापक्ष उठेर होहल्ला गरेर बोल्न नदिने कहीँ दुनियाँमा देखिने कुरा हो यो ?
हुँदाहुँदा नक्कली प्रमाणपत्र धारी, त्यसमा पनि अर्कै पार्टीको सांसदको पनि बचाउमा लाग्न थाल्यो एमाले, सत्तापक्षकै सांसद बोलेनन् बरु, किन होला ?
विवेक गुमाएकाहरु बोलेनन् । सुनिल शर्माले सुन तस्करीको विषयमा जुन गम्भीरताका साथ कुरा उठाएका थिए, त्यसको प्रतिशोध सरकारले लियो ।
सत्तापक्षीय गठबन्धनले छानबिन समिति नबनाउने निर्णय गरिसक्यो, अब एमाले के गर्छ ?
उच्चस्तरीय छानबिन समिति नबनुन्जेल संसद अवरोध कायम रहन्छ, संसद चल्दैन ।
एमालेभित्र नयाँ बहस सुरु भएको छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कनुहुन्छ र पार्टीको आगामी अध्यक्ष उहाँ नै हो भन्ने, के यस्तै हो ?
नन् इस्यूलाई इस्यू बनाइँदैछ । कोही मान्छे पार्टीमा आउँछ कि आउँदैन भन्ने कुरा तीन कुराले निर्धारण गर्छ । पहिलो राज्यको संविधानले के भन्छ, दोस्रो सम्बन्धित पार्टीको विधानले के भन्छ र तेस्रो, व्यक्तिको चाहनामा भर पर्ने कुरा हो ।
न विद्या भण्डारीले केही सोच्नुभएको छ, न केही भन्नुभएको छ, त्यत्तिकै उलामालामा लागेर मान्छेले किन कुरा उठाएका होलान् भन्ने अध्यक्षको भनाइ हो ।
तपाईंले भनेका तीनै कुराले त रोकिँदैन, भनेपछि विद्या भण्डारी पार्टीमा फर्किने देखियो नि त ?
व्यक्तिको चाहना प्रकट भएको छैन । र, म छिनोफानो गर्ने व्यक्ति होइन, म हुन पनि सक्दिनँ र मेरो ठाउँमा अरु कोही पनि हुन सक्दैन । किनभने व्यक्तिको चाहनाको कुरा पनि हो ।
पार्टी अध्यक्षले त पत्रकार सम्मेलनमै विद्या भण्डारीलाई रोक्नेजस्तो अभिव्यक्ति दिनुभयो, तपाईंको धारणाचाहिँ के हो ?
त्यस्तो होइन, आज त्यो विषय नै होइन । न विद्या भण्डारीले केही सोच्नुभएको छ, न केही भन्नुभएको छ, त्यत्तिकै उलामालामा लागेर मान्छेले किन कुरा उठाएका होलान् भन्ने अध्यक्षको भनाइ हो ।
आउनै नसक्ने भन्ने त भएन नि ?
एक छिनलाई मान्नुस्, उहाँले म हिजोदेखि सम्बन्ध भएको यो पार्टीमा आउन चाहन्छु, सदस्यता नवीकरण गर्न चाहन्छु भन्नुभयो भने रोक्ने आधार के ? नआउनु होला तर रोक्ने आधार के ?
पार्टीमा सत्तरी वर्षे हदबन्दी हटाउँदा तपाईं चुपचाप बस्नुभयो, के यसबाट तपाईंलाई राहत मिल्दैछ ?
लगातार एउटै व्यक्ति कार्यकारी पदमा २ पटकभन्दा बढी नबस्ने र ७० वर्षे उमेर हदबन्दी नवौँ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव प्रस्तुत गर्ने व्यक्ति मै हुँ र सर्वसम्मत पारित पनि भयो । त्यो कुनै सुरवीरले भनेर होइन, त्यो मैले नै गरेको हुँ ।
अनि हटाउँदा किन विरोध नगर्नु भएको त ?
मानिसको सरदर आयु बढिरहेको छ । उमेरको सीमाको राजनीतिक चेतना हुन्छ कि हुँदैन भन्दा वास्तवमा हुँदैन । योग्यता र क्षमता देखाएर प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विचार हामीले बोकेका छौँ, अनि उमेरको बन्देज लगाएर रोक्न उचित हुँदैन भनेर पास गर्ने बेलादेखि नै लागेको थियो । अहिले निलम्बन अवस्थामा छ त्यो धारा, यसको छिनोफानो आउँदो विधान महाधिवेशनबाट हुन्छ ।
जेहोस् एघारौं महाधिवेशनमा अध्यक्षमा दाबी गर्न तपाईंका लागि ढोका खुलेको पनि त हो नि ?
यो ढोका खुलेको नखुलेको हिसाबले म कहिल्यै हेर्दिनँ । मैले तीन वटा कुरा हेर्छु । त्यसबेलाको आवश्यकता, देशभरिका कार्यकर्ताको माग र परिस्थिति कस्तो हुन्छ, यस आधारमा अध्यक्ष बन्ने नबन्ने कुरा आउँछ । त्यत्तिकै ताउरमाउर गरेर पनि हुँदैन ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आउने संकेत पाएर भण्डारी विरोधी मानिएका भीम रावललाई अध्यक्ष ओलीले नजिक्याउन खोज्नुभएको हो ?
तपाईंहरु कहाँकहाँको तार जोड्नुहुन्छ ? बिजुली बल्ने ठाउँमा मात्र तार जोड्नुस् न ! नबल्ने ठाउँमा तार जोडेर के काम ?
भीम रावल सक्रिय हुँदा तपाईंलाई त कुनै चुनौती थपिँदैन नि ?
किन चुनौती हुनु ? भीमजी मेरो सबैभन्दा मनपर्ने, मन मिल्ने साथी हो । खाली कतिपय स्वभावजन्य कुरामात्र होलान् ।
एमाले र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना कति छ ?
माओवादीका विसंगत विषयहरुको घोडा बनेर कांग्रेस हिँडिरहन्छ भने त दुर्भाग्य हो । होइन भने आफ्नो हैसियतलाई कांग्रेसले बुझ्नुपर्छ ।
माओवादीभन्दा कांग्रेस राम्रो देख्न थाल्नुभयो ?
त्यो पनि भएन, तपाईंले चुट्ट चुट्ट सोध्नुभयो, त्यो भन्दा त्यो राम्रो । कोरीबाटी गरेको पुतलीजस्ता कुरा गरेको होइन मैले ।
भ्रष्टाचारका हरेक ठूला फाइल खोल्दा एमालेका नेता कार्यकर्ता जोडिनुको कारण नेतृत्व भ्रष्ट भएर हो वा त्यस्ता कामको संरक्षण गर्दा भएको हो ?
माओवादी केन्द्रबाट आएका एमालेका एक जना सचिव परे, त्यो साँचो हो तर के पार्टी आकाशमा, स्वर्गमा बनेका हुन् ? यही समाजमा बनेको हो । यहाँ त राम्रा नराम्रा सही–गलत सबै छन् । अर्को कुरा, एमालेसँग सम्बन्धित भनिएका जेजे फाइल छन्, खोले हुन्छ । किन एमालेलाई ताकिताकि ढुंगा हान्नुप¥यो ? तर छानबिन गर्ने नाममा नौटंकी गर्न मिल्दैन । सीआईबीले माओवादीका केही नेताको खलकै सहितको संलग्नता देखाएको छ, सरकार केही गर्दैन । यही हो नौटंकी भनेको ।
अहिलेको गठबन्धनलाई कसरी लिनुभएको छ ?
यो गठबन्धन आपराधिक योजनाका साथ बनेको अपवित्र गठबन्धन हो, देशघाती गठबन्धन हो र लोकतन्त्र समाप्त पार्ने गठबन्धन हो ।
प्रतिक्रिया