'योगदान र नतिजाको आधारमा सरकारी सहयोग भए इन्जिनियरिङको शुल्क घट्छ'
प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधान काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष तथा प्राचार्य हुन् । इन्जिनियर अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रधान, त्रिभुवन विश्वविद्यालय योजना विभाग प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् ।
२०३५ सालमा पुल्चोक क्याम्पसबाट प्राध्यापन क्षेत्रमा प्रवेश गरेका प्रधानसँग इन्जिनियरिङ शिक्षणमा ४५ वर्षको लामो अनुभव र आफ्नै कलेज काठमाडौं इन्जिनियरिङ कलेज संचालनको पनि २५ वर्ष लामो अनुभूतिजन्य ज्ञान र इन्जिनियरिङ शिक्षा विकासका छुट्टै अवधारणाहरु छन् । नेपालको इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीबारे उनीसँग गरिएको कुराकानीको सार-
नेपालको इन्जिनियरिङ शिक्षा कस्तो छ ?
नेपालको इन्जिनियरिङ शिक्षा गुणास्तरीय छ । यहाँ उत्पादित इन्जिनियरहरुले देश – विदेश, विश्ववजारमा राम्रै काम गरिरहेका छन् । यहाँवाट स्नातक गरेर गएका हाम्रा विद्यार्थीहरुले युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका विश्वविद्यालयहरुमा उत्कृष्ट नतिजा ल्याई कलेज टप गरेका उदाहरणहरु पनि प्रशस्तै छन् ।
धेरै नेपाली इन्जिनियरहरु विदेशिएको देखिन्छ, नेपालमा इन्जिनियर उत्पादन धेरै भएको हो ?
होइन । दक्षिण कोरिया नेपाल जतिकै क्षेत्रफल र जनसंख्या भएको देश हो । त्यहाँ वर्षेनी १ लाख ५० हजार नयाँ इन्जिनियर उत्पादन हुन्छ। सवैले रोजगारी पाइरहेका छन् । नेपालमा वर्षेनी ५ हजार नयाँ इन्जिनियर पनि उत्पादन हुँदैन । र, उत्पादितमा पनि ५० प्रतिशतभन्दा वढी विदेशिन्छन् । विकास निर्माणका हिसावले यहाँ धेरै गर्न बाँकी छ । त्यसनिम्ति धेरै इन्जिनियर चाहिन्छ । तर नेतृत्व अलि राम्रो र दूरदर्शी नभइदिँदा स्वदेशमै काम गर्ने अवस्था सिर्जना भएको छैन । स्वदेशमै काम गर्ने निति निर्माण र योजना कार्यान्वयन भएमा नेपाली इन्जिनियरहरु विश्ववजारमा छरिन पर्दैन । देश विकास गर्ने हो भने इन्जिनियर उत्पादन र खपत दुवै पुगेको छैन नेपालमा ।
तपाईंको कलेजमा इन्जिनियरिङका कुन कुन विधामा पढाइ हुन्छ ?
हाम्रो कलेज काठमाडौं इन्जिनियरिङ कलेजमा इन्जिनियरिङका ५ वटा विधामा पढाइ हुन्छ । बी. ई. सिभिल (B.E. in Civil), कम्प्युटर (B.E. in Computer), इलेक्ट्रोनिक्स (B.E. in Electronics, Communication and Information), इलेक्ट्रिकल (B.E. in Electrical) र बी. आर्क. (Bachelor in Architecture) को पढाइ हुन्छ, भइरहेको छ । वार्षिक ३८४ जनाको सीट कोटा हो, हाम्रो कलेजमा । अहिले सवै वर्षमा गरेर ११५० जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमा ७७७ जना (६७.५७%) छात्र र ३७३ जना (३२.४३%) छात्रा विद्यार्थी छन् ।
काठमाडौं इन्जिनियरिङ कलेजबाट अहिलेसम्म कति जना इन्जिनियर उत्पादन भइसके ?
यस कलेजबाट अहिलेसम्म ५०१२ जना विद्यार्थीहरु इन्जिनियर भइसके । जम्मा ६०९६ जना विद्यार्थीमा ५०१२ पास भनेको ८२.२२% पास हो । अझ एक - दुइटा विषय मात्र लाग्ने र मौका परीक्षाको नतिजा आउन बाँकीहरु पनि धेरै छन् ।
यो त धेरै राम्रो नतिजा हो, होइन र ?
हो, अझ राम्रो गर्न सकिन्छ, १००% पास गराउने लक्ष्य हो, हाम्रो । विषयगत परीक्षामा १००% आइरहेको हुन्छ भने समष्टिगतमा पनि १००% पास गराउन नसकिने होइन । व्यवहारिक कुरा नै हो यो ।
संख्यात्मक रुपमा त राम्रै देखिन्छ पास हुनेहरु, गुणात्मक रुपमा कस्तो छ ?
हाम्रो कलेज काठमाडौं इन्जिनियरिङ कलेज नेपालको पहिलो ISO: 9001:2008 सर्टिफाइड कलेज हो । हाम्रो कलेजवाट पास हुने विद्यार्थीहरु संख्यात्मक (quantitative) रुपमा मात्र होइन गुणात्मक (qualitative) रुपमा पनि धेरै राम्रा छन् । हाम्रा विद्यार्थीहरु ५% विशिस्ट श्रेणी (८०% वा माथि) र ७०% प्रथम श्रेणी (६५% - ८०%) मा समुत्तीर्ण भइरहेको रेकर्ड छ । वर्षेनी इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले नै निकाल्ने कार्यक्रमगत वा संकायगत (faculty wise) उत्कृष्टदेखि सवै संकाय (faculty) मध्यमा सर्वोत्कृष्टसम्म नै हाम्रा विद्यार्थी पर्न सफल भएका छन् । विगत १८ वर्षको नतिजामा कैयौं पटक समग्रमा प्रथम (overall top), दर्जन वढी पटक संकायगत प्रथम (faculty wise top) भैसकेका छन्, यस कलेजका विद्यार्थी ।
हरेक वर्ष इ. अ. सं. (IOE) ले इन्जिनियर पास भएका मध्यबाट इ. अ. सं. (IOE) का टप २० विद्यार्थीको लिस्ट निकाल्छ । विगत १ ८ वर्षमा इ. अ. सं. (IOE) टप २० विद्यार्थीमा यस कलेजका मात्रै १५५ जना बढी परेका छन् । यसबाट यस कलेजले संख्यात्मक मात्र होइन गुणात्मक इन्जिनियर उत्पादन पनि गरिरहेको प्रष्ट हुन्छ ।
पास भइसकेपछिको रोजगारी र थप उच्च शिक्षा अध्ययनमा पनि यस कलेजका विद्यार्थीहरुको प्रस्तुती (performance) राम्रै देखिन्छ ।
यति राम्रो नतिजा ल्याउन सफल हुनुको मुख्य कारण के होला ?
अध्ययन र अनुसन्धानमा जोड नै मुख्य कारण हो । र यसनिम्ति शिक्षक, कर्मचारी, प्रशासन, विद्यार्थी सवैको दृढ इच्छाशक्ति, लगाव र मेहनत, सहयोगी भावना र आवश्यक सुविधाको व्यवस्थापन नै मुख्य हो ।
यस केईसी कलेजमा अरु कलेजमा भन्दा सवैभन्दा धेरै, ७५ जना पूर्णकालिन (full time) शिक्षकको व्यवस्था, हरेक विभागमा अत्यन्तै अनुभवी प्राध्यापक/प्रवुध्द व्यक्तित्वहरुको सल्लाहकार टीम, सवैभन्दा धेरै पुस्तक भएको पुस्तकालय, सुविधासम्पन्न ल्याव, इकुप्मेन्टले अध्ययन - अध्यापनमा महत्वपूर्ण भूमिका खेलेको छ । विद्यार्थीको केयरिङ्ग, दैनिक फोनकल, अभिभावक भेला / वैठक (parents’ meeting), आवश्यक मार्गनिर्देशन आदिले पनि विद्यार्थीलाई अध्ययनमा संकेन्द्रित हुन सहयोग गरेको छ ।
अझ मुख्य कुरा हरेक दिन विराएर जाँच (Alternate Day Test) हप्तामा ३ दिन हुन्छ । विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने वानी बसाल्नको लागि ADT परीक्षा संचालन गरिएको हो । सेमेस्टर प्रणालीमा वार्षिक प्रणालीमा जस्तो अन्तिममा मात्र पढेर पास गर्न सकिन्न । दैनिक नियमित पढ्नु, वुझेर पढ्नु र अवधारणा (concept) स्पष्ट नवुझी घोक्नु, जाँचको अघिल्लो दिन मात्र पढ्नुमा धेरै फरक हुन्छ । शिक्षा भनेको वानीहरुको निर्माण पनि हो । त्यसैले हामी विद्यार्थीहरुमा सही वानी बसाल्न कृतसंकल्पित छौं । सही वानी वसाल्ने ADT परीक्षा जस्तो वैज्ञानिक विचार र अभ्यासले उत्कृष्ट नतिजा ल्याउन मद्दत गरेको छ । यसलाई दैनिक परीक्षा वनाई नियमित अध्ययनको वानीलाई अझ निखार्न खोज्दैछौं ।
नियमित परीक्षा लिने र त्यसको समयमै नतिजा निकाल्ने अनि आवश्यकताअनुसार मार्गनिर्देशन गर्ने गर्नाले विद्यार्थीहरुलाई आफ्नो सवल पक्ष वढाउन र दुर्वल पक्ष हटाउन ठूलो सहयोग पुगेको छ । साथै परीक्षा र नतिजा सम्वधी हरेक रेकर्ड, डकुमेन्ट चुस्तदुरुस्त राखी आवश्यकता अनुसार अभिभावक भेला/वैठक पनि वोलाउनाले समयमै समस्या र समाधान पहिचान गर्न सजिलो भएको छ ।
अरु कलेज भन्दा अर्को पृथक व्यवस्था यहाँको कार्य विभाजन पनि हो । परीक्षा शाखा, गाइडेन्स एन्ड काउन्सिलिङ शाखा, इअर कोअर्डिनेटर (YC), ल्याव कोअर्डिनेटर, प्रोजेक्ट कोअर्डिनेटर, विभागीय उपप्रमुख, प्रमुख आदीको व्यवस्था गरी कार्य विभाजन गर्नाले कार्य सम्पादन प्रभावकारी भई नतिजा राम्रो आएको हो ।
अनिवार्य नियमित योग कक्षा, Art of LIving सत्र, आदी इत्यादीले पनि विद्यार्थीको स्वास्थ्य, स्मरण शक्ति, सकारात्मक सोच, सहयोगी भावनामा वृध्दि भएको पाइएको छ ।
हाम्रो कलेजले स्थापनाकालदेखि नै न्युनतम शुल्कमा ६० जना क्षमताको पुरुष छात्रावास (Boys Hostel) र ४० जना क्षमताको महिला छात्रावास (Girls Hostel) संचालन गर्दै आइरहेको छ । निजी र कति सरकारी इन्जिनियरिङ कलेजहरुले समेत छात्रावास चलाउन नसकिरहेको अवस्थामा हाम्रो कलेजले छात्रावासको व्यवस्था गर्नाले विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धानमा संकेन्द्रित गर्न सहयोग भएको छ । खासमा सबै इन्जिनियरिङ विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्नपर्ने हो र यस कलेजमा अध्ययनरत सबै विद्यार्थीलाई छात्रावासको व्यवस्था गर्ने योजना छ ।
तपाईंको कलेजमा कति जिल्लाका विद्यार्थीले अध्ययन गरेको रेकर्ड छ ?
हामीले देशैभरीका विद्यार्थीको सेवा गरिरहेका छौं । हामीले काठमाडौं देखि कालीकोट, मोरङदेखि मुस्ताङ, दाङदेखि दार्चुला, सुनसरीदेखि सोलुखुम्वुसम्मका अर्थात ७० भन्दा वढी जिल्लाका विद्यार्थीलाई अध्यापन गराएको रेकर्ड छ ।
तपाईंहरुकोमा छात्रवृत्ति या नि:शुल्कको व्यवस्था के छ ?
हामी १०% विद्यार्थीलाई छात्रवृत्ति दिन्छौं या नि:शुल्क पढाउँछौं , पढाइरहेका छौं । अहिलेसम्म ७०० जना बढीलाई हामीले नि:शुल्क पढाएर इन्जिनियर बनाइसक्यौं । ।यो देश - समाजको लागि हाम्रो योगदान हो । तर सरकारले हामीलाई यस वापत केही राहत दिएको छैन, अहिलेसम्म कति पनि आर्थिक सहयोग गरेको छैन ।
तर सरकारी र स्थानीय तहले खोलेको समुदायिक कलेजलाई केन्द्र र प्रदेश सरकारले वर्षेनी करौडौं रकम सहयोग गरेको देखिन्छ । भवन निर्माण, ल्याव, मानव संसाधन आदीको लागि करौडौ रुपैयाँ सहयोग गरिरहेको हुन्छ । तर हामीलाई अहिलेसम्म एक पैसा सहयोग गरेको छैन । हामीले ७०० जनालाई नि:शुल्क पढाएर इन्जिनियर वनाइसक्दा पनि केही राहत दिइएको छैन ।
७०० जनालाई छात्रवृत्ति दिएको भनेको अहिलेको हिसावले १ अरव ५ करोडको छात्रवृत्ति हो । एउटा निजी श्रोतले चलाएको कलेजले अरवौंको छात्रवृत्ति दिँदा पनि सरकारले केही सहयोग गर्दैन भने यसलाई के भन्ने ! सरकार र प्रवुध्द वर्गले सोच्नुपर्ने विषय हो । योगदान र नतिजाको आधारमा सरकारले निजी इन्जिनियरिङ कलेजलाई सहयोग गर्यो भने इन्जिनियरिङको शुल्क आधा भन्दा धेरै घटाउन सकिन्छ ।
तर यहाँ निजीको नाममा अनेक आरोप र भ्रम फैलाइएकोछ । महँगो भयो भन्ने हल्ला गरिन्छ । तर हिसावै गर्ने हो भने प्रति विद्यार्थी लगानी निजीमा भन्दा सरकारी र सामुदायीकमा महँगो पर्न आउँछ ।
तर निजीमा आवश्यक पूर्वाधार र सुविधा त्यति हुन्न भन्छन् नि ?
कुरा त्यस्तो होइन । हाम्रो कलेजमा आवश्यक पूर्वाधार र सुविधामा कुनै कमी छैन । शिक्षक, पुस्तकालय, ल्याव, भौतिक पूर्वाधार, मानव संसाधन केहीमा पनि कमी छैन ।
तपाईंको कलेजमा विद्यार्थी शिक्षक अनुपात कति छ ?
राम्रै छ । विद्यार्थी शिक्षक अनुपात भारतमा २४ : १, चीनमा १९ : १ छ । हाम्रो कलेज केईसीमा विद्यार्थी शिक्षक अनुपात १४ : १ छ।
विद्यार्थी पुस्तक अनुपात पनि राम्रै छ । हरेक विद्यार्थीलाई हरेक सेमेस्टरको हरेक विषयको पुस्तक, म्यानुअल सवै नि:शुल्क दिन्छौं । लगभग ७० हजार पुस्तक छन् हाम्रो कलेजको पुस्तकालयमा । अहिले त इलाइव्ररीको पनि जमाना छ, व्यवस्था हुँदैछ ।
खेलकुद, गीत - संगीत , अतिरिक्त क्रियाकलाप के छ ?
छ । विद्यार्थीलाई हरेक हिसावले समृद्ध पार्न खेलकुद, गीत - संगीत , अतिरिक्त क्रियाकलाप (extra activities) आदी धेरै गतिविधीहरु कलेजमा भइरहेको हुन्छ । वास्केटवल , भलिवल, टेवलटेनिसको व्यवस्था कलेज भित्रै छ । अरु खेल्कुद प्रतियोगिता पनि नियमित भैरहेको हुन्छ । राम्रै सुविधा र नतिजा छ । म्युजिक क्लव (Music Club) पनि सकृय छ । नियमित योग कक्षा, art of living शत्र, आदी हुन्छ।
योग त नियमित र अनिवार्य समेत गर्नु भएको रहेछ । इन्जिनियरिङ्गमा यसको उपादेयता के ?
योगले संयमित र सन्तुलित जीवन जिउन सहयोग गर्छ । हाम्रा विद्यार्थीहरु कलेजको परीक्षामा मात्र होइन जीवनकै परीक्षामा पनि सफल होस भन्ने हेतुले योग रखिएको हो । योगले जीवन स्वस्थ वनाउने, स्मरण शक्ति वढाउने, तनाव घटाउने, एकाग्रता ल्याउने, सकारात्मक भावना वृध्दि गर्ने आदी काम गर्छ । योग र ध्यान भनेको जिवनदाइनी शक्ति दिने वैज्ञानिक अभ्यास हो । त्यसैले Meditation is Medicine पनि भनिन्छ ।
जव प्लेसमेन्ट र रोजगारीको अवस्था के छ, यहाँको कलेजवाट पास आउट विद्यार्थीहरुको ?
हाम्रो कलेज र सेवाप्रदायक धेरै कम्पनीहरुवीच सम्झौता ज्ञापन पत्र (Memorandum of Understanding, MoU) भएको छ । उत्कृष्ट १०-१५% विद्यार्थीहरुको त अन्तिम सेमेष्टरवाटै वैतनिक इन्टर्न्सिप शुरु हुन्छ । लोक सेवा लगायत सरकारी जागिरमा पनि हाम्रै विद्यार्थीले नाम निकालिरहेको देखिन्छ । हाम्रा विद्यार्थीले निजी क्षेत्र, आउट सोर्सिङ, आफ्नै कम्पनी देखि विदेशमा पनि राम्रै काम गरिरहेको पाइन्छ । उच्च शिक्षाको लागि छात्रवृतिमा विदेश जानेको संख्या पनि उल्लेख्य छ ।
शैक्षिक कोर्स र वजारको आवश्यकतालाई समायोजन कसरी गर्न सकिन्छ ?
सम्वन्धित विज्ञ र कम्पनीहरुवीच छलफल हुनुपर्छ । भइरहेको पनि छ । समय समयमा कोर्स रिभ्यु पनि भइरहेको छ । फेरि विज्ञान र गणित विनाको कोर्स त ट्रेनिङ सेन्टरको जस्तो मात्र हुन्छ । संगीत राम्रो सिक्न शास्त्रीय संगीत जान्नु पर्छ भने जस्तै बेस नलेज (base knowledge) त हुनुपर्छ । कविता सिक्न कखरा र व्याकरण सिक्नपर्छ । त्यसैले त्यतिकै विज्ञान र गणित विनाको आईटी सजिलो हुन्छ, पढ्छु भन्नुभन्दा पछिसम्मलाई सोचेर इन्जिनियरिङ नै पढ्नु राम्रो हुन्छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङको भविष्य र विद्यार्थी भर्ना वारे चिन्ता वढ्दो छ, के भन्नु हुन्छ ?
संसार यान्त्रिकरण भन्दा पनि एक चरण अगाडी स्वचालितिकरण हुँदैछ । अवको भविष्य भनेको ड्रोन (drone) ,मेसिन लर्निङ (machine learning), बिग डाटा (big data), ए आई (AI), रोबोटिक्स (robotics) को विकासको युग हो । यो कुरा हामीले राम्रोसँग वुझाउन सक्यौं र व्यवहारमा लागू गर्न सक्यौं भने इलेक्ट्रोनिक्स इन्जिनियरिङको भविष्य र विद्यार्थी भर्ना वारे चिन्ता हुँदैन ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको ८५ प्रतिशतभन्दा बढी कोर्स मिल्छ। कम्प्युटर इन्जिनियरले गर्ने नेटवर्किङ, प्रोग्रामिङ, वेबसाइट डिजाइन, डाटावेस, इमेज प्रोसेसिङका काम इलेक्ट्रोनिक्स इन्जिनियरले पनि गरिरहेको पाइन्छ। नेपालमा आइटी कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, दूरसञ्चार कम्पनीहरू, हार्डवेयर कम्पनीहरू, सफ्टवेयर कम्पनीहरू, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजन, उड्डयन, स्याटेलाइट अफिसहरू, निजी, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, उद्योग, कलकारखानाहरूका सूचना प्रविधिसम्बधी कामहरू इलेक्ट्रोनिक्स इन्जिनियरहरूका रोजगारीका क्षेत्र हुन् । खाली हार्डवेयरमा मात्र काम गर्न पर्ने होइन । यो कुरा वुझाउन सके समस्या रहन्न ।
एकातिर अन्धाधुन्ध विदेशी विश्वविद्यालयको सम्वधनका कलेज वढ्नु र अर्कोतिर विद्यार्थी विदेश पलायन हुनुलाई कसरी लिनु हुन्छ ?
नेपालले पढाउन सक्ने विषयमा विदेशी विश्वविद्यालयको सम्वधनको कलेज खोल्न दिनु हुन्छ कि हुँदैन सरकारले सोच्नु पर्ने हो । विदेशी विश्वविद्यालयको सम्वधन, त्यो पनि जति पनि कोटा, जहिले पनि भर्ना, न कुनै नियम, न कुनै नियमन । यस्ता गतिविधी सवै पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ ।
विद्यार्थी विदेश पलायनले नेपाली पूँजी विदेशिएको छ । एक वर्षमा ८० अरव रकम विदेशिनु भनेको देशको लागि ठूलो घाटा हो । यसमा सरकारले ध्यान दिई नियन्त्रण गर्नुपर्छ । खासमा विदेशमा पढ्न जाने चलन वढ्नु ठूलो साँस्कृतिक आक्रमण हो । के के न होला जस्तो, यहाँको स्तरहीन, त्यहाँको स्तरीय जस्तो, होहल्ला गर्नु ठूलो प्रचारवाजी (propaganda) र भ्रम (illusion) मात्र हो । दु:खको कुरा अहिले नेपाली जनता त्यही गलत प्रचारवाजी (propaganda) को शिकार भएका छन् ।
विदेशमा पढ्दैमा राम्रो हुन्छ हुन्न, न त यहाँ पढ्दैमा नराम्रो हुन्छ । विदेशमा त काम गर्दै पढ्न पर्छ, काम गर्दै पढ्नेको गुणस्तर कसरी राम्रो हुन्छ ? अनि नेपालको शिक्षा राम्रो नभए यहाँ पढेर गएकाले विदेशी विश्वविद्यालयमा कसरी टप गर्छ ? त्यसैले हाम्रो मानसिकता र साँस्कृतिक स्तर उच्चो पार्नुपर्छ । होहल्लाको पछाडी दगुर्ने लहड्वाजी छोड्नुपर्छ । कम्तिमा स्नातकसम्म त यहीं पढ्नपर्छ ।
इन्जिनियरिङ काउन्सिलको परीक्षामा त नेपाली विश्वविद्यालयका विद्यार्थी पनि धेरै फेल भए नि ?
कुरा त्यस्तो होइन । विदेश पढेर आएका चाहि धेरै फेल भएको हो । रेकर्ड हेर्नुस् । विदेश पढेर आएका १० % मात्र पास भएको छ । त्रिभुवन विश्वविद्यालय ५० %, काठमाडौं विश्वविद्यालय पढेका ६०% र अरु विश्वविद्यालयवाट पढेका ३०% पास भएको छ । त्रिभुवन विश्वविद्यालयका नियमित (regular) विद्यार्थीहरुले काउन्सिलको परीक्षा दिन पाएका छैनन् । जव कि अरु विश्वविद्यालयका नियमित (regular) विद्यार्थीले परीक्षा दिइसके ।
अन्तमा केही भन्नु हुन्छ कि ?
राष्ट्रियता भनेको सिमानामा मात्र मिचिन्न । शिक्षामा, स्वास्थ्यमा, स्वदेशी पूँजी विदेश पलायनमा सवैमा राष्ट्रियता जोडिएको हुन्छ । त्यसैले अव शिक्षाको नाममा पूँजी विदेश पलायनलाई रोक्नुपर्छ । र नेपाललाई शैक्षिक केन्द्र (educational hub) वनाएर विदेशी मुद्रा समेत नेपाल भित्र्याउनु पर्छ । नेपाललाई इन्जिनियरिङ शिक्षा र अनुसन्धानको केन्द्र वनाउन पर्छ । सरकारले इन्जिनियरिङ क्षेत्रका विभिन्न विधा विज्ञ, प्रवुध्द वर्ग, लव्ध प्रतिष्ठित व्यक्तित्व, अनुभवी शिक्षाविद, आदी सम्मिलित टीम वनाएर नेपाललाई इन्जिनियरिङ अध्ययन र अनुसन्धानको केन्द्र को रुपमा विकास गर्न सकिन्छ ।
अर्को कुरा अहिले विज्ञान प्रविधिको प्रयोग उत्पादन, रूपान्तरण र वितरण बढाउने काममा मात्र सीमित नभएर नयाँ पिँढीलाई कस्तो नागरिक वनाउनेदेखि देशकै सुरक्षा र गोपनियतासँग जोडिन पुगेको छ । अहिले प्रविधिको प्रयोगले सूचना चोर्ने, निगरानी र नियन्त्रणमा राख्नेसम्मको काम भइरहेको छ । त्यसैले राष्ट्रिय सुरक्षा, स्वच्छ र स्वस्थ समाज तथा असल नागरिक निर्माण हेतु इन्जिनियरिङ शिक्षाको गुणस्तर र व्यापकता अझ वढाउनु पर्ने टड्गारो आवश्यकता देखिएको छ ।
हालै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS)ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातमार्फत नेपालले ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरेको छ । सो प्रतिवेदनअनुसार नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आइटी जनशक्तिमार्फत उक्त आम्दानी भएको हो । यसले अव दक्ष इन्जिनियरमार्फत नेपालमै वसेर श्रमिक होइन, सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था सिर्जना भएको देखाएको छ । यसनिम्ति इन्जिनियरिङ शिक्षालाई जोड दिन आवश्यक छ । र, योगदान र नतिजाको आधारमा सरकारले निजी इन्जिनियरिङ कलेजलाई सहयोग गरे इन्जिनियरिङ शिक्षा अझ गुणस्तरीय र व्यापक वनाउन गाह्रो हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता
-
सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी
-
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने