बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

बिहीबार, ३२ साउन २०८०, १४ : २९
बिहीबार, ३२ साउन २०८०

म्याग्दी । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । 

धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् । निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवद्र्धकले जनाएका छन् । पच्चीस मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाका व्यवस्थापक गोपाल रेग्मीले पछिल्लो एक हप्तायता बेनी–दरवाङ सडक अवरुद्ध हुँदा आयोजनाको सुरुङ निर्माणको काम रोकिएको जानकारी दिए ।

“बेनीदेखि विस्फोटक पदार्थ लैजाने बाटोमापर्ने फापरखेत र बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर यातायातअवरुद्ध हुने गरेको छ,” उनले भने, “सडकको असहजताले पोखराबाट बनाएको टनेलभित्र राख्ने डण्डी लैजान सकिएको छैन् ।” धौलागिरि कालिका हाइड्रो प्रवर्द्धक रहेको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको मालिका गाउँपालिका–६ कमेरेमा दुई वटा अडिटबाट सुरुङ निर्माण भइरहेको छ । मुख्य अडिट बाहेक ९०० मिटर सुरुङ खनिसकेको आयोजनाको पछिल्लो एक हप्तायता निर्माण सामग्री अभाव, विस्फोटकपदार्थ ढुवानीको समस्याले निर्माण रोकिएको आयोजनाका व्यवस्थापक रेग्मीले बताए । 

मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । विद्युत् विकास विभागका अनुसार धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा २३८ दशमलब २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको क्रममा छन् । 

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ को डाडाँखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, ३७ मेगावाटको अपर म्याग्दी र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्गसम्म पुग्ने सडक अवरुद्ध भएको छ । 

सडकमा पर्ने खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो खसेकाले आयोजनाको पहुँचमार्ग, बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम रोकिएको छ । निर्माण कार्यमा भएको ढिलाइले लागत र निर्माण अवधि बढ्ने देखिएको छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले आवतजावत तथा ढुवानीको सहजताका लागि बेनी–दरवाङ सडक नियमित सञ्चालन गर्न डोजर र मजदुर परिचालन गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप