स्वदेशमै पर्याप्त अवसर छ, युवाहरूमा विदेश जाने ‘ट्रेण्ड’ बसेको छ
उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने विषय जटिल विषय हो । खास गरी, अहिले बाहिर जाने ट्रेण्ड चलेको छ । फलानो विदेश गइसक्यो, आफू विदेश नभए ‘फेल्यर’ हुने चिन्ता देखिन्छ । काकाको छोरो विदेश गइसक्यो, साथी पनि विदेश गइसक्यो भन्ने स्थिति देखिन्छ । विदेश नगएमा आफ्नो ‘स्ट्याटस’ घट्छ भन्ने मानसिकता विकास भइरहेको छ । तर, विदेशमा सुनको लङ्का छैन ।
म पनि विदेश पढ्नका लागि वर्षौँ बसेको हो । पूर्ण छात्रवृत्तिमा विदेशमै पढेर आएको मान्छे हो । समस्याहरू विदेशमा पनि छन् । त्यसैले, विदेश जाने युवाहरू पूर्ण छात्रवृत्ति नभई आफ्नो पैसामा पढ्ने योजना बनाएका विद्यार्थीलाई विदेशमा आर्थिक रूपमा समस्या हुन सक्छ ।
कतिपय ज्ञान र सीप आर्जन गरेर स्वदेश फर्केर आएका छन् । तर, विदेशिएका मध्ये ठुलो सङ्ख्यामा रोजगारी, आम्दानी र पढाइको समस्या छ । यसकारण, युवाहरूलाई विदेशको तुलनामा नेपालमै ठुलो अवसर छ भन्न चाहन्छु ।
नेपालमा विदेशको जस्तै विकासका काम नभएकाले नै धेरै अवसर देख्छु । नेपालमै धेरै अवसर रहेकाले आजको युवा त्यसलाई खोज्नतर्फ लाग्नुपर्छ ।
विदेशका विकसित मुलुकहरूमा निकै सङ्कुचित अवसर छ । ती देशमा प्रविधि विकास भएकाले अघि बढेका मात्रै हुन् । विदेश पुगेर हावापानीअनुसार फिट हुन सकेमा सहज हुन्छ । विदेश जानासाथ सबै चिज प्राप्त गर्छु भन्ने मानसिकता परिवर्तन गर्ने समय आएको छ ।
हामी यतिबेला विकासशील राष्ट्रको सूचीमा छौँ । यहीकारण पनि नेपालमा धेरै अवसर छन् । यतिबेला सामाजिक सञ्जाल र इन्टरनेटको जमाना छ । सबैजनाले आफ्नो मोबाइलबाटै संसार देख्न सकिन्छ । धेरै विकास देखेपछि उतै जान मन लाग्छ ।
तर, नेपालमा विदेशको जस्तै विकासका काम नभएकाले नै धेरै अवसर देख्छु । नेपालमै धेरै अवसर रहेकाले आजको युवा त्यसलाई खोज्नतर्फ लाग्नुपर्छ । म विदेशमा पढ्न जाँदा मलाई एक पटक पनि उतै बस्नुपर्छ भन्ने लागेन ।
विदेशमा घर, गाडी र कमाई लगायतका सबै आवश्यकता पुरा हुँदाहुँदै पनि उतै बस्न मन लागेन । सबै युवाले यतिबेला नेपालको अवसरलाई ‘ग्य्राब’ गर्नुपर्छ ।
नेपाली संस्कारमा अरूको सुन्ने प्रचलन छ । एउटाले कुनै क्षेत्रमा लागेर नाफा कमायो भने सबै त्यसकै पछाडि दौडिन्छन् । युवाले आफ्नो रुचिअनुसारको क्षेत्र पहिल्याउन सकेमा त्यसअनुसार अघि बढ्न सहज हुन्छ । आफ्नो क्षमता पहिचान गरेर के गर्न सकिन्छ भनेर अवसर खोज्नुपर्छ ।
हामी अहिले सूचना–प्रविधिको युगमा छौँ । यसबाट नेपालजस्तो देशमा अवसर पनि सिर्जना गरेको छ । जुन, विगतमा थिएन । हामी भू–परिवेष्टित राष्ट्र हुँदा आफ्ना उत्पादन बेच्ने कसरी भन्ने चिन्ता हुन्थ्यो ।
अब डिजिटल प्लेटफर्म प्रयोग गरेर इन्टरनेटमार्फत नै हार्डवेयर र सफ्टवेयर उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ । यो नेपालजस्ता न्यून आम्दानी भएका मुलुकलाई अवसर बन्न सक्छ ।
कोरोना महामारीका समयमा नेपाली युवाले आफ्नो दिमाग चलाउन पाए । त्यसपछि सफ्टवेयर उत्पादनमा लागे र अर्बौँको निर्यात सुरु भयो । हाल नेपाली युवाहरूले राम्रो काम गरिरहेका छन् भने निर्यातसमेत भइरहेको छ । नेपालबाट १५० मिलियन डलर बराबरको सफ्टवेयर निर्यात भएको पाइएको छ ।
ठुलो रकम बराबरको सूचना प्रविधि अमेरिका, बेलायत लगायतका देशमा निर्यात भइरहेको छ । यद्यपि, यो औपचारिक माध्यममा नआएको भए पनि ठुलो मात्रामा युवाहरूको सङ्ख्या सूचना प्रविधिको क्षेत्रमा लागेको छ । सफ्टवेयर उत्पादनमा लगानी गर्न ठुलो मात्रामा लगानीसमेत चाहिँदैन ।
र, हामीले बजेटमा सूचना प्रविधि कम्पनीलाई सहजीकरण गर्नका लागि विशेष व्यवस्था ल्याएका छौ । बजेटमार्फत सूचना प्रविधि कम्पनीले विदेशमा समेत व्यवसाय बढाउन मिल्ने व्यवस्था गरियो । जसमा हेडक्वार्टर नेपालमै हुनुपर्ने व्यवस्था गरिएको छ ।
अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रलाई न्यून कर लगाइएको छ । यो अवसरलाई सदुपयोग गर्न म आग्रह गर्दछु ।
बिस्तारै नेपालको अर्थतन्त्रले लय पकड्दै छ । विगतमा कोरोना महामारी र रुस–युक्रेन युद्धका कारणले समस्या आएको थियो । सकारात्मक सोचका साथ एउटा ‘डिस्कोर्स’ सुरु गर्नुपर्छ । अहिलेसम्म हामीले नेपालमा सबैथोक बिग्रिसक्यो, रोजगारी पनि छैन र विदेश जानुको विकल्प छैन भनेर नकारात्मक प्रचारमा लाग्यौँ । सोही कारण, सकारात्मक सोचसहितको एउटा बहस आवश्यक छ ।
नेपालमा लगानीको मुख्य चार क्षेत्रमा सूचना प्रविधि, पर्यटन, जलविद्युत र कृषि क्षेत्र हुन् ।
सूचना प्रविधि क्षेत्रलाई अर्को एउटा विशेष व्यवस्थासमेत गरिएको छ । राम्रो ज्ञान र चाहना छ भने विदेशीले समेत नेपालमा आएर आफ्नो लगानी गर्न सक्छन् । नेपालमा उद्योग सञ्चालन गर्न चाहने लगानीकर्तालाई समेत थप सहजीकरण गरिदिएका छौँ ।
सरकारले बिनाशूल्क कम्पनी दर्ता गर्न पाउने व्यवस्था ल्याइयो र अब १०० रुपैयाँमै कम्पनी दर्ताको व्यवस्था गर्न सकिने अवसरसमेत नेपाली युवासामु छ ।
नेपालमा लगानीको मुख्य चार क्षेत्रमा सूचना प्रविधि, पर्यटन, जलविद्युत र कृषि क्षेत्र हुन् । नेपालको पर्यटन व्यवसाय कोभिडको समयमा ठप्प बनेको थियो । बिस्तारै पर्यटन लयमा आउँदैछ र विदेशीहरू फेरि नेपालमा घुम्न आउँदैछन् । हामीले आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर सेवा उपलब्ध गराउने उपायसमेत सिक्दै जानुपर्छ ।
यस्तै, नेपालमा कृषि पेशाको समेत ठुलो अवसर सिर्जना भएको छ । अहिलेसम्म हामीले परम्परागत शैलीमा लगानी गर्दै आइरहेका थियौँ । नेपालमा सबै प्रकारको मौसमी वातावरण भएकाले विदेशीसमेत लगानीका लागि आएका छन् । यसबाहेक, विदेश पुगेर काम सिकेर आउने नेपालीलाई समेत कृषिमा आकर्षित गर्ने योजना सरकारले बनाएको छ । यसमा समेत ठुलो ‘स्कोप’ छ ।
कृषिमा आन्तरिक र बाह्य गरी सबैतिर अवसरै अवसर देखिन्छ । कृषि क्षेत्रमा यसअघि हामीले योजनामै अनुदान दिन्थ्यौँ । अब चाहिँ उत्पादनमा अनुदान दिने योजना अघि बढेको छ । यसबाट कृषिको नाममा सरकारको रकम हिनामिना गर्नेको सङ्ख्या घट्छ र कृषि उत्पादन गर्नेको सङ्ख्या निकै बढ्छ ।
नयाँ योजनासहित उद्यमीले लगानीको योजना अघि बढाएमा राज्यले सहुलियतपूर्ण र सस्तो ब्याजमा सहयोग गर्ने गरी काम अघि बढेको छ । बजेटमार्फत नै स्वदेशमा लगानी गर्न चाहने उद्यमीलाई विशेष व्यवस्था गरेका छौँ । उद्यमशील योजना भएका उद्यमीलाई सहयोग गर्ने गरी अघि बढेका छौँ ।
अहिले १ अर्ब रुपैयाँ बराबरको फण्ड दिनका लागि शिक्षा र उद्योग मन्त्रालय लगायतले काम गरिरहेका छन् । सधैँ अवसर पाइँदैन भन्ने सोच हामीले राख्न हुँदैन । हामीले सकारात्मक सोच राखेर अघि बढ्दा सफल हुन सकिन्छ ।
प्रतियोगितामा दौड लगाउने खेलाडीले आफ्नो शारीरिक तन्दुरुस्तीबाट ५० प्रतिशत जित्छ र बाँकी ५० प्रतिशत आफ्नो मानसिक स्थितिबाट जित्छ भन्ने भनाई प्रसिद्ध नै छ । नेपालमा रहेका युवाले स्वदेशमै केही गर्न थालेपछि विदेश पुगेकाहरूसमेत फर्केर आउने अपेक्षा गर्न सकिन्छ । त्यसैले, युवाहरूले नेपालमै अवसर सिर्जना गर्ने हो र खोज्ने पनि हो ।
अर्थमन्त्री डा महतले ‘इन्टरप्रेनरसीप मेन्टर कन्क्लेभ’ मा बुधवार दिएको मन्तव्यमा आधारित सम्पादित अंश