नेपाल प्रहरीका ‘एसपी साप’ नै चोरीको गाडीमा !
काठमाडौं– ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ ।
महानगरीय अपराध महाशाखाले २०७३ पुस पहिलो साता तीनओटा गाडी नियन्त्रणमा लिएको थियो । भारतबाट चोरेर नेपालमा नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएर प्रयोगमा ल्याइएको गाडीहरु फरक–फरक ब्यक्तिहरुबाट बरामद गरिएका थिए ।
त्यतिवेला बरामद भएका गाडीहरुमध्ये चरिकोटका सुरेश थापाबाट नियन्त्रणमा लिइएको हुण्डाईको ‘आई–१० बा ८ च ९९३२’ नम्बरको गाडी अहिले अपराध महाशाखाकै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले चढिरहेका छन् ।
ठेक्कापट्टा व्यवसाय गर्दै आएका थापाले बा ८ च ९९३२ नम्बरको नक्कली ब्लुवुक बनाएर चलाएको खुलेपछि प्रहरीले उनलाई सरकारी छाप दस्तखत मुद्धा चलाएको थियो । उनी अहिले धरौटीमा छुटिसकेका छन् ।
नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएको खुलेपछि सरकारी छाप दस्तखत मुद्दा समेत चलिसकेको उक्त गाडीबारे रातोपाटीको जिज्ञासामा अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले उक्त गाडी कार्यालयको नाममा भएको दाबी गरे ।
‘तपाईँले चढ्दै आएको ‘बा ८ च ९९३२ नम्बरको आई १०’ गाडी ब्यक्तिगत हो की, अफिसको ?’ रातोपाटीको जिज्ञासामा उनले भने, ‘यो गाडी मेरो ब्यक्तिगत हैन, अफिसको नाममा छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाको रेकर्ड अनुसार २०७३ कार्तिक देखि पुस सम्मको अवधिमा विभिन्न मितिमा पक्राउ गरेर सन्तोष कुँवर, सुरेश थापा, ईश्वरलाल श्रेष्ठ र शेख निजामुद्धिनलाई सरकारी छाप दस्तखत किर्तेमा मुद्धा चलाएको भेटिएको छ ।
शेख निजामुद्धिनले भारतबाट चोरेर ल्याएको गाडी सन्तोष, सुरेश र इश्वरलालले चढेको भेटिएपछि अपराध महाशाखाले उनीहरुलाई गाडी सहित नियन्त्रणमा लिएको थियो ।
दोलखा भिमेश्वर नगरपालिका–६ किरातीछाप स्थायी घर भएका सन्तोष कुँवरबाट बरामद गरिएको बा. १० च ९४२० नम्बरको फच्र्युनर र झलक बहादुर बस्नेतको साथबाट बरामद भएको बा. ९ च ५८९३ नम्बरको ‘हुण्डाई आई १०’ भने महाशाखाले राजस्वमा बुझाएको थियो ।
‘गाडी धनी नखुलेपछि त्यतिवेला दुईओटा गाडी मात्रै राजस्वमा बुझाइएको थियो’ अपराध महाशाखाका एक अधिकृतले भने, ‘एउटा गाडी बुझाइएको थिएन, अहिले त्यो गाडी एसपी सापले प्रयोग गर्दै आउनुभएको छ ।’
अपराध महाशाखाका प्रवक्ता समेत रहेका (एसपी) नरेन्द्र उप्रेतीले अहिले प्रयोग गरिरहेको ‘बा ८ च ९९३२’ नम्बरको हुण्डाई कम्पनीको गाडी यातायात ब्यवस्था कार्यालय बाग्मतीको रेकर्डमा ‘जोन्से ट्रेडर्स’ पोखराको नाममा दर्ता भएको देखिएको छ । जोन्से ट्रेडर्सका नाममा दर्ता भएको उक्त गाडी २०६९ साल असोज २३ गते गण्डकी अञ्चल यातायात कार्यालयमा अञ्चलीकरण भएको यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले जनाएको छ ।
प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका एसएसपी र त्यसभन्दा माथिका अफिसरहरुले मात्रै गाडी सुविधा पाउँछन् । इन्चार्जहरुले शान्ति सुरक्षा बहाल गर्ने कामका लागि मात्रै आफ्नो जिल्ला वा क्षेत्रभरी मात्रै सरकारी गाडी चढ्न पाउने प्रावधान रहेको प्रहरी प्रधान कार्यालय कार्य विभागका (एआईजी) पंकज श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे