मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

बुधबार, ३१ साउन २०८०, २० : ५१
बुधबार, ३१ साउन २०८०

आज २०८० साउन ३१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

श्रमिकलाई कोषमा समेट्ने योजना

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । 

भाडा बढ्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । 

माओवादीको विशेष अभियान

माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउन सबै प्रदेशमा संयोजन समितिको संरचना तयार गरेको छ । भदौ १६ देखि सुरु हुने अभियानलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जुममार्फत ७५३ वटै पालिकामा एकसाथ अभियानको उद्घाटन गर्ने तयारी गरिएको छ । 

सामुदायिकलाई बेवास्ता

साउन १६ गते मन्त्रिपरिषद्ले पारित गरेको ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाए । उनीहरूले आपत्ति मात्र जनाएनन्, साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको आह्वान समेत गरे । त्यति गर्दा पनि माग सम्बोधन गरिएन भने भदौ १ गतेदेखि विद्यालय बन्द गर्नुका साथै विद्यालयका सम्पूर्ण सवारी साधन सार्वजनिक स्थानमा ल्याएर पार्किङ गरिदिने धम्कीसमेत दिए । 

समाजवादी मोर्चा

भविष्यमा समाजवादको साझा लक्ष्य प्राप्त गर्ने उद्देश्यसँगै चार वटा दल मिलेर घोषणा गरेको समाजवादी मोर्चा अहिले दिशाहीन अवस्थामा देखिएको छ । पछिल्लो समय मोर्चामा आबद्ध दलहरूबीच देखिएको अविश्वासले मोर्चाको भविष्यमाथि नै प्रश्न उठेको छ ।

पर्यटन बोर्ड फेरि विवादमा

नेपाल टुरिजम बोर्ड (एनटीबी) फेरि विवादमा तानिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट पास नहुँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीसहितको टिमले पोखरामा भव्य अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलनको तयारी गरेसँगै बोर्ड पुनः विवादमा तानिएको हो । 

एआईजी सरुवा गर्न चलखेल

 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गर्न चलखेल सुरु भएको छ । प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक छन् । उनीहरुको पदस्थापन भएको ४ महिना पूरा भएको छ । चार महिनामै एआईजीको सरुवा प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेसँगै प्रहरीमा असन्तुष्टि देखिएको छ ।

मिटरब्याज समस्या

मुलुकभरमा हालसम्म मिटरब्याज सम्बन्धी २३ हजार ८ सय ५२ उजुरी परेको छ । सातै प्रदेशका कुल ७७ वटा जिल्लामध्ये मधेसको आठ जिल्लामा १८ हजार ३५६ र लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा १ हजार ८८९ गरी नौ वटा जिल्लामा मात्रै २० हजार २४५ उजुरी दर्ता भएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।

एमालेभित्र तरङ्ग

दुई कार्यकाल गरेर शीतल निवासको सात वर्षे बसाइ पूरा गर्दै गत फागुनमा निजी जीवनमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम पछिल्ला दिनमा एमालेको राजनीतिसँग जोडिन थालेको छ । जसले पार्टीभित्र र बाहिर एक खालको तरङ्ग नै उत्पन्न गरेको छ ।

बालुवाटार बैठक

र्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीको अभिव्यक्तिलाई लिएर बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा गम्भीर समीक्षा भएको छ । सुन प्रकरणलाई लिएर एमालेले संसद्को गतिरोध जारी राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बोलाएका थिए । सो बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रममन्त्री शरदसिंह भण्डारी सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप