सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चीन र दक्षिण एसियाबीच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

बुधबार, ३१ साउन २०८०, १७ : २४
बुधबार, ३१ साउन २०८०

कुनमिङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् । चीनको कुन्मिङमा आयोजित १६ औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।  अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताए ।

सम्बोधनका क्रममा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनुपर्ने पनि उल्लेख गरे । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालको जोड थियो । 

ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे ।

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि उनको भनाइ थियो । दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि  कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा  आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ थियो ।  

दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो । यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबिचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

उनले डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृंखलाहरुको साझेदारी,  कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई  प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिन सक्ने बताए ।

दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको  प्रतिबद्धता दोहोर्‍याउँदै ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरे ।

मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र  चीन तथा भारतका बजारहरू सम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि उनले उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप