हुम्लामा जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ ।
विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन् ।
सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।
“हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन”, उनले भनिन् । नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन । बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन् ।
जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोखे । आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले दुःखेसो पोखे ।
अस्पतालका चिकित्सक डा.रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । “बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन”, उनले भने । सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली