भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन

काठमाडौँ । भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरूप करिब ६.९ करोड रुपैयाँ लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो । यस नवनिर्मित संरचनामा दुई वटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् । यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्नेछ ।
यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ ।
यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्याएको नेपाल स्थित भारतीय दूतावासले जानकारी दिएको छ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान्त्वना जित निकाल्दै आलोचना मत्थर पार्ने धुनमा आयोजक पाकिस्तान र बंगलादेश
-
तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’