आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
विवादमा शैक्षिक संस्था

सुर्खेत बहुमुखी क्याम्पसमा करिब २० लाख हिनामिना, क्याम्पस प्रमुखको राजीनामा माग

आफू खुसी करारमा कर्मचारी नियुक्त गर्दै मध्यपश्चिम विश्वविद्यालय, पदपूर्ति कार्य स्थगन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
बुधबार, ३१ साउन २०८०, ०६ : ४१
बुधबार, ३१ साउन २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसमा यतिबेला विवाद नै विवाद छ । मध्यपश्चिम विश्वविद्यालयमा करार कर्मचारी नियुक्तिको विषयमा विवाद छ भने बहुमुखीमा लाखौँ रकम हिनामिना भएको भन्दै विवाद उत्कर्षमा पुगेको छ । 

स्मरण रहोस्, यी दुबै कर्णालीकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा चिनिन्छन् । अहिले यिनै शैक्षिक संस्था विवादले आन्दोलन गर्ने थलोको रुपमा पनि चिनिन थालेका छन् ।  सुर्खेत बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकै संरक्षणमा २० लाख हिनामिना भएको भन्दै माओवादी निकट विद्यार्थी संगठन, नेविसंघ लगायतका संगठनले संयुक्त रुपमा आन्दोलन चर्काइरहेका छन् । २६ साउनदेखि क्याम्पस परिसरको अवस्था तनावग्रस्त छ ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख माधव खनालको राजीनामा माग्दै पुतला जलाउनेदेखि प्रशासनमा तालाबन्दीसमेत गरेका छन् । अखिल क्रान्तिकारीका विद्यार्थी नेता हिक्मत शाही क्याम्पस प्रमुखले राजीनामा नदिई, आफू बिरामी भएको बहानामा घरमा सुतिरहेको बताए ।

उनले भने, ‘क्याम्पस प्रमुखले कर्मचारीको सेटिङमा भ्रष्टाचार लुकाउन खाजेका छन् । हिनामिनाको रकम छानविन हुनुपर्ने र क्याम्पस प्रमुखको राजीनामा हाम्रो माग हो ।’
यद्यपि यस प्रकरणमा केन्द्रबाट नै लेखाप्रमुखसहित ३ जनालाई निलम्बन गरिएको छ । विद्यार्थीहरुले लेखाशाखामा समेत तालाबन्दी गरेका छन् भने क्याम्पसको सवारी साधन पनि बन्द गरिदिएका छन् ।

विद्यार्थी नेता शाहीले स्ववियूले पनि उक्त घटनालाई खासै मतलव नगरेको विडम्वनापूर्ण अवस्था रहेको बताए । यद्यपि स्ववियू सभापति अक्कल बहादुर सिजापति भने आर्थिक हिनामिनाको छानविन हुनुपर्ने तर, क्याम्पसमा तालाबन्दी नै गर्ने पक्षमा आफू नभएको बताए । 

ताला लगाउने प्रवृत्तिले क्याम्पस झन् धराशयी बन्दै गएको सिजापतिको तर्क छ । तालाबन्दी गरेपछि हिनामिना भएको रकम असुलभन्दा बढी विद्यार्थीको पढाईमा क्षति हुने उनको भनाइ छ ।

निलम्बनमा परेका लेखाप्रमुख धर्मराज शाही आफूले घटना बाहिर ल्याइदिएकै कारण निलम्बनमा पारिएको बताउँछन् । आफूमाथि घटना मिलाउन दबाब आएको तर आफूले बाहिर ल्याइदिएपछि क्याम्पस प्रमुख, रजिस्ट्रार मिलेर निलम्बन गरेको उनको आरोप छ ।

उनले भने,‘खासमा लेखा सहायक ईश्वरी रेग्मीमाथि रकम हिनामिनाको तथा क्याम्पस प्रमुखमाथि संरक्षणको आरोप लागेको छ ।’ विगत दुई आर्थिक वर्षको गरी करिब २० लाख बढी रकम लेखाको आम्दानी शाखाबाटै गायब भएको शाहीको दाबी छ ।

उक्त विषयमा पटक–पटक बुझ्न खोज्दा पनि क्याम्पस प्रमुख माधव खनालसँग सम्पर्क हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालयमा विवाद नै विवाद
यसअघि सम्बन्धनको विषयलाई लिएर विश्वविद्यालयका उपकुलपति विरुद्ध आन्दोलन चर्किएको थियो । पछि प्रधानमन्त्री कार्यालयले नै सम्बन्धनको प्रक्रिया रोक्न भनेपछि विवाद मत्थर भयो । अहिले विश्वविद्यालयले गरेको विज्ञापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । 

विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । १८ साउनमा सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको छ । 

उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको हो । विश्वविद्यालयको सेवा आयोगलाई बेवास्ता गर्दै हरेक वर्ष कर्मचारी भर्ना गरेपछि विश्वविद्यालयकै कर्मचारी र कर्मचारी संगठनहरु विरोधमा उत्रिएका छन् । उनीहरुले करार नियुिक्तको विरोध जनाएका छन् । 

विश्वविद्यालयको शिक्षक–कर्मचारी नियमावली, २०६७ (छैटौं संशोधन २०७९) को नियम ५(२०) मा विश्वविद्यालय सेवाको पदमा शिक्षक तथा कर्मचारीको नियुक्ति र बढुवाका लागि सिफारिस गर्ने आधार र कार्यसम्पादन मूल्याङ्कन कार्यकारी परिषद्को सिफारिसमा सेवा आयोगले तोक्ने प्रावधान छ । 

सिफारिसका आधारमा आयोगले विज्ञापन गरेर ६ महिनाभित्र स्थायी जनशक्ति दिन सक्छ । रिक्त वा नयाँ दरबन्दी भएमा कार्यकारी परिषदले निर्णय गरेर पदपूर्तिको लागि सेवा आयोगलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । यद्यपि विश्वविद्यालयले यस विपरीत २०७५ फागुन यता कार्यकारी परिषद्ले सेवा आयोगलाई सिफारिस गरेको छैन ।

वर्तमान उपकुलपति प्राडा नन्दबहादुर सिंहले सेवा आयोगलाई पङ्गु बनाउने र आफूखुसी कर्मचारी भर्ना गर्ने काम गरिरहेको कर्मचारी संगठनहरुको आरोप छ । 
अधिकांश स्थायी दरबन्दी नै रिक्त राखेर विश्वविद्यालयले धमाधम करारमा कर्मचारी भर्ना गरिरहेको छ । यसरी करार र आंशिक कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । 

केन्द्रीय कार्यालयमा कर्मचारीतर्फ ९७ जनाको स्थायी दरबन्दी छ तर अहिले कार्यरत विभिन्न तहका कर्मचारीको संख्या १३७ छ । त्यसमा पनि अधिकांश करार र ज्यालादारीमा नियुक्त गरिएका छन् । 

मुख्य सहायक पदमा २१ जनाको स्वीकृत दरबन्दी रहेकोमा ३३ जना कार्यरत छन् । कार्यरतमध्ये २० जना मात्रै स्थायी हुन् । बाँकी १० जना करार, दुई जना मासिक ज्यालादारी र एक जना दैनिक ज्यालादारीका हुन् । 

प्राध्यापकतर्फ स्वीकृत दरबन्दी १० जनाको छ । जसमा दुई जना स्थायी र दुई जना करारमा छन् । ६ जनाको पद रिक्त छ ।

उपप्राध्यापकमा स्वीकृत दरबन्दीभन्दा दोब्बरले बढी छन् । ४९ जनाको दरबन्दी रहेकोमा १६१ जना कार्यरत छन्, जसमा १२२ जना स्थायी र ३९ जना करारका हुन् । 
स्वीकृत दरबन्दी अनुसार विश्वविद्यालय सेवा आयोगबाट स्थायी पदपूर्ति गर्नुपर्नेमा करारमा कर्मचारी र प्राध्यापक नियुक्त गरिएको भन्दै आफूहरुले विरोध जनाएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए । 

कर्मचारी संगठनहरुले संयुक्त रुपमा २६ साउनमा ज्ञापन पत्र बुझाएका थिए ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले २८ वैशाखमै अर्को आदेश नदिएसम्म सम्बन्धन तथा पदपूर्ति प्रकिया रोक्न निर्देशन दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयको निर्देशन अवज्ञा गरी निजी तथा अन्य कलेजमा पढाउने उपप्राध्यापकलाई नियुक्त गर्ने काम भएको छ । मन्त्रिपरिषद् कार्यालयले मंगलबार पुनः अर्को पत्र पठाउँदै पदपूर्ति प्रकृया रोक्न निर्देशन दिएको छ । 

pm karyalayako patra2

‘शिक्षक तथा अन्य कर्मचारी गरेर करिब १०० जनाको हाराहारीमा विज्ञापन छ, त्यो विभिन्न समयको हो,’ अध्यक्ष गुरुङले भने,‘१८ साउनमा विज्ञापन फेरि आयो ।  १३ साउनमा पनि विना विज्ञापन कार्यकारीले स्कुल अफ ल मा चारजना सिधै सहप्राध्यापकमा नियुक्त गरे ।’ विज्ञापन स्थगित गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । 

उता विश्वविद्यालयका रजिस्ट्रार नारायणप्रसाद पौडेलले भन्छन्,‘त्यस विषयमा कर्मचारी, प्राध्यापक संगठनहरुसँग छलफल भइरहेको छ । केही विवाद छैन ।’ अहिले भएका विज्ञापन आन्तरिक स्रोतमा करार विज्ञापन गरिएको उनले बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप