मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, ३० साउन २०८०, २० : २६
मङ्गलबार, ३० साउन २०८०

आज २०८० साउन ३० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् । अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए । 

मन्त्रिपरिषद्को निर्णय

सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।

आ–आफ्नै गुनासा

संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको सत्तारुढ दलको बैठकमा प्रमुख दलका शीर्ष नेताहरू एजेण्डामा केन्द्रित रहेर छलफल गर्नुभन्दा पनि आ–आफ्नो गुनासो पोखेर फर्केका छन् ।

सुन तस्करी प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समातिएको तस्करीको सुनबारे छानबिनलाई लिएर अहिले सत्ता पक्ष र प्रतिपक्षी दल आमनेसामने भएका छन् । प्रतिपक्षीले न्यायिक समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै संसद चल्न दिएको छैन । सत्ता पक्षले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले थप समिति बनाउन आवश्यक नरहेको तर्क गर्दै आएको छ ।

बढ्दै छ कुकुरले टोक्ने दर

कुकुरले टोक्दा दिइने रेबिज विरुद्धको खोप कति पटक लगाउने भनेर धेरै जना अलमलमा हुन्छन् । जबकि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेबिज विरुद्धको खोप लगाउने मात्रा तोकेको छ । अस्पतालमा प्रायः ५ पटकसम्म रेबिज विरुद्धको खोप लगाइन्छ । 

क्षेत्रीय पार्टीतर्फ मोडियो पूर्वमा बहस

पहिचानको आन्दोलन सफल बनाउन क्षेत्रीय पार्टीहरु निर्माण गर्ने विषयमा पुनः बहस अघि बढेको छ । खास गरी कोशी प्रदेश नामकरणबारे विवाद भएपछियो बहस जोडतोडका साथ अघि बढेको छ । के क्षेत्रीय पार्टी निर्माण हुने बलियो आधार छन् ? कि यो फगत बौद्धिक बहस मात्रै हो ?

साना दलको दुःख 

२०४६ मा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा राजनीतिक दल खोल्ने प्रतिस्पर्धा तीब्र गतिमा अगाडि बढ्यो । ३० वर्षे निरंकुश पञ्चायती शासनकालमा दलहरूमाथि प्रतिबन्ध लागेको थियो । २०४७ को संविधानले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई अङ्गीकार गरेपश्चात् राजनीतिक दल खोल्ने प्रतिस्पर्धा चलेको हो ।

वैकल्पिक मार्ग खै ?

साउन २२ देखि केही दिन लगातार परेको वर्षाले भीमदत्त राजमार्ग भासियो । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लालाई ७ पहाडी जिल्लासँग जोड्ने सो राजमार्ग पहिरोले भासिएपछि अवरुद्ध भयो  । सुदूरपश्चिमको लाइफ लाइनको रूपमा चिनिने सो राजमार्ग अवरुद्ध भएपछि हाल आंशिक रूपमा मात्रै यातायातका साधन सुचारु छन् । जसले गर्दा यहाँको जनजीवन कष्टमय बनेको छ । 

ढलभित्र खाँदिएको कपनको ‘चखुन्चा खोला’

छाता ओढेर कपनको साततलेमा खहरे खोला छेउ भेला भएका स्थानीय एक अर्कासँग कुरा गरिरहेका थिए । उनीहरू काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सिमाना रहेको खहरे ‘चखुन्चा’ खोला खोतल्ने डोजरको बाटो हेरिरहेका थिए । दुईवटा ह्युमपाइपभित्र कोचिएको खहरे खोला पहिलेको अवस्थामा बिउँताएको हेर्न उनीहरूका आँखा उत्सुक भइरहेका थिए । 

पर्यटन विभाग थप ‘शक्तिशाली’ बन्दै

खारेजीको मुखमै पुगेको संघीय पर्यटन विभाग थप शक्तिशाली बनेर ‘कमब्याक’ हुने भएको छ । सरकारले विद्यमान पर्यटन ऐन, २०३५ खारेज गर्दै नयाँ संघीय पर्यटन विधेयक तर्जुमा गर्ने भएसँगै विभाग थप शक्तिशाली बन्ने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप