आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रेबिज

बढ्दै छ कुकुरले टोक्ने दर

रेबिजविरुद्धको खोप कति पटक लगाउने ?
मङ्गलबार, ३० साउन २०८०, १२ : २८
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । कुकुरले टोक्दा दिइने रेबिज विरुद्धको खोप कति पटक लगाउने भनेर धेरै जना अलमलमा हुन्छन् । जबकि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेबिज विरुद्धको खोप लगाउने मात्रा तोकेको छ । अस्पतालमा प्रायः ५ पटकसम्म रेबिज विरुद्धको खोप लगाइन्छ । 

विगतमा रेबिज विरुद्धकोे खोप लगाउने प्रोटोकलमा मासुमुनि खोप ५ पटकसम्म लगाइन्थ्यो । तर, पछिल्लो समय नेपालमा रेबिज विरुद्धको खोप छालामा मुनि ४ पटकसम्म लगाइन्छ । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज विरुद्धको खोप छालामुनि र मासुमुनि  लगाइन्छ । मासुमुनि ४ पटकसम्म खोप लगाउनु पर्छ भने छालामुनि ३ पटक लगाए हुने डा. पुनले बताए । जिल्लाहरूमा पछिल्लो समय मासुमुनि खोप नलगाएर छालामुनि लगाउन थालिएको चिकित्सकहरू बताउँछन् ।

छालामुनि र मासुमुनि खोप लगाउँदा के हुन्छ  ?

डा. पुनका अनुसार मासुमुनि खोप लगाउनुलाई ‘इन्टर मस्कुल’ भनिन्छ भने छालामुनिलाई ‘इन्टर ड्रमल’ भनिन्छ । 

रेबिज विरुद्धको छालामुनि दिइने खोप दुइटा पाखुरामा ३ पटक लगाइने डा. पुनले बताए । यसरी ३ पटक लगाउने खोप एक साताभित्र लगाइ सक्नुपर्छ । उनी भन्छन्, ‘छालामुनि खोप लगाउँदा खोप लगाउने अवधि चाँडो सकिन्छ ।’ 

यस्तै, मासुमुनि लगाउँदा एक भाइल खोप नै लगाउनु पर्छ । मासुमुनि लगाइने खोपको अवधि १४ दिन हुन्छ । रेबिज विरुद्धकोे खोप मासुमुनि लगाउने खोपभन्दा छालामुनि लगाउँदा ७ दिन चाँडो सकिन्छ । 

कुकुरले टोकेको कति समयमा खोप लगाउने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रेबिज विरुद्धको खोप आर्थिक वर्ष यस्तै आ.व.२०७९/०८० मा १ लाख २५ हजार ९० जनाले लगाएका थिए । रेबिज विरुद्धकोे खोप लगाउने सङ्ख्या गत वर्ष भन्दा २३ हजार ८९४  ले बढी हो । २०७८/२०७९ मा एक लाख १ हजार १९६ जनाले मात्रै खोप लगाएको सूचना अधिकारी भक्त खड्काले जानकारी दिए  ।  

रेबिज भाइरस प्राणघातक रोग भए पनि समयमै खोप लगाएमा निको हुन्छ । रेबिज भाइरस भएका कुकुर तथा अन्य जनावरले टोक्ने बित्तिकै सकेसम्म चाँडो खोप लगाउनुपर्छ ।   

डा. पुन भन्छन्, ‘कुकुरले टोकेको कति समयमा खोप लगाउने भन्ने हुँदैन । जतिसक्दो चाँडो रेबिज विरुद्धको खोप लगाउनु पर्छ ।  कहिलेकाहीँ खोप लगाउन विभिन्न कारणले एक सातापछि आइपुग्नु हुन्छ । ढिलो भए पनि लगाइदिन्छौँ । तर, जतिसक्दो चाँडो रेबिज विरुद्धको खोप लगाउनु वेश ।’

किन बढ्दै छ कुकरले टोक्ने दर ?

सडकका भुस्याहा कुकुरले मात्रै नभएर घरभित्र पालेका कुकुरले पनि टोक्ने गरेका छन् । डा. शेरबहादुर पुन भन्छन्, ‘घरपालुला कुकुरलाई नुहाइदिँदा, खाना खुवाउँदा, खेलाउँदाको समय टोकेर पनि बिरामी अस्पताल आउँछन् ।’

कतिपय कुकुर घरपालुवा भनिएपनि बाहिर गएर अन्य कुकुरसँग संसर्ग भई घरमा आउने अनि टोक्ने गर्दा रेबिज विरुद्धको खोप लगाउने दर बढेको उनको अनुमान छ । 

अझै पनि समुदायमा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउनु पर्दैन भन्ने भन्ने धारणा रहँदा ती कुकुरले टोक्दा अकालमै ज्यान गुमाउनेहरू पनि छन् । त्यसैले, घरपालुवा कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप नियमित लगाउनै पर्छ । खोप लगाएको कुकुरले टोके पनि खोप लगाउनु पर्छ । 

काठमाडौँ उपत्यकामा मानिसको आवतजावत बढी हुने र धेरै कुकुर सडकमा छाडा हिंड्नाले सवारी गुड्दागुड्दै वा पैदल हिँड्दा टोक्ने गरेका छन् ।   

अन्य समयमा भन्दा कुकुरले जुन बेलामा बच्चा जन्माउँछ, त्यसबेला मानिसलाई बढी टोकेको पाइएको उनको अनुमान छ । 

‘कुनै क्षेत्रमा केही बहुला जनावरले घरी घरी धेरैलाई टोक्दा, अन्य मानिसहरू त्रसित भई टोक्दै नटोके पनि रेबिज विरुद्धको  खोप लगाउने गर्छन्ऽ’ उनले भने, ‘बहुला जनावरले टोक्दा डराएर एकैपटक धेरै जनाले लगाउँदा कहिलेकाहीँ खोप सर्टेज पनि हुन्छ ।’ 

कुकुरले टोक्दा टिटनासको सुईले काम गर्दैन 

कतिपय मानिस कुकुरले टोक्यो भने टिटनासको सुई लगाएर ढुक्क भएर बस्ने चलन छ । कुकुर तथा जङ्गली जनावरले टोक्दा अनिवार्य रूपमा रेबिज विरुद्धकोे खोप लगाउनु पर्ने डा. पुनको भनाइ छ । 

उनले भने, ‘धेरै जनामा कुकुरले टोक्दा टिटनासको सुई लगाएर  अस्पताल ढिला आउनु हुन्छ । रेबिज विरुद्धको खोप नलगाए जोखिम कम हुँदैन ।’ कुकुरले टोक्दा टिटनासको खोप लगाएर निको हुन्छ भन्ने भ्रममा नरहन उनको सुझाव छ ।  

रेबिज विरुद्धको खोप कहाँ लगाइन्छ ?

काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज विरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क लगाइन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सातै प्रदेशमा रेबिज विरुद्धको खोप पाइन्छ । 

रेबिज विरुद्धको इम्युनोग्लोबुलिन खोप कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पाइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप