कविता : मलाई समवेदना चाहिएको छैन
म मरेपछि तिमीले दिने हरेक चिज समवेदना हुने छ
अहँ, मलाई समवेदना चाहिएको छैन
बस मलाई आफू हुनुको आभाष दिलाइदेऊ
एक दिन सकिनेछ
मेरो झिनो आशा
अनि चुँडिनेछ मेरो
अन्तिम सास पनि
आउँछौ भने तिमी
मेरो आस मर्नुअघि नै आउनु
केही ल्याउँछौ भने तिमी
मैले अन्तिम सास फेर्नुअघि
आफैँलाई लिएर आउनु
तर अहँ
मलाई समवेदना चाहिएको छैन
सम्झिएर मन अमिलो बनाऊ
या लासको छेउमा बसेर पश्चताप गर,
चाहे आँसु बगाऊ
रोऊ, कराऊ, चिच्याउ
अझ सक्छौ भने
मेरै नाम लिएर चिच्याऊ
विचरा भन,
माया देखाऊ
या गाली गर
तिमीले जे गरे पनि
त्यो समवेदनाभन्दा
अरू केही हुनै सक्दैन
अहँ,
मलाई समवेदना चाहिएको छैन
म मरेपछि पोखिने
भावना, शब्दहरू
अहिले म जिउँदै छँदै
पोखिदेऊ
मेरै सामु
सक्छौ भने
म जिउँदो हुँदै
सम–भावना देखाऊ
सक्दैनौ सु–भावना देखाऊ
त्यो पनि सक्दैनौ ?
मप्रति त्यो मनका कु–भावना पोखिदेऊ
रिस, राग, घृणा, द्वेष त होला नि
हो त्यही पोखाइदेऊ मेरै सामु
तिमीले दिने हरेक चिजलाई
म आफूभित्र राख्ने छु
जसरी सागरले राखेको छ
लुकाएर मोतीलाई
जमिनले आफ्नो गर्भमा
लुकाएर जसरी राखेको छ
अनगन्ती खनिजलाई
आँखाले पनि चुहिन नदिईकन
राखेको छ नि
टिलपिल टिलपिल आँसुलाई
ठ्याक्कै त्यसैगरी
म मरिसकेपछि
तिमीले चुहाउने आँशु,
पश्चतापको के अर्थ ?
मेरो लाशको छेउमा बसेर
तिमीले पोख्ने माया, प्रेम,
देख्न सकौला र मैले ?
मलाई कल्पेर तिमीले
आफ्नो मन अमिलो बनाएको
महसुस गर्न सकौँला र म ?
त्यसैले
जिउँदो हुँदैखेरि बोलिदेऊ
सुनाइदेऊ आफ्नो मनको कुरा
सुनिदेऊ मेरो पनि
सोधिदेऊ न कहिलेकाहीँ त
के छ खबर भनेर
सक्छौं समय देऊ, साथ देऊ,
यो सास बाँकी रहँदै
विश्वास देऊ,
भरोसा देऊ,
माया देऊ
सक्दैनौ ?
बरु घृणै देऊ
रिसाइदेऊ
रिसाएर भए पनि
आफू हुनुको आभाष देऊ
तिमीले जे दिन्छौँ
म त्यसमै खुसी हुने छु
म मरेपछि तिमीले
दिने हरेक चिज समवेदना मात्रै हुने छ
अहँ मलाई समवेदना चाहिएको छैन
बस मलाई आफू हुनुको आभाष दिलाइदेऊ