माओवादी विशेष अभियान : तीन चरणमा के के गर्दैछ ?
काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
भर्खर सकिएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार पहिलो चारणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको छ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया र टोलटोलमा भेला, प्रशिक्षण गर्ने रहेको छ ।
तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनपरिचालन गर्ने तथा सुशासन र समृद्धिको पक्षमा सरकारले गरेको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम तय गरेको छ ।
बैठकले आगामी भदौ १६ गते भव्य समारोहका बीच ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने निर्णय गरेको छ । अभियानको कार्यविधि, योजना, लक्ष्य निर्धारण गरी माओवादीले मातहतका कमिटीलाई सर्कुलर जारी गरेको छ ।
यस्तो छ तीन चरणको अभियान
पहिलो चरण: बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग संबन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण,
दोस्रो चरण: पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया,
तेस्रो चरण: जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम ।