संसद बैठक
संसदमा एमाले सांसदको नाराबाजी, रास्वपा सांसदले टेबल ठोके
सोमबार, २९ साउन २०८०, १५ : १४
काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरुले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले सुन तस्करहरुलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । एमाले सांसदहरुले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।
एमाले सासंदले अबरोधलाई जारी राखेपछि सभामुखले बैठक भाद्र ३ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् ।