आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

सप्तकोशीमा पानीको बहाव घट्यो

सोमबार, २९ साउन २०८०, १२ : ३५
सोमबार, २९ साउन २०८०

विराटनगर । सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । 

पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । 

यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातो बत्ती बाल्ने गरिएको छ । 

यस्तै दुई लाख क्युसेक प्रतिसेकेण्ड कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड पानीको बहाव धान्न सक्ने हो । सन् १९६८ मा ७ लाख ८८ हजार २०० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको थियो । यस्तै सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको इतिहास छ । 

गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै वि.सं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । त्यसबेला सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप