कोशी प्रदेशसभाको बैठक भदौ १ गतेका लागि आह्वान

विराटनगर । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका छन् । यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।
प्रदेशसभा पुनः नियमित सञ्चालन हुन नसके संसद्मा दर्ता भएको बजेटसम्बन्धी अध्यादेश निष्क्रिय हुने सम्भावना छ । उक्त अध्यादेश संसद्मा गत असार १४ गते पेश भएको थियो । संविधानअनुसार संसद्मा पेश भएको ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनुपर्ने व्यवस्था छ । सरकारले भने प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको जनाएको छ ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनपछि पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । सोही अधिवेशनको अन्तिम बैठकले (फागुन १७ गते) प्रदेशको नाम ‘कोशी’ नामकरण गर्यो । १३ वटा बैठक बसेर फागुन १७ गते स्थगित भएको प्रदेशसभाको बैठक त्यसयता निरन्तर चल्न सकेको छैन । नामकरणको विरोधमा पहिचानवादीहरूको प्रदर्शन बढ्दै गएपछि २०७९ चैत २९ गते प्रदेशसभाको प्रथम अधिवेशन नै अन्त्य भयो ।
दोस्रो तथा बजेट अधिवेशन २०८० जेठ १४ गते बोलाइयो । उक्त अधिवेशनभर ६ वटा बैठक बस्यो । त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः प्रदेशसभाको अधिवेशन अन्त्य गरियो । फेरि असार १४ गते तेस्रो अधिवेशन आव्हान भयो । तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि उक्त अधिवेशन आव्हान गरिएको थियो । कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन सकेनन् । त्यसपछि भने प्रदेशसभाको बैठक बस्नै सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड