आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

इन्डिजविरुद्धको शृंखला हारेपछि भारतीय प्रशिक्षक भन्छन्- ‘तीन खेलाडीबाट प्रभावित भएँ’

सोमबार, २९ साउन २०८०, ११ : ०८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले वेस्ट इन्डिजविरुद्धको  टीट्वान्टी शृंखलामा आफ्नो टोली पराजित भए पनि तीन खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताएका छन् । प्रमुख प्रशिक्षक द्रविडले यशस्वी जैसवाल, तिलक वर्मा र मुकेश कुमारको प्रदर्शनबाट आफू प्रभावित भएको बताए ।

वेस्ट इन्डिजविरुद्घको पाँच खेलको टीट्वान्टी क्रिकेट शृंखलामा भारतीय टोली ३—२ ले पराजित भएको थियो । आइतबार राति सम्पन्न शृंखलाको पाँचौं तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले भारतलाई आठ विकेटले हराएको थियो । खासगरी ब्याटिङमा कमजोर देखिएको भारतीय टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । सूर्यकुमार यादव (६१ रन) र तिलक वर्मा (२७ रन) बाहेक भारतका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

भारतीय टोलीका दुबै ओपनर ब्याट्सम्यानले दोहोरो संख्यामा समेत रन बनाउन सकेनन् । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने १८ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ७१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।  दुई ठूला प्रतियोगिता एसिया कप र विश्वकपको संघारमा भारतीय टोलीको निरन्तर खराब प्रदर्शनलाई लिएर क्रिकेट अधिकारीहरुले पनि चिन्ता ब्यक्त गरेका छन् । यद्दपि, एसिया कप र विश्वकप दुबै ५० ओभरको प्रतियोगिता हुन् । 

प्रमुख प्रशिक्षक द्रविड भने वेस्ट इन्डिज भ्रमणमा रहेको भारतीय टोलीमा सिनियर खेलाडीहरु अनुपस्थित रहेकाले पनि सोचेजस्तो नतिजा नआएको दाबी गर्छन् । ‘अनुभवी खेलाडीहरु टोलीमा थिएनन् । अधिकांश युवा खेलाडीलाई अवसर दिइएको थियो । त्यसैले पनि सोचेजस्तो नतिजा आउन सकेन,’ द्रविड भन्छन् ।  उनले केही खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको पनि बताए । खासगरी जैसवाल, वर्मा र मुकेश कुमारको खेलबाट आफू प्रभावित भएको उनले बताए । ‘यो शृंखलामा यशस्वी जैसवाल, तिलक वर्मा र मुकेश कुमारले निकै राम्रो प्रदर्शन गरे । भविष्यमा यी खेलाडी भारतीय टोलीको सफलताको आधार बन्न सक्छन्,’ उनले भनेका छन् । 

वेस्ट इन्डिज भ्रमणका क्रममा खेलिएको टेस्ट शृंखलामा जैसवालले सतक बनाएका थिए । जैसवालले आफ्नो ‘डेब्यू’ टेस्टमै सतक प्रहार गरेका हुन् । यसका अतिरिक्त वेस्ट इन्डिजविरुद्दको चौथो टीट्वान्टी खेलमा पनि उनले अर्धसतक प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यान जैसवालले केवल ५१ बलमा तीन छक्का र ११ चौकाको मद्दतले अविजित ८४ रन बनाएको थियो । उक्त खेलमा भारत नौ विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप