सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
समाचार

सप्तकोशीमा ३४ वर्षयताकै पानीको बहाव उच्च

ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै
सोमबार, २९ साउन २०८०, ०८ : ०७
सोमबार, २९ साउन २०८०

विराटनगर । पहाडी जिल्लामा भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो ।

‘५६ वटै ढोका खोलिएको लामो समयपछिको इतिहास हो । अहिलेसम्म सबैतिर सुरक्षित अवस्था नै छ । हामी सुरक्षाको लागि त्यस स्थलमा जाँदैछौं । पहाडतिर पानी निरन्तर परिरहयो भने अवस्था झनै खतनाक हुनसक्छ । अहिले सुनसरीको पहाडी इलाकामा पानी रोकिएको जानकारीमा आएको छ,’ उनले भने, ‘रातिको तुलनामा पानीको बहाव अहिले अलिक कम भएको छ ।’

पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको उनले बताए । उनले यो रेकर्ड ३४ वर्षयताकै उच्च भएको जानकारी दिए ।

सप्तकोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । पानीको बहाव उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । एसपी ढकालले स्थिति खतरामुक्त रहेको भएपनि ठूला सवारी साधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको छ । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । 

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै वि.सं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए ।

त्यसबेला सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएका थिए ।

ब्यारेजको क्षमता कति ?

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुईलाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ ।

ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड पानीको बहाव धान्न सक्ने हो । सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको थियो । यस्तै सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको इतिहास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप