आज २०८० साउन २८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा जनमत पार्टीलाई सरकारमा सामेल गर्न माओवादीले फिर्ता बोलायो मन्त्री मोदीलाई, ओलीको प्रश्न– सुन तस्करीबारे निष्पक्ष छानबिन आयोग गठन गर्न किन नहुने ?, एउटै प्रकरणमा गिरफ्तार गरिएका अन्यलाई थुनामा पठाउँदा सुनील शर्मा कसरी छुटे ?, ‘सरकार फेरबदलको पक्षमा छैन कांग्रेस’, रोहन अडुकिया किन पक्राउ परे र किन छुटे ?, वर्षाले काठमाडौँको जनजीवन प्रभावित, दोहोरो अंकले बढ्यो नेप्से लगायत छन् ।
१. जनमत पार्टीलाई सरकारमा सामेल गर्न माओवादीले फिर्ता बोलायो मन्त्री मोदीलाई
नेकपा माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारमा जनमत पार्टीलाई सामेल गराउन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरिएको हो । जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउन लागिएको हो ।
२. ओलीको प्रश्न– सुन तस्करीबारे निष्पक्ष छानबिन आयोग गठन गर्न किन नहुने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीबारे निष्पक्ष छानबिन आयोग गठन गर्न किन नहुने भन्दै प्रश्न गरेका छन् । तस्करी प्रकरणमा सरकारको संलग्नता नभए किन तर्सिएको भनेर पनि उनले प्रश्न गरे ।
३. एउटै प्रकरणमा गिरफ्तार गरिएका अन्यलाई थुनामा पठाउँदा सुनील शर्मा कसरी छुटे ?
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्मा अदालतको आदेश अनुसार रिहा भएका छन् तर सोही प्रकरणमा पक्राउ परेका अन्यलाई भने अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कांग्रेस सांसद शर्माको हकमा नरम बनेको अदालतले सोही दिन म्याद थपका लागि लगिएका डाक्टरहरु रञ्जितकुमार यादव, अमित चौधरी, एरिना शाह, मनित चौधरी र श्रद्धा शिल्पकारलाई भने थुनामै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको छ । एउटै मुद्दामा एकैपटक पक्राउ परेकामध्ये अदालतले सांसद शर्माको हकमा मात्रै सहुलियत दिएर अन्यको हकमा म्याद जारी गर्नुको कारण भने खुलाएको छैन ।
४. ‘सरकार फेरबदलको पक्षमा छैन कांग्रेस’
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस तत्काल सरकार बेरबदलको पक्षमा नरहेको प्रस्ट पारेका छन् । जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार फेरबदलको बारेमा चर्चासमेत नभएको जनाए ।
५. रोहन अडुकिया किन पक्राउ परे र किन छुटे ?
नयाँ दिल्लीबाट काठमाडौँ ओर्लिएका रोहन अडुकिया साउन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरुले नियन्त्रणमा लिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाउन खोज्दा ब्युरोले उनलाई पक्राउ गर्नुपर्ने कारण नभेटिएको भन्दै जिम्मा लिन अस्वीकार ग¥यो । परिणामस्वरुप उनी छुटेका छन् । तर, उनलाई किन पक्राउ गरियो र किन छाडियो भन्ने प्रश्न सम्बन्धित निकायले प्रस्ट पार्न सकेको छैन ।
६. वर्षाले काठमाडौँको जनजीवन प्रभावित
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
७. दोहोरो अंकले बढ्यो नेप्से
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको ९७ करोड १८ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
८. विशेष अभियानका लागि माओवादीले प्रवासबाट १५ लाख रुपैयाँ उठाउने
नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय गरेको छ । शुक्रबार नवनियुक्त प्रवास कमिटी इन्चार्ज सुरेन्द्र कार्कीको अध्यक्षतामा बसेको जुम बैठकले विविध निर्णय गर्दै अभियान सफल बनाउन बजेटको व्यवस्था गरेको हो ।
९. सम्पत्ति कुम्ल्याउन विवाहको नाटक गरेकी महिलालाई जेल
ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई उक्त सजाय तोकेका हुन् । त्यसैगरी भावनाले झुक्यानमा पारी आफ्नो नाममा पास गरेको जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ । विवाहको नाटक गरी सम्पत्ति कुम्ल्याएर बिदेसिएकी उनलाई फुर्वा तामाङको जाहेरीका आधारमा चलेको मुद्दाका आधारमा दोषी ठहर गरिएको हो । फुर्वाले भावनासँग विवाह गरेका थिए ।
१०. वन मन्त्रालयमा बजेटको तुलनामा प्रगति शून्य
संघीय सरकारको वन मन्त्रालयमा विभिन्न कार्यक्रमका लागि बजेटको ओइरो लागे पनि प्रगति शून्यजस्तै देखिएको छ । पछिल्लो समय यो मन्त्रालय राजनीतिक भागबण्डामा एउटा मन्त्री थन्क्याउने थलोको रुपमा मात्र परिणत भएको देखिन्छ ।
प्रतिक्रिया