मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

दलको आन्तरिक लोकतन्त्र आसेपासेको घेरामा

बिहीबार, ०८ चैत २०७४, ११ : २८
बिहीबार, ०८ चैत २०७४

अधिवक्ता नरेन्द्रनाथ योगी

संसदीय विकृति अन्त्यविना आर्थिक विकास र समृद्धि असम्भव        
     आजभोलि सबै राजनीतिक दलहरूले आर्थिक विकास र समृद्धिको कुरा गर्दै मुलुकलाई समृद्धितिर लैजाने आश्वासन बाँडिरहेका छन् । के हो त आर्थिक विकास र समृद्धि ? मुलुकको शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, कृषि र यावत क्षेत्रमा भौतिक निमार्णमा विकास भई नेपालीको घर—घरमा उन्नति, प्रगति सुख शान्ति साथ खानस लगाउन र बस्न (गाँस, बास र कपास) लागि नेपाली जनतालाई  खुशी र सुखी सम्पन्न बनाउने भने हो ।

ती सबै कुरा अहिलेको यथास्थितिमा रहेरै सम्भव छ त ? यही धामी–बोक्सी मान्ने, गुण्डा डन,  कमिसन, भ्रष्टाचार, अनैतिकता जस्ता विकृतिलाई प्रोत्साहन दिने समाज र विदेशीहरूको आडभरोसामा नेपालमा हुर्केको राजनीतिक सस्कार एवम्  घुँडा टेकुवा आत्मसमपर्णवादी चरित्र बोकेका राजनेताबाट सम्भव छ त ? मुलुकको आर्थिक विकास र समृद्धि ? सम्भव यस कारणले देख्न सकिन्छ, हाम्रा राजनेताहरूको कथनी र करनीमा एक रूपता, बानी व्यहोरा र राजनीतिक संस्कारमा परिवर्तन, स्वाधीन, स्वतन्त्र, स्वाभिमानी र सन्तुलित विदेश नीति, गुट उपगुट, नाता गोता, परिवारवाद, भ्रष्ट क्रियाकलाप र भाषणवादबाट मुक्त भई  स्थायी राजनीतिका लागि स्थायी खालको सरकारको लागि कार्यकारी राष्ट्रपतीय शासन पद्धति र संसदीय विकृति र विसङ्गति हटाउन पूर्णसमानुपातिक व्यवस्थापिका ससदको निर्वाचनका लागि दलहरू तयार भएमा । यी नीतिगत परिवर्तनका लागि मुलुकमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भई राष्ट्रपतिको निर्वाचन भइसकेकाले ५ वर्षका लागि यी नाराहरू प्रचारमुखीबाहेक अरू केही हुन सदैनन् । त्यसैले  ५ वर्षसम्म हाम्रा प्रवृत्ति र राजनीतिक संस्कारमा परिवर्तन आउनु आवश्यक छ ।

निश्चित रूपमा २६ वर्ष यता मुलुकमा ससदीय पद्धतिको विकृत सरचना र नीतिका कारणले नेपाल  विश्व गरिबी मुलुकको ११५ मध्ये  सातौँ स्थानमा दर्ज भएको छ । संसदीय विकृति विसङ्गतिले देश र जनताको अवस्थामा परिवर्तन हुनभन्दा शासक दल, तिनका शीर्ष नेता, कार्यकर्ता र आसेपासे (क्रोनिक)हरू नव सामान्त जस्तै धन दौलत, शक्ति र भक्तिले सम्पन्न भएका छन् । संसदीय राजनीतिले आसेपासे, नातागोता, गुट, उपगुट र निश्चित घेरामा बस्नेहरूको आर्थिक विकास र समृद्धि हुने गरेकै छ । संसदीय लोकतन्त्रमा बहुमतको दण्डाले गर्दा विभिन्न पार्टी, सरकार,  सङ्घ, संस्था सहकारी आदिमा आसेपासे, गुट–उपगुट, नोकर चाकर र अन्धभक्ततलाई निकै प्रोत्साहित गरिएको छ । अर्थात लोकतन्त्रको नाममा बहुमतीय खेलेले सरकारदेखि पार्टीमा गुटबन्दी र आसेपासे परिवारवादलाई हुर्काएको छ । यस्ता गुटबन्दी वा बहुमतको दुरपयोगले आसेपासे (क्रोनिक क्यापाटिलिज्म) को जम्म गराएको छ । क्रोनिक क्यापाटिलिज्ममा आसेपासे व्यापार, व्यवसायी, नातागोता, हुनेखाने, अति सम्पन्न (घरानिया परिवार) अर्थात अभिजात वर्ग (हुने खाने उच्च घरानीयहरूः जसलाई इलिट पर्सन भनेर बुझ्नु पर्छ) हरू नेपालको शासन र नीति उनीहरूकै सेरोफेरोमा घुमिरहेको छ । सरकार वा पार्टीमा भन्नुहोस्, त्यहाँ वरिपरि उनीहरूकै घेरा छ  ।

उनीहरूले चोहेको कुरा मात्रै घुमाई फिराई लागू हुने र पार्टी वा सरकारमा तिनै हुने खाने, पहँचवाला, नातपता, आसेपासे क्रोनिकहरू नै रहने गरेको पाइन्छ । उनीहरूको विपक्षमा विचार राख्ने वा असहमति जनाउनेहरू चाहे पार्टीको मूल नेतृत्व वा सरकारमा पुग्नबाट उनीहरूलाई रोकिन्छ, जति सुकै कर्तव्यनिष्ट, इमानदार वा सालिन भए पनि । कसैले आसेपासे र घेराउ वा चाकरी गर्नेहरूको विपक्षमा बोल्ने र उनीहरूले तयार गरेको योजना अर्थात दस्ताबेजमा फरक धारणा राख्ने बित्तिकै त्यस्तो व्यक्तिलाई दूधबाट झिँगा निचोरेजस्तै गरी फ्याँक्ने काम गरिन्छ ।

जबसम्म पुँजीवादी संसदीय व्यवस्थामा रहेका क्रोनिक (आसेपासे) समूहलाई जनता वा कुनै पनि पार्टीबाट निस्तेज बनाउन सकिँदैन, तबसम्म सही, सत्य, फरक विचारले स्थान र प्रोत्साहन पाउँदैन । त्यसैले ससदीय विकृति विसङ्गति जस्ता ः किनबेच, गुट उपगुट र दलालीलाई सरकारदेखि पार्टीसम्म अन्त्य गर्ने बलियो सोचका साथ तपार्इं हामी लाग्न सकेनौँ भने हामीहरू पनि साक्षी किनाराका दोषी वा बलीको बोका हुनेबाहेक अरू केही हुँदैनौँ । त्यसैले स्वच्छ, इमानदार, नैतिकवान, सही सत्यबाटोमा लागेर मुलुक र जनताको सेवा गर्नेका लागि पार्टी वा सरकारमा रहेका क्रोनिक (आसेपासे)हरूलाई तह लगाउने पनि टाउकोमा कात्रा बाँधेर लाग्नुपर्छ अर्थात त्यो सङ्घर्ष गर्न पार्टी वा सरकारभित्रै मोर्चाबन्धी गर्नुपर्छ नत्र भने व्यर्थैमा पार्टीमा समय फाल्नु बेकार छ । बरु त्यसको सट्टा रचनात्मक काम सामाजिक सेवा र स्वरोजगारमूलक क्षेत्रमा समय खर्चेमा आफु र आफ्नो स्वाभिमान बचाउन सकिन्छ कि ? 
जबसम्म  कुनै पार्टी वा सरकारमा आन्तरिक  सहभागितामूलक लोकतन्त्रको अभ्यास व्यावहारिक र यर्थाथमा लागू गर्न सकिँदैन । त्यहाँ कुनै ढङ्गले लोकतन्त्रको मर्म झल्कँदैन ।  त्यसैले भनिन्छ : जहाँ

तपार्इंको सम्मान, इज्जत, कदर हुँदैन, त्यो ठाउँमा जान वा बस्न र कुरा राख्नुको  कुनै अर्थ हुँदैन । त्यसैले सबैको अर्थपूर्ण सम्मान, इज्जत, मानसम्मान, कदर, मूल्याङ्कन, नीति–विधिको व्यावहारिक रूपमा कार्यान्वयन हुँदैन । त्यहाँभित्र विधि विधान र लोकतन्त्रको जतिसुकै बखान गरे पनि आन्तरिक लोकतन्त्र जीवित रहँदैन । आसेपासे वा पेसेवर क्रोनिक समूहहरूको घेरा अर्थात फन्दामा पार्टीको नेतृत्व र सरकारका नेतृत्वहरू रहन्छन् । त्यहाँ कुनै पनि हालतमा आन्तरिक लोकतन्त्र जीवित रहेको हुँदैन ।  जतिसुकै आर्थिक विकास र समृद्धि, प्रगति, अग्रगमन एवम्  परिवर्तनका कुरा गरे पनि  त्यो व्यर्थ हुन जान्छन् । अनि त्यहाँ  विधि– विधान, पद्धतिको कुरा गर्नेहरूको सम्मान हुँदैन ।  ‘मनको लडडु घिउसँग खाने कुराले आर्थिक विकास र समृद्धिका कुरा जति गरे पनि फगत गफ मात्रै हुन जान्छ ।

त्यसैले भनिन्छ नक्कली जोगीहरूले बढी नै खरानी दल्ने काम गर्छन् भने जस्तै नक्कली पार्टी, नेतृत्व वा व्यक्तिहरू आफू लोकप्रिय बन्न वा नेतृत्वमा रही रहन मीठा–मीठा, गलिया–गलिया, चिप्ला–चिप्ला, आडम्बरी कुरा र सुखान्त विषयमा अति आशावादी रूपमा विचार व्यक्त गर्दछन्, अनि व्यवहारमा  हात लाग्यो सुन्ना । त्यस्ताबाट होसियार हुनै पर्छ ।  त्यसबेला मात्र उनीहरूलाई विश्वास गरौँ,   जुन बेला गराइ र भनाइ अर्थात नीति र विधिमा तारतम्यता देखाउने सामर्थ राख्दछन,  गन्तव्य र गोरेटामा एक रूपता ल्याउँछन्, सामूहिक वा तहगत छलफलद्वारा निणर्य लिने विधि बनाउँछन्, फिल्डबाट मूल्याङ्कन विधि निमार्ण गछन् । आफ्नो आसेपासेबाट टाढा हुने कसम खान्छन्, आफूजस्तै अरुको दिल, मन, भावना र समस्याहरू घोत्लिने काम गर्छन् ।

संसारमा आफूबाहेक अरू पनि छन्, उनीहरूको पनि उचित सम्मान र इज्जत छ भनेर बुझने कोसिस गर्दछन् त्यस बेला मात्र उनीहरूबाट ठूलाठूला प्रगतिको आशा गर्न सकिन्छ तर भरोसा गर्न सकिँदैन । ठूला–ठूला गफगाफले पेट भरिन्न, स्वच्छ वातावरण विना स्वच्छ स्वास लिन सकिँदैन । दिशाविहीन र सीमाविहीन भएर गरिने आदर्शका गफ र प्रचारमुखी विचारले मानिसलाई भुलाउने वा आदर्शवादी बनाउने बाहेक अरू केही हुँदैन । 

एउटा पढेलेखेको अध्ययनशील र विद्वानले विचार सिद्धान्तका गफ गरे पनि  उसलाई  गाँस, बास र कपास चाहिन्छ । त्यसैले आदर्श र कल्पना महल नबाआँै । विचार, सिद्धान्त र दर्शन निमार्णले मात्रै समाजमा परिवर्तन हुने भए, नेपाली नेताहरू जम्मनुभन्दा अगाडि जर्मनमा कार्लमाक्सले समाजमा आर्थिक, राजनीतिक र सामाजिक असमानता, विभेद, शोषण, दमन छ । त्यसको अन्त्य एतिहासिक भौतिकवादी द्वन्द्वात्मक वैज्ञानिक नियमले समाजमा परिवर्तन वा रूपान्तरण गर्न सकिन्छ । समाजमा बलियोले निर्धोलाई दबाई राख्छ । त्यसको उपचार नै वर्ग सङ्घर्ष चेतनाबाट उठेको  आर्थिक र राजनीतिक अधिकार  प्राप्तिको सङ्घर्षले मात्रै  समस्याको समाधान हुन्छ भन्ने निष्कर्ष थियो । तर जर्मनमै साम्यवाद त के समाजवाद नै आउन सकेन । यसको मुुख्य कारण नै माक्र्सवादका अनुयायीहरूले त्यहाँ जनताको समस्यालाई वस्तुगत र आत्मगत रूपमा समयमै बुझ्न नसक्नु हो पुँजीपतिहरूको चाल नै माक्र्सवादीहरूले बुझ्न नसक्नु नै अर्को कारण थियो । 

विधि र नीतिबीच तालमेल वा एकरूपता नभई नेपालमा न त आर्थिक विकास हुने छ न त समृद्धि । थोरै होस्, राम्रो होस् । जसरी थोपा थापा गरेर नदी वा समुद्र बन्छ भनेजस्तै कुनै पनि पार्टीका कार्य योजना, नीति, कार्यदिशा र गन्तव्यसहित गोरेटो स्पष्ट गरेर प्रतिफलमुखी  रूपमा अगाडि बढाउनुपर्छ । ठूला–ठूला सपना बाढ्नुभन्दा सानासाना व्यवहारमुखी कामले समाजलाई समृद्धि बनाउनेतर्फ ध्यान दिऊँ । जसरी जनयुद्धमा जनशक्ता, श्रम गरी खानेहरूको सत्ता ल्याउने  र सम्पूर्ण दुःख पीडाहरू मुक्त गर्ने ठूला–ठूला सपना बाढियो तर व्यवहारमा बीचैमा सम्झौता गरियो । त्यो क्रान्तिप्रतिको धोका थियो ।

त्यसबेला जनयुद्धका सपना  वा उद्देश्य ठीक वा ठूला र राम्रा हुँदाहँुदै पनि बीचैमा हत्या गरियो । कुनै पनि विषय सुरुवात गर्दा वा अगाडि बढाउँदा सोच विचार गरेर देश र जनता वा तत्काकालीन आत्मगत र वस्तु स्थितिले धान्ने सकिने खालेका नारा र कार्यदिशा तय गरिनुपर्छ । केवल सस्तो लोकप्रियता वा पपुलारिस्टका लागि  गरिने गफ अर्थात विचारको कुनै अर्थ छैन ।  हामी जे बोल्छौँ, त्यही गछौँ भन्ने कुरा त्यो थेगो भएको छ । त्यसैले कथनी र करनीमा एकरूपता र तत्कालीन परिस्थितिमा लागू वा कार्यान्वयन गर्न सकिने र आम जनताले बुझ्नु प्रकारको विचार र त्यही अनुरूपको व्यवहारलाई अगाडि सार्नु नै आजको आवश्यकता हो ।  सबै कुरा सबै विचार आजै र भोलि नै सक्ने गरी प्रचारप्रसार गरिनु हुँदैन । त्यसैले भनिन्छ हजार पटक नाप, एक पटक काट ।
    
   लेखक : नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय नेता तथा पत्रकार हुनुहुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप