आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

आइतबार, २८ साउन २०८०, १६ : ११
आइतबार, २८ साउन २०८०

बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ । 

तर, विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको फोटो हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तो भन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ । 

चीनको साङ्घाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो भान हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठुलठुला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ । 

deji-plaza-bathroom-750x500यस्तै यहाँ लाउन्ज एरिया पनि छ जहाँ असाध्यै राम्रा सोफा राखिएका छन् । शौचालय जानु नपर्ने तर साथी आएका मानिसले यो सोफामा बसेर साथीलाई पर्खन सक्छन् । यस्तै यहाँका वासबेसिन पनि फाउन्टेनबाट प्रेरित छ ।

‘यो सपिङ मलको वासरुम सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक स्थान हो । यसले व्यस्त जीवनशैलीमा मानिसलाई थोरै भए पनि विश्राम दिन्छ,’ डिजाइनर ली जियाङले भने । ‘डिजाइन गर्दा मैले यसलाई शौचालयको रूपमा मात्रै डिजाइन गरिनँ । मैले यहाँका प्रत्येक कुनालाई कसरी आकर्षक र आनन्ददायी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको छु त्यसैले यसलाई बगैँचाजस्तो बनाएका छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप