मैदानमा पटक- पटक किन थुक्छन् फुटबल र क्रिकेट खेलाडी ?
काठमाडौँ । विश्वका लोकप्रिय खेल हुन्, फुटबल र क्रिकेट । विश्वभरका करोडौं खेलकुदप्रेमी दैनिकजसो फुटबल र क्रिकेटका कुनै न कुनै खेल हेरेर रमाउने गरेका छन् । फुटबल र क्रिकेट पारखीहरु आफ्ना प्रिय खेलाडीको बखान पनि गर्छन् ।
कुनै निश्चित खेलमा आफ्नो मन पर्ने टोलीको हार वा जितको कुरा गर्छन् । खेलाडीको खेल शैलीको पनि विश्लेषण गर्छन् । यसको अर्थ, फुटबल र क्रिकेटका समर्थकहरुले आफ्नो मन पर्ने टोलीको खेल र प्रिय खेलाडीका स- साना कुरालाई ध्यानपूर्वक नियालिरहेका हुन्छन् ।
त्यसैले फुटबल वा क्रिकेटको हेर्दा खेलाडीहरुले पटक- पटक मैदानमा थुकेको पनि धेरैले विचार गरेकै हुनुपर्छ । आखिर किन मैदानमा थुकिरहन्छन् त फुटबल र क्रिकेटका खेलाडीहरु ? जबकी बास्केटबल, टेनिसलगायतका खेलमा खेलाडीले हत्तपत्त कोर्टमा थुकेको देखिँदैन ।
यस विषयमा गरिएको अध्ययन र विज्ञहरुका अनुसार, फुटबल र क्रिकेटका खेलाडीले मैदानमा थुक्नुको पछाडि वैज्ञानिक कारण रहेको छ । विज्ञहरु भन्छन्, फुटबल र क्रिकेटमात्र होइन लगातार बढी शारीरिक श्रम गर्नुपर्ने जुनसुकै खेलका खेलाडीले मैदानमा थुक्ने गर्छन् ।
लामो समय लगातार मैदानमा दौडनु पर्ने भएकाले खासगरी फुटबलमा यो समस्या अझ बढी देखिन्छ । खेलकुद मैदानमा लगातार बढी शारीरिक श्रम खर्च गर्दा खेलाडीको र्याल बाक्लो हुने गर्छ । खेलाडीलाई बाक्लो र्याल निल्न अप्ठ्यारो हुन्छ । त्यसैले फुटबल र क्रिकेटजस्ता बढी शारीरिक श्रम गर्नुपर्ने खेलका खेलाडीले मैदानमा पटक—पटक थुक्ने गर्छन् ।
‘खेल मैदान लगातार बढी शारीरिक श्रम गर्दा खेलाडीहरुको मुखको र्याल बाक्लो हुन जान्छ । लामो समय शारीरिक श्रम गर्दा मुखमा एमयूसी ५ बी नामको एक प्रकारको श्लेष्म उत्पादन हुन्छ । त्यसले र्याललाई बाक्लो बनाउने काम गर्छ । त्यसपछि र्याल निल्न गाहृो हुन्छ र खेलाडीले पटक—पटक मैदानमा थुक्ने गर्छन्,’ फरिदाबादस्थित एसियन अस्पतालका बरिष्ठ सल्लाहकार चिकित्सक डा.उदित कपुर भन्छन् ।
डा. कपुरका अनुसार, खासगरी यो समस्या फुटबल, क्रिकेट, रग्बीजस्ता शारीरिक श्रम बढी गर्नुपर्ने खेलका खेलाडीहरुमा देखिन्छ । लामो समयदेखि खेलकुद विज्ञानको क्षेत्रमा सक्रिय डा. नन्दलाल पाठक पनि लगातार बढी शारीरिक श्रम गर्नुपर्ने खेलका खेलाडीहरुमा यो समस्या देखिन बताउँछन् ।
‘खेलाडीमात्र होइन, निरन्तर शारीरिक श्रम गर्ने हरेक ब्यक्तिमा यो समस्या देखिन्छ । यदि लामो समयसम्म शारीरिक अभ्यास गर्नुभयो भने तपाइँको र्याल पनि बाक्लो हुन्छ,’ डा। पाठक भन्छन्, ‘र्यालमा प्रोटिन, एमाइलेज, लाइसोजाइम, ल्याक्टोफेरिन, क्रोमोग्रानिन ए वा एमयूसी५बी उत्पादन हुन्छ, जसको सम्बन्ध स्नायु प्रणाली र प्रतिरक्षा प्रणालीसँग हुन्छ ।’