शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अस्थिरतासँगै बरालिएको जनमत

आइतबार, २८ साउन २०८०, १५ : ०९
आइतबार, २८ साउन २०८०

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीति अकल्पनीय रूपमा गिजोलिएको छ । यो आत्मकेन्द्रित स्वार्थै स्वार्थको चक्रव्यूहमा घुमिरहेको छ । परिणामतः यसले राजनीतिक मूल्य–मान्यता र यसप्रतिको इमान–जमान, प्रतिष्ठा र विश्वास गुमाउँदै गएको देखिन्छ । आस्था र भरोसा ढल्दै गएका छन् । राजनीतिक कमान्ड, नेतृत्व र पथ प्रदर्शन सबै भद्रगोल बन्दै गइरहेको छ । अर्थात् राजनीति भनेको सिङ्गो समाजको नेतृत्व गर्ने मूल आयाम हो, जुन विकृत र विसङ्गत बन्दै गइरहेको छ । यो हामी नेपालीका लागि दुःखद विडम्बनाको कुरा हो । 

वस्तुतः यसले सहीलाई सही र गलतलाई गलत भन्ने वस्तुवादी संस्कृति मेटाउँदै गएको छ । स्वार्थकै आधारमा मात्र सही र गलत विन्यास हुन थालेको छ । सकारात्मक सोच हराउँदै गएको छ भने नकारात्मकताद्वारा समाज निर्देशित भइरहेको छ । आलोचनात्मक दृष्टिकोण लगभग शून्यको स्थितिमा रहेको छ । एकले अर्कोलाई निरपेक्ष निषेध र निरपेक्ष समर्थन गर्ने क्रम बढिरहेको छ । स्वार्थ मिलेमा गलत पनि सही र स्वार्थ बाझेमा सही पनि गलत भन्ने प्रवृत्ति मौलाइरहेको छ । यसले आफू मात्र सही अरू सबै गलत भन्ने भाष्य निर्माण भइरहेको छ । अन्ततः यस्तो रबैयाले सही र गलत उस्तै हुने खतरा बढिरहेको छ । उत्थान पतन, समर्थन विरोध र लोकप्रिय अलोकप्रियको पारो क्षण–क्षणमा घटबढ भइरहेको छ । आखिर यस्तो किन भइरहेको छ ? यस सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

सिद्धान्तहीन अस्थिर राजनीति

सार्वभौमतः खास मानव समाजलाई दिशानिर्देश गर्दै नेतृत्वदायी भूमिका निभाउने विज्ञान नै राजनीति हो । राजनीति भनेको निश्चित विचार, सिद्धान्त र दृष्टिकोणद्वारा निर्देशित हुन्छ । यसको निश्चित लक्ष्य वा गन्तव्य हुन्छ, जुन प्राप्तिका लागि निश्चित राजनीतिक प्रक्रिया अपनाउने गरिन्छ । यो संगठित र योजनाबद्ध मात्र हुँदैन । यसको आ–आफ्नै सिद्धान्त, दृष्टिकोण, विचार र कार्यदिशा, हुने गर्दछ । मानव समाज कस्तो बनाउने भनेर सपाट मार्गचित्र कोरिएको हुन्छ । त्यसलाई प्राप्तिका लागि आन्दोलनको स्पष्ट कार्यक्रम र कार्ययोजना तय गरिन्छ । संघर्ष, आन्दोलन र चुनाव आन्दोलनको प्रकृतिजस्तो भए पनि स्पष्ट खाका बोकेर संगठित रूपमा जनतामा जाने भन्ने हुन्छ । 

हाम्रो राजनीतिलाई सिद्धान्त र दृष्टिकोणले नेतृत्व गरिरहेको छैन । सिद्धान्त र विचारलाई बेकार भन्न थालिएको छ । यो दुःखद कुरा हो । यहाँ कसको विचार सही र कसको गलत भनेर विश्लेषण गरिँदैन । कुन पार्टीको राजनीतिक दृष्टिकोण, कार्यदिशा र कार्यक्रम के हो भनेर जिज्ञासा राख्नुको औचित्य समाप्त हुँदै गएको छ । पार्टीको विधान र राजनीतिक दस्ताबेजहरू अध्ययन गरेर धारणा बनाउने गरिँदैन । सार हेरेर प्रतिक्रिया दिनुभन्दा पनि रूपवादी सौन्दर्यमा छचल्किएर अभिमतहरू निर्माण गर्ने क्रम बढिरहेको छ । परिणामतः अहिलेको उपभोगवादी युगमा राजनीतिक दस्ताबेज होइन, टिकटक, युट्युब र फेसबुक लाइभहरूमा बहकिएका भावना हेरेर समर्थन र विरोधको लक्ष्मणरेखा कोर्न थालिएको छ । पाँच सेकेन्डको टिकटक नै सबैथोक भएको छ । चोटिलो, घोचिलो र स्वादिलो भनाइ वरिपरि भावना केन्द्रीकरण हुन थालेको छ । तब सिद्धान्त र दृष्टिकोणविनाको राजनीति अस्थिर, अस्थायी र इमोसनल हुने गर्छ । आज हामी यसैको नियति भोगिरहेका छौँ ।

बरालिएको जनमत

वस्तुतः सबै जनमत सही नै हुन्छ भन्ने हुँदैन, तर गतिशील समाजले जहिले पनि सकारात्मक वा अग्रगामी जनमतको अपेक्षा राख्छ । यसरी जनमतको सही र गलतपनाको निर्धारक भनेको सिद्धान्त र दृष्टिकोण नै हो । आम मनोविज्ञान र भाष्य निर्माण हुने भनेको विचारले नै हो । विचारद्वारा निर्देशित अवधारणाहरू उत्पादनमूलक, टिकाउ र भरपर्दो हुने गर्छ । अर्थात् सिद्धान्तद्वारा प्रशिक्षित मनोविज्ञानहरू ठुलै हावाहुरीमा पनि डगमगाउँदैन । भाष्यहरू त्यत्तिकै मेटाउँदैन । त्याग, तपस्या र बलिदान त्यतिकै मर्दैन । 

विचारद्वारा निर्देशित जनमत सतिसालझैँ उभिइरहन्छ सितिमिति ढल्दैन । निश्चित लक्ष्य प्राप्ति नभएसम्म दशकौँ मात्र होइन, सयौँ वर्षसम्म लक्ष्यमा अविचल लागिरहन्छ । जुन समाजमा सिद्धान्त र विचारले नेतृत्व गरिरहेको छ, त्यहाँ जनमत पनि परिपक्व हुन्छ, तर राजनीतिक दृष्टिकोणको लगामविनाको जनमतले छिनछिनमा दिशा र रूपरङ्ग बदलिरहन्छ । यही संवेदनशीलताकै कारण भड्किने र बरालिने काम भइरहन्छ । भड्किएको जनमतको अन्तर्यमा दीर्घकालिक चरित्रको कल्पना गर्न सकिन्न । संकटको सामना गर्ने क्षमता पनि हुँदैन । 

जुन समाजमा सिद्धान्त र विचारले नेतृत्व गरिरहेको छ, त्यहाँ जनमत पनि परिपक्व हुन्छ, तर राजनीतिक दृष्टिकोणको लगामविनाको जनमतले छिनछिनमा दिशा र रूपरङ्ग बदलिरहन्छ । यही संवेदनशीलताकै कारण भड्किने र बरालिने काम भइरहन्छ ।

त्यसैले आज नेपाली राजनीतिमा सिद्धान्त र दृष्टिकोण असाध्यै रक्षात्मक रहेको छ । तब जनमतहरू वैचारिक राजनीतिक लगामद्वारा निर्देशित छैन । यहाँ सिद्धान्त अध्ययन गरेर, दस्ताबेज पढेर, इतिहास हेरेर, कार्यक्रम बुझेर अनि उद्देश्य मिलेर जनमत बन्दैन । यहाँ त स्वार्थगत रणनीतिमा सामाजिक सञ्जालमार्फत भाइरल बनाइएका ‘भिडियो क्लिप्स’को नसा र स्वादमा धारणा बन्ने गर्छ । 

सेकेन्डको दृश्यले रातारात जनमत बन्ने गर्छ भने सेकेन्डकै दृश्यले जनमत बिग्रने गर्छ । सुत्दाको जनमत बिहान उठ्दा अर्कैको काखमा गइसकेको हुन्छ । यस्तो बहकिएको र बरालिएको जनमतले कसैलाई पनि धेरै टाढा वा लक्ष्यसम्म साथ दिन सक्दैन । अर्थात् नियमतः जति सहज ढंगले जनमत वा समर्थन प्राप्त भएको छ, खस्कने खतरा पनि त्यति नै रहन्छ । अर्थात् बरालिएको जनमतले संकटमा साथ दिन सक्दैन । यो जनमतसम्बन्धी द्वन्द्वात्मकता हो । 

महाअस्थिरतातिरको यात्रा

मूलतः पछिल्लो नेपाली जनमतमा राजनीतिक चरित्र शून्य प्रायः देखिन्छ । आजकलको जनमतमा राजनीति, विचार, एजेन्डा, कार्यदिशा, कार्ययोजना र कार्यक्रमजस्ता आयाम निर्णायक हुँदैन । यो केवल सामाजिक सञ्जालजन्य रणनीतिक स्वार्थमा भाइरल बनाइएको स्वादिलो भिडियोमा आधारित छ । यस्तो जनमतले राजनीति, विचार, एजेन्डा र कार्यदिशा केही पनि चिन्दैन अनि बुझ्दैन । बुझ्ने इच्छाशक्ति पनि राख्दैन । यो मिडिया स्टन्टबाजी, प्रचार र हल्ला–खल्लाको पछि मात्र दौडिएको हुन्छ । यसले अवसरवादी स्वार्थका लागि पूर्वी र पश्चिमी वायुजस्तो दिशा परिवर्तन गरिरहन्छ । 

यसरी विचार, राजनीति, एजेन्डा, कार्यदिशा र कार्यक्रमविनाको जनमत भनेको खहरेको बाढी जस्तो मात्र हो । यो डाँडापाखा गडगडाएर आउँछ जान्छ, तर नदी शान्त भएर सुसाउँदै बगिरहन्छ अनि त ढिलो चाँडो गन्तव्यमा पुगेरै छाड्छ । राजनीतिक विचारबाट प्रशिक्षित आम कार्यकर्ता भनेको खहरेजस्तो बरालिएको हुँदैन । राजनीतिक गन्तव्यमा आउने अप्ठेरो र असहजता बुझेका हुन्छन् । 

आजको जनमत भनेको उपभोगवादद्वारा निर्देशित छ । यस्तो जनमत कतिखेर कता बहकिने र बरालिने हो केही भन्न सकिन्न अनि अनुमान गर्न सकिन्न । जता मन लाग्छ, त्यतै बहकिने र बरालिने उनीहरूको नागरिक अधिकारको कुरा हो । यस्तो जनमतले हामी र हाम्रो मुलुकलाई भने महाअस्थिरता, महाभद्रगोल र महाअनिर्णयको चक्रव्यूहमा फसाउने छ । 

निष्कर्ष

त्यसैले निश्चित राजनीतिक विचार र दृष्टिकोणबाट बनेको जनमत खस्किनु गम्भीर कुरा हो । किनभने यस्तो जनमत रातारात बनेको हुँदैन, लगानी धेरै गरिएको हुन्छ । भावना र स्वार्थमा बरालिएको जनमत क्षण क्षणमा संघटन र विघटन हुने गर्दछ, जुन बढ्नु र घट्नुले खासै औचित्य राख्दैन । यस्तो जनमतलाई बढाउन धेरै लगानी र हैरानी परेसानी गर्नुपर्दैन, साथै घटाउन पनि कुनै आइतबार पर्खनुपर्दैन । यो सजिलै आउँछ र सजिलै जान्छ पनि । यसरी टिकटक भिडियोको भावनामा बग्ने जनमतको दीर्घकालीन भर पर्नु गलत हुन्छ । 

कसैले यस्तो बहकिएको र बरालिएको जनमतको क्षणिक साथबाट सारा संसार जित्ने महत्त्वाकाङ्क्षा बोकेको छ भने त्यो उसको वस्तुवादी नभएर केवल बनिबनाउ चाहना र मनगढन्ते सपना मात्र हुन्छ, साथै दम्भ–घमण्ड गर्ने बहाना मात्र बन्नेछ । 

तसर्थ सामाजिक सञ्जालको चोटिलो, घोचिलो र स्वादिलो भावनामा बहकिएको र बरालिएको जनमतले नेपाली समाजको अग्रगामी निकास पहिल्याउन सक्दैन । यस्तो खहरे जनमतले कुनै अमूक पार्टी, समुदाय र नेतालाई क्षणिक लाभको पदसँगै प्रतिष्ठा, पावर र पैसा आर्जन होला । मान–मर्यादा र इज्जत–सम्मान पनि देला । मिडिया स्टन्टबाजी, हल्ला–खल्ला र हाउभाउ पनि मनग्गे होला । सस्तो लोकप्रियताको शिखर पनि चढाउला । हिरो बनाएर जयजयकार पनि गर्ला, तर नेपाली राजनीतिमा व्याप्त तमाम खाले समस्याको वस्तुवादी समाधान भने हुँदैन । 

आज राम बहादुरलाई खोज्ने जनमतले भोलि बमबहादुरलाई खोज्ने छ अनि पर्सि राम र बम कसलाई रोज्ने आफैँ दोधारमा पर्नेछ । यस्तो गलत रबैयाले पुस्तौँसम्म पिरोल्ने छ । तब बहकिएको र बरालिएको जनमतको आडमा धेरै हौसिने मात्तिने र पात्तिने नगरौँ । बरु वैचारिक राजनीतिक जनमतलाई बटुलबाटुल पारौँ । यसैमा स्थिर र परिपक्व राजनीति अडाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप