आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
समाचार

त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालन, विदेशबाट आउने यात्रीले पाउनेछन् यस्तो सुविधा

आइतबार, २८ साउन २०८०, १४ : ०३
आइतबार, २८ साउन २०८०

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुनका गरगहना, विदेशी मुद्रा, टीभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने त्रिवि भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउँछन् । त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको त्रिवि भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरु मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामासमेत पुग्ने गरेको उनले जनाए ।

कार्यालय प्रमुख डा. पाण्डेका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

एक जनाले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको उनले बताए ।

गहनाको आकारमात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको पनि उनले प्रस्ट पारे ।

यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डे बताए । यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने उनको भनाइ छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको पनि पाण्डेले बताए । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको उनले जानकारी दिए । यसैगरी ५ हजार अमेरिकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क वुझाउनु नपर्ने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप