अब क्रिकेटमा पनि रेड कार्ड !
काठमाडौँ । सामान्यतः विश्व खेलकुदमा ‘रेड कार्ड’ भन्दा फुटबलको सम्झना आउँछ । मैदानमा खेलिरहेका खेलाडीले गम्भीर गल्ती गरेमा रेफ्रीले खेलाडीलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्छन्, फुटबलमा । तर, विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा भने रातो कार्डको चर्चा हुँदैन । तर, यसै महिना सुरु हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ मा भने पहिलो पटक रातो कार्डको प्रयोग गरिने भएको छ ।
‘क्यारेबियन प्रिमियर लिग’ को पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिने समाचारमा जनाइएको छ । खेलका क्रममा गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइने भएको छ ।
क्रिकेटमा यो नियमलाई प्रयोगका रूपमा सुरु गर्न लागिएको बताइएको छ । क्यारेबियन प्रिमियर लिगमा खासगरी ‘स्लो ओभर रेट’ का कारणले यो नियम लागू गर्न लागिएको हो । अहिलेसम्म विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्छ ।
यसैगरी तीनपटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम अहिले छ । यति हुँदा पनि अहिले विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन । ‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टीट्वान्टी क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको क्यारेबियन प्रिमियर लिगका सञ्चालन निर्देशक माइकल हल बताउँछन् ।
आगामी सिजनको क्यारेबियन प्रिमियर लिगमा १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एकजना खेलाडीलाई फिल्डिङ सर्कलको भित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् । यसैगरी १९ औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुईजना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।
तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एकजना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ । अर्थात, ब्याटिङ गरिरहेको टोलीको कप्तानले छानेको एकजना खेलाडी (फिल्डिङ गरिरहेको टोलीको) लाई मैदानबाट बाहिरि पठाइने छ । त्यसपछि फिल्डिङ गरिरहेको टोली १० खेलाडीमा समेटिने छ । यसका अतिरिक्त उक्त टोलीका ६ जना फिल्डिर पनि ३० यार्डको घेराभित्र रहने छन् ।
फिल्डिङ गर्ने टोलीका कारण मात्र सधैं टीट्वान्टी प्रतियोगिताको सहय लम्बिने होइन । कतिपय अवस्थामा ब्याटिङ गर्ने टोलीको बदमासीका कारण पनि प्रतियोगिताको समयावधि लम्बिन पुग्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीका खेलाडीले पनि सजाय पाउने छन् ।
त्यसैले ब्याटिङ गर्ने टोलीको बदमासी देखिएमा अम्पायरले सबैभन्दा पहिले उक्त टोलीका कप्तानलाई चेतावनी दिनेछन् । त्यसपछि पनि ब्याटिङ गर्ने टोलीको बदमासी कायमै रहे अम्पायरले जरिवाना स्वरूप पाँच रन घटाउने छन् । क्यारेबियन प्रिमियर लिग टीट्वान्टी प्रतियोगिताको आगामी सिजन अगस्ट १७ तारिखबाट सुरु हुँदैछ । टीट्वान्टी प्रतियोगितामा प्रत्येक पाली ८५ मिनेटको हुनेछ । १७औँ ओभरको खेल ७२ मिनेट १५ सेकेन्डमा सकिनु पर्छ ।
यसैगरी १८औँ ओभरको खेल ७६ मिनेट ३० सेकेन्डभित्र सकिनु पर्छ । १९औँ ओभरको खेल ८० मिनेट ४५ सेकेन्डभित्र सकिनु पर्छ । २०औँ तथा अन्तिम ओभरको खेल भने ८५ मिनेटभित्र सकिनु पर्ने नियम रहेको छ । आगामी सिजनको क्यारेबियन प्रिमियर लिग अगस्ट ३१ तारिखमा सकिने छ । क्यारेबियन प्रिमियर लिगको महिला प्रतियोगिता भने अगस्ट ३१ तारिखमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म